काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णयमाथि आलोचना गरेका छन् ।
शुक्रबार आफ्नो आधिकारी फेसबुक पेजमार्फत प्रचण्डले सरकारले आलोचना दबाउन र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने काम निरन्तर गर्दै आएको आरोप लगाएका हुन् ।
उनले लेखेका छन्, ‘वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय सरकारले गरेको छ’।
उनले सरकारको कदम संविधान विरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानुनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत भएको बताए ।
यस्तै, प्रचण्डले आफ्नो पार्टी सामाजिक सञ्जालको नियन्त्रण नभई उचित नियमनको पक्षमा अडिग रहेको बताए ।










