२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनका कारण भोक-भोकै रहेकालाई काठमाडौका यी स्थानमा निःशुल्क खाना खुवाउने



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड­–१९) संक्रमणको रोकथामका लागि सरकारले देशभर लकडाउन लागू गरेको एक महिना पुगिसकेको छ । लकडाउनका कारण कतिपयको घरमा चुल्हो निभेको छ । सरकारले समस्यामा परेकालाई राहत वितरण पनि गर्याे । तर त्यो राहत अप्रयाप्त भयो भने कतिपयले पाउनै सकेनन् । यसैलाई ध्यान दिदै काठमाडौं महानगरपालिका वडा नं. १५ ले राहत स्वरुप सबैलाई खाना खुवाउने व्यवस्था गरेको छ ।

लकडाउनका कारण दैनिक श्रम गरेर पेट भर्ने मानिसहरुलाई समस्या भएपछि सरकारले राहत बापत खाद्य सामग्री वितरण गरेको थियो । तर उक्त राहत सामग्री लक्षित वर्गमा पुग्न नसकेको र आवश्यकता भएकाले पाउन नसकेको भन्दै आलोचना पनि भयो । लक्षित वर्गले राहत पाउन नसकेको गुनासो बढीरहेका बेला काठमाडौं महानगरपालिका वडा नं. १५ ले भने समस्यामा परेकाहरुलाई राहत स्वरुप काठमाडौंको स्वयम्भुमा दैनिक खाना खुवाउने व्यवस्था गरेको छ । विभिन्न दाताहरुबाट सहयोग उठाएर दिनको एकपटक खाना खुवाउने व्यवस्था वडा कार्यालयले गरेको हो । स्वयम्भू स्थित भुइखेल टोल सुधार समितिको संयोजनमा वडा कार्यालयले दैनिक ५ सय भन्दा बढी मानिसहरुलाई खाना खुवाइरहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १५ का अध्यक्ष इश्वरमान डङ्गोलले महानगरले एकचरण राहत वितरण गरेको र राहत पाउन नसकेको गुनासो आएको अवस्था र नागरिकको घरमा ग्यास तथा खाद्य सामग्री सकिदै गएपछि खाना खुवाउने उपाय निकालिएको बताउनुभयो । उहाँले दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म पेटभरी खाना खुवाउने व्यवस्था गरिएको बताउनुभयो । यसबाट राहतका लागि भन्नै नसक्ने र राहत पाउन नसकेकाहरुलाई राहत मिलेको बताउनुभयो । अहिले स्वयम्भु, कलंकी, कालिमाटी, डल्लु, क्षेत्रपाटी लागयतका क्षेत्रमा मानिसहरु खाना खान आउने गरेको उहाँले बताउनुभयो ।

खाना खुवाउने क्रममा कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण अपनाउनुपर्ने विषयमा पनि ध्यान दिइएको उहाँले बताउनुभयो । खाना खानको लागि सबैभन्दा पहिला आफ्नो सरिरलाई डिसइन्फेक्सन गर्नुपर्छ । त्यसका लागि खाना खुवाउने स्थलमा डिसइन्फेक्सन गर्ने मेसिन (सरिर निसङ्क्रमण टनेल) पनि राखिएको छ । खाना लिन जानभन्दा पहिला सबैले टनेल भित्र पसेर आफ्नो सरिरलाई निसङ्क्रमण गर्नुपर्छ । त्यस पछि खाना खानको लागि आफ्नो विवरण टिपाउनुपर्छ । यस्तै खाना खान लाइन बस्ने क्रममा पालना गर्नुपर्ने न्यूनतम दुरी पनि कायम गरिएको छ । पालैपालो खाना लिन जाने र चउरमा छुट्टाछुट्टै बसेर खाना खाने व्यवस्था मिलाइएको छ । खाना थप्नुपर्नेले पनि दुरी कायम गरेरै थप्न जानुपर्छ । खाना खाइसकेपछि पलास्टिकको झोलाभित्र प्लेटलाई राख्ने र सामाजिक दुरी कायम गर्दै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

खानामा दाल, भात, तरकारी खुवाइन्छ । खाना व्यवस्थापन समितिका संयोजक किरण राजशाहीले सुरक्षा व्यवस्थालाई उच्च ध्यान दिइएर खाना खुवाउने गरिएको बताउनुभयो । खाना खुवाउन थालेपछि सुरुको दिनमै १ सय ५० जनाले खाना खाएकोमा अहिले दैनिक ५ सय देखि ६ सय जना सम्म खाना खान आउने उहाँले बताउनुभयो ।