२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोर भागदौड आरसीबीको इतिहासकै सबैभन्दा दु:खद दिनः विराट कोहली



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोली तथा रोयल च्यालेन्जर्स बैंगलोरका स्टार खेलाडी विराट कोहलीले गत जुन ४ मा बैंलोरको चिन्नास्वामी रंगशालाबाहिर विजय र्यालीका क्रममा भएको भागदौडलाई फ्रेन्चाइजको इतिहासकै सबैभन्दा दुःखद दिन बताएका छन् ।

उक्त दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने कैयौं प्रशंसक घाइते भएका थिए । घटना त्यसबेला भएको थियो, जब आरसीबीले आफ्नो पहिलो आईपीएल उपाधि जितेको अवसरमा विजय समारोह आयोजना गरेको थियो ।

आरसीबीको आधिकारिक सामाजिक सञ्जालमा कोहलीका भनाइ उद्धृत गर्दै भनिएको छ– “जीवनमा केही पनि तपाईंलाई ४ जुन जस्तो हृदयविदारक क्षणका लागि तयार पार्दैन । यो हाम्रो फ्रेन्चाइजको इतिहासमा सबैभन्दा खुसीको क्षण हुनुपर्ने थियो, तर एउटा त्रासदीमा बदलियो ।”

कोहलीले अगाडि भनेका छन्– “आफ्ना प्रियजन गुमाएका परिवारका लागि म प्रार्थना गर्दछु । घाइते भएका प्रशंसकहरूलाई समेत मेरो संवेदना छ । उनीहरूको हानि अब हाम्रो कथाको हिस्सा बनेको छ । हामी सावधानी, सम्मान र जिम्मेवारीसहित अघि बढ्नेछौं ।”

४ जुनमा के भएको थियो ?
बैंगलोरको एम. चिन्नास्वामी रंगशालामा आरसीबीको पहिलो आईपीएल जितको खुशीमा करिब २.५ लाख प्रशंसक भेला भएका थिए । आरसीबीले सामाजिक सञ्जालमार्फत प्रशंसकलाई निम्तो दिएकाले विशाल भीड जम्मा भएको थियो । तर पर्याप्त सुरक्षा तथा व्यवस्थापन नभएकाले भीड नियन्त्रण बाहिर गयो र भागदौडको रूप लियो ।

कर्नाटक सरकारको प्रतिवेदन

१७ जुलाईमा सार्वजनिक भएको कर्नाटक सरकारको प्रतिवेदनमा यस घटनाको जिम्मेवारी आरसीबीमाथि थोपरेको थियो । प्रतिवेदनमा विराट कोहलीसम्मको उल्लेख गरिएको थियो । त्यहाँ भनिएको थियो कि आरसीबीले चिन्नास्वामी रंगशालामा आयोजना गरिएको विजय र्यालीका लागि आवश्यक अनुमति नै लिएको थिएन ।

प्रतिवेदनमा यो पनि उल्लेख गरिएको थियो कि अन्तिम समयमा कार्यक्रम रद्द गर्दा हिंसा भड्किन सक्ने र शहरमा कानून–व्यवस्था बिग्रन सक्ने सम्भावना थियो ।

सबै मृतक ३५ वर्ष मुनि, ३ किशोरसमेत
भागदौडमा ज्यान गुमाउने सबै ३५ वर्षभन्दा कम उमेरका थिए । सबैभन्दा कम उमेरकी पीडित १३ वर्षीया दिव्यांशी थिइन् । मृतकमध्ये तीन किशोर र २० देखि ३० वर्ष उमेर समूहका छ जना थिए ।

यी सबै प्रशंसक साथीभाइसँगै आरसीबीको जितको खुशी मनाउन आएका थिए । तर भीड र अव्यवस्थाका कारण खुसी दुःखद दुर्घटनामा परिणत भयो । यस घटनामा ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।

पीडित परिवारलाई क्षतिपूर्ति
आरसीबीले मृतकका परिवारलाई २५–२५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । साथै, भागदौडमा ज्यान गुमाएका प्रशंसकको सम्झनामा स्मारक (मेमोरियल) निर्माण गर्ने निर्णय पनि गरिएको छ ।