काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठन जेन–जी पुस्ताको भावनाअनुसार र संविधानको मर्यादामा गर्न आग्रह गरेका छन् ।
हालको राजनीतिक घटनाक्रमबीच नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार गठनको पहल भइरहेको अवस्थामा उनले यस्तो आग्रह गरेका हुन् ।
बिहीबार फेसबुकमार्फत १५ मिनेटको भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो परिवर्तनको संवाहक जेन–जी पुस्ताको अपेक्षा प्रतिबिम्बित गर्ने सरकार आवश्यक रहेको उल्लेख गरे ।
महामन्त्री थापाले जेन–जी पुस्तालाई नयाँ सरकार गठन भने संविधानमा टेकेर गर्नसमेत आग्रह गरेका छन् ।
संविधानले दिएको अधिकार कटौती गरेर अघि बढ्दा भोलि सम्हाल्न गाह्रो हुने चेतावनी दिँदै उनले सन्तुलन र संवैधानिक व्यवस्था सम्मान गर्न नेतृत्वलाई सुझाव पनि दिएका छन् ।










