२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमोरको गीत, अष्ट्रेलियाको दृश्य



अ+ अ-

काठमाडौं । झण्डै अढाइ दसकअघि संकलन गरिएको र १७ वर्षअघि सार्वजनिक भएको नेपथ्यको एउटा पुरानो गीतले पहिलोपटक दृश्य पाएको छ ।

‘पानी तिरतिरे
ल्याउ भन्थे बाबैले
मारयो पिरतीले’

ब्याण्डका अधिकांश गीतहरुजस्तै यसको पनि संकलन अमृत गुरुङले गरेका थिए ।

‘सन् १९९७ मा म तेह्रथुमको वसन्तपुरबाट ताप्लेजुङतर्फ जाँदै थिएँ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत त्यो क्षण सम्झदै सुनाउछन्, ‘त्यतिबेलै बाटोमा अचानक यो गीतको पहिलो हरफ भेटिएको थियो ।’

कसरी ? त्यसको पनि रोचक प्रसंग रहेछ ।

पैदल हिँड्दै जाँदा बाटोमा गुफापोखरी पथ्र्यो । त्यहाँको दृश्य बयान गरेर साध्य थिएन । गुफापोखरी छेवैमा देउराली थियो ।

‘त्यहि देउरालीमा बसेर म कुम्भकर्ण हिमालका दृश्यहरु क्यामरामा कैद गरिरहेको थिएँ,’ अमृत सम्झन्छन्, ‘त्यतिबेलै वनतिर हिँडेका दुइ तन्नेरीहरु हाम्रा नजिकै आइपुगे ।’ उनीहरु अमृतले बोकेको क्यामराका प्रति अत्यन्तै जिज्ञासु थिए । उनले त्यसका लेन्सहरु चलाउँदै दृश्यलाई नजिक ल्याएर देखाइदिए । तन्नेरीहरु प्रभावित भए ।

‘मैले उनीहरुले गाउने कुनै गीतहरु छन् भने सुनाउन अनुरोध गरेँ,’ अमृत भन्छन्, ‘त्यतिबेलै यो गीतको पहिलो अन्तरा उनीहरुले गाएका थिए ।’
पानी तिरतिरे…ल्याउ भन्थे बाबैले…मारयो पिरतीले…

अमृतलाई यो भाकाले साह्रै छोएछ । उनले अगाडिको पनि सुनाउन अनुरोध गरे । तर, तन्नेरीहरु ‘ढिला भयो’ भन्दै वनतिर हिँडेछन् । ‘त्यसपछि म अलिक दिन लगाएर ताप्लेजुङ पुगेँ, बाटोमा राफ्टिङ पनि गरेँ र काठमाडौं फर्र्किएँ,’ उनले थपे, ‘त्यो मनमा छोइरहेकै पहिलो अन्तरालाई समातेरै बाँकीको गीत आफैँले काठमाडौंमा तयार पारेको हुँ ।’

यसरी तयार भएको यो गीत नेपथ्यको एल्बम ‘भेँडाको ऊनजस्तो’का लागि सन् २००३ मा पहिलोपटक रेकर्ड गरिएको थियो ।
यस गीतको विशेषतामध्ये ‘क्वायर’को प्रयोग पनि एक हो । नेपथ्यको ‘भेँडाको ऊनजस्तो’ एल्बमका सबै गीतहरुमा संगीत संयोजन गर्ने काममा डानियल कार्थक (दानु)को अहम भूमिका थियो । इशाइ धर्मावलम्बी उनी चर्चको संगीतबाट नजिक हुने नै भए । ‘त्यतिबेला कालोपुल चर्चबाट दाजुभाइ दिदीबहिनीको एउटा समूह नै आएको थियो,’ अमृतले सम्झना गरे, ‘गीतमा उनीहरुले निकालेका विभिन्न स्वरको क्वायर मिसिएकै कारण पनि यो अझ मिठो बन्न पुग्यो ।’

यसरी तमोर नदीको किनारै किनार घाँस दाउरा गर्नेहरुको गुनगुनबाट निस्केको यो गीतले नेपथ्यको शिल्प पाएर ‘लोक रक’सम्मको यात्रा गरेको थियो । यस अवधिमा गीतकै हिसाबले मात्र श्रोताहरुले यसको आनन्द लिँदै आएका थिए । यसैबीच नेपथ्यले केहि वर्षयता आफ्नो युट्युब च्यानल मार्फत् नयाँ गीतहरु सार्वजनिक गर्न सुरुगरेको छ । त्यसैगरि पहिल्यै रिलिज भइसकेका पुराना गीतहरुलाई क्रमशः नयाँ ‘म्यूजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रुपमा पुनः प्रेषित गर्ने मञ्चका रुपमा पनि यस युट्युब च्यानलको उपयोग गर्न थालेको छ ।

यसै प्रकृया अनुसारै भर्खर केहि दिनअघि नेपथ्यले ‘लिरिक भिडियो’का रुपमा आफ्नो एउटा पुरानो गीत ‘सिमानामा’लाई पनि पुनःप्रस्तुत गरेको थियो । त्यसैगरि अर्को पुरानो ‘छोटो गीत’ले पनि केहि साता अघि भिडियोका रुपमा आफूलाई प्रस्तुत गरिसकेको छ । संयोगवश यी तीनवटै गीत ‘भेँडाको ऊनजस्तो’ एल्बमबाटै लिइएका हुन् ।

‘नेपथ्यका पुराना एल्बममा समेटिएका गीतहरुलाई पुनः ताजा बनाउँदै भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा हाम्रा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क पनि निरन्तर स्थापित गरिरहने प्रयासका रुपमा हामीले यो कदम चालेका हौं,’ नेपथ्यको व्यवस्थापनका साथसाथै ब्याण्डका भिडियोहरुको निर्मातासमेत रहेको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हामी छिट्टै नै नेपथ्यका सबै गीतहरुलाई हेर्नसमेत मिल्ने हिसाबले आधिकारिक युट्युब च्यानलमा राख्ने जमर्को गरिरहेका छौं ।’

यो भिडियोको पृष्ठभूमिबारे बताउँदै अमृत गुरुङले यसको छायांकन अष्ट्रेलियामा गरिएको जानकारी दिए ।
‘यसको छायांकन हामीले अष्ट्रेलियाको सांगीतिक यात्राका क्रममा दक्षिण अस्ट्रेलियाको अलडिंगा समुद्री किनारमा गरेका हौं,’ उनले भने, ‘एक सहरबाट अर्को सहरमा आयोजित कन्सर्टका बीच फुर्सद्को सदुपयोग गर्दै यो काम गरेका थियौं ।’ अहिले त्यसै छायांकनलाई यो पुरानो गीतको भिडियोका रुपमा नेपथ्यले सार्वजनिक गरेको हो ।