१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा, असफलता ढाकछोपमै बित्यो कार्यकाल



अ+ अ-

काठमाडौं: गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

जेन जी नाममा संगठित भएका युवाले गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अन्धाधुन्ध गोली प्रहारबाट २० जनाभन्दा बढी युवाको ज्यान जानुका साथै सयौं प्रदर्शनकारी घाइते भएपछि नैतिक प्रश्नको घेरामा परेका गृहमन्त्री लेखकले अन्तत: राजीनामा गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएको बताइएको छ ।

आजका घटनापछि सामाजिक सञ्जालमा गृहमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग उठिरहेको थियो । नेपाली काँग्रेसको पदाधिकारी बैठकमा पनि महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिन उपयुक्त हुने सुझाएका थिए ।

काँग्रेस पदाधिकारी बैठक लगत्तै मन्त्रिपरिषद बैठकका लागि गएका लेखकले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि २०८१ चैतमा दुर्गा प्रसाईं नेतृत्वको राजतन्त्र पुनर्वहाली आन्दोलनका क्रममा तीनकुनेमा पनि प्रहरीको अत्यधिक बल प्रयोगका सन्दर्भमा गृहमन्त्री लेखकको राजीनामा मागिएको थियो । तर त्यसबखत जसोतसो आफ्नो पद जोगाउन सफल गृहमन्त्री रमेश लेखकले देशको प्रहरी प्रशासनमा खासै पकड राख्न नसकेको गुनासो आइरहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि गृहमन्त्री रमेश लेखकका कारण त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सेटिङ गरी मानब बेचबिखनको कार्य खुलेआम भएको र त्यसमा गृहमन्त्रीकै संलग्नता रहेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेर संसदमा विरोध गरिरहेको छ ।