२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको माइतीघरमा भेला भए जेनजी, भ्रष्टाचारविरुद्ध प्रदर्शन



अ+ अ-

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा अर्थात् जेन जीहरुले प्रदर्शन सुरु गरेका छन् ।

काठमाडौंको माइतीघरमा स्वत:स्फूर्तरुपमा भेला भएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

कतिपय युवा कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् ।

सत्तामा रहेर मनपरी गर्नेहरुविरुद्ध जेनजी पुस्ता सडक आन्दोलनमा उत्रिएको हो ।

‘दी फाइनल रिभोलुसन– वी आर पञ्चिङ अप’ भन्दै जेनजी पुस्ताले काठमाडौंको माइतीघर मण्डल र संसद् भवन बानेश्वर अगाडि आन्दोलन छेड्ने घोषणा गरेको थियो ।

विगत केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।

यसको नेतृत्व कसले गर्छ भन्ने यकीन छैन । तर उद्देश्य सत्ताको मनोमानीविरुद्ध छ । लामो समयदेखि उकुशमुकुस प्रस्फुटन हुने देखिएको छ । । यसलाई नयाँ पुस्ताले जेनजी विद्रोह भनेको छ ।

फेसबुकलगायतका केही सामाजिक सञ्जाल बन्द भए पनि बाँकी रहेका टिकटक जस्ता सामाजिक सञ्लालमा अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ ।

सामाजिक सञ्जालमा जुन गतिमा यो ट्रेन्ड फैलिएको छ, यो कति लामो समय जान्छ भन्ने यकीन छैन । तर सामाजिक सञ्जालमा चाहिँ यो निकै लोकप्रिय बनेको छ । सामाजिक सञ्जाल बन्द भएको अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई सकारात्मक रुपमा हेर्नुपर्ने टिप्पणी अत्यधिक आइरहेका छन् । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् ।

यो आन्दोलन के हुन्छ भन्ने कुराले नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तरलाई मापन गर्नेछ । यदि युवाहरू साच्चै ठूलो संख्यामा सडकमा उत्रिए भने यसले केवल सरकारलाई मात्र होइन, पूरै राजनीतिक संस्कृतिलाई चुनौती दिनसक्छ ।

यी सबै परिदृश्य हेरिरहँदा नेपाल फेरि युवाले उठाएको नयाँ आन्दोलनको तयारीमा रहेको बुझाइ पनि कतिपयको छ । सामाजिक सञ्जालमार्फत सुरु भएको आवाजले आज काठमाडौंको माइतीघर, पोखराको सभागृह हलदेखि देशका विभिन्न स्थानमा प्रदर्शन गर्ने घोषणा गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय समूह ‘एमआरआर’लगायतमा पनि इनरुवा, धरानजस्ता सहरमा पनि जेनजीले आन्दोलन छेड्ने घोषणा गरिएका छन् । यसमा अधिकांशको समर्थन देखिन्छ ।

यो आन्दोलनको जरो सामाजिक सञ्जाल टिकटक भित्र देखिएको ट्रेन्डसँग जोडिएको छ । फिलिपिन्स र इन्डोनेसियाबाट सुरु भएको यो ट्रेन्ड नेपालमा समेत फैलिएको हो । यसमा नेताका छोराछोरीले प्रदर्शन गर्ने ऐसआरामको जीवनशैली– महँगा ब्रान्डका कपडा, विदेश यात्रा र विलासी सामानलाई साधारण नेपाली युवाको आर्थिक संघर्षसँग तुलना गरिएको छ ।

यी भिडियोहरूले राजनीतिक परिवार र सर्वसाधारणबीचको गहिरो खाडल देखाइदिएपछि युवाहरू अझै आक्रोशित भएका हुन् । यसलाई ‘नेपो बेबी’ ट्रेण्ड नाम दिइएको छ, जसमा विभिन्न धुन र भावनात्मक रुपमा उत्तेजित गराउने संगीत राख्दै नेताका छोराछोरीको विलाशितालाई देखाइएको छ । उनीहरुको विलाशितासँगै जनताका छोराछोरीको अवस्थालाई पनि देखाइन्छ ।