२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनमा पत्रकारलाई आर्थिक समस्या



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)संक्रमण रोकथामका लागि लकडाउन लागू भएसँगै मृगौला पीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक समस्यामा परेको छ ।

लकडाउनले काम गर्न नपाएपछि पत्रकार पाल्पालीको उपचार खर्च जुटाउन समस्या भएको उहाँकी श्रीमति रेणुका भट्टराईले बताउनुभयो । यस्तै घरमा खाद्यान्नको समेत समस्या भएको भट्टराईले बताउनुभयो । लकडाउन लम्बिदै गएपछि समस्या पनि थपिदै गएको उहाँले बताउनुभयो । आर्थिक समस्या परेपछि पत्रकार पाल्पालीले खाने औषधिको अभाव भएको छ भने बालबच्चालाई भोकै सुताउनुपर्ने अवस्था आएको भट्टराईले बताउनुभयो । साहित्यकार समेत रहनुभएका पाल्पाली दुवै मृगौला फेल भएपछि २०७० साल यता उपचार गराउँदै आउनुभएको छ । आफु पनि मधुमेहको बिरामी भएकोले अझै बढी समस्या आएको श्रीमति भट्टराईले बताउनुभयो ।

पाल्पाली नेपाल बोर्डर साप्ताहिकका प्रकाशन तथा सम्पादक हुनुहुन्छ । पाल्पालीलाई अहिले हप्तामा तीन दिन डाइलासिस गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार सीएपीडी विधिअनुसार घरमै डाइलासिस हुँदै आएको छ । तर लकडाउनले आम्दानी नभएको र सीएपीडी डाइलासिस गर्ने औषधि खरिद गर्न नसकेको दुखेसो भट्टराईले पोख्नुभयो । पाल्पालीको परिवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोलमा बस्दै आउनुभएको छ ।