१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’
अ अ+ अ-

नारायणगढ, (चितवन) । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा  साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् ।

निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका गैँडाका बच्चाको यहाँको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रमा ल्याइएर उपचार र पालन–पोषण हुने गरेको छ । यही कारणले गर्दा यिनै गैँडाका बच्चा हाल सौराहतिर देखिरहेका छन् ।

सौराहस्थित संरक्षण केन्द्रमा हाल ‘राम’ र ‘देव’ नाम गरेका गैँडाका दुई भाले केटाहरू ९बच्चाहरू० हुर्किरहेका छन् । गैँडाका बच्चा प्राय: वैशाख–असारको ‘सिजन’मा जन्मिन्छ । प्रारम्भिक जीवनमा तिनीहरूले बाघ, भालुलगायत आक्रमणकारी र अकालको जोखिम भोग्नुपर्छ । हाल केन्द्रमा रहेका राम र देवको उमेर दुई वर्षभन्दा बढी भएको छ । यिनको पालन–पोषण कोषका कर्मचारी लालबहादुर महतरालगायतले गर्दै आउनुभएको छ ।

प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार ‘देव’ र ‘राम’ दुवैलाई बाघको आक्रमणबाट घाइते अवस्थामा उद्धार गरिएको थियो । देवलाई भरतपुरको देवनगरबाट विसं २०८० जेठ ३० गते उद्धार गरिएको हो । रामलाई सौराहकै बाघमाराबाट विसं २०८० असार १ गते ल्याइएको थियो । उद्धारका समयमा यी दुवै गैँडाका बच्चा १५–२० दिनका मात्रै थिए । प्रसाईंले भन्नुभयो, “त्यसताका हामीले अत्यन्त दयनीय अवस्थामा भेटाएका थियौँ ।”

रामलाई उद्धार गर्दा नजिकै एउटा माउ गैँडा मात्र देखिएको थियो, तर त्यसलाई रामकै माउ भन्ने पुष्टि गर्न नसकिएको उहाँले बताउनुभयो । “आमाले बच्चा स्वीकार गरिन् कि गरेनन् वा त्यो बच्चा उसको हो कि होइन भन्ने पक्का भएन । घाइतेजस्तो पनि देखिएको थिएन ।  हामीले हात्तीको सहायताले बच्चालाई आमासँग मिलाउने प्रयास गर्दा माउ गैँडा भाग्यो । त्यसपछि रामलाई यहाँ ल्याएर हेर्दा देब्रे खुट्टा टुटेको पाइयो, बाघले टोकेर छाडेको रहेछ । अनि  उपचार र पालन–पोषण गरिएको हो ।”

त्यसैगरी, देवनगरबाट उद्धार गरिएको देवका चारवटै खुट्टाका हाड भाँचिएका थिए । बाँच्छ कि बाँच्दैन भन्ने शङ्का थियो । बाघले निकै घाइते बनाएका यो केटोको अवस्था हाल सुधार भएको छ ।

केन्द्रका चिकित्सक डा अमिर सडौलाले यहाँ ल्याइएका गैँडाका बच्चा धेरैजसो बाघको आक्रमणमा परेका घाइते भएको पाइएको बताउनुभयो । “यहाँ ल्याइएका गैँडाका बच्चामध्ये करिब ७० प्रतिशत बाघको आक्रमणमा परेर आउँछन्, बाँकी अन्य कारण वा भालेको आक्रमणका कारण घाइते हुने गर्छन्”, उहाँले भन्नुभयो, “यहाँ ल्याएपछि मानिसको जस्तै उपचार गरिन्छ । घाइते गैँडाको पिसाब र शौच सामान्य भएमा बाँच्ने सम्भावना बढी हुन्छ ।”

गैँडाको स्वभाव अत्यन्त प्रतिरोधात्मक र प्राकृतिक रूपमा निको हुने क्षमता बढी हुने भएकाले सामान्यतया गैँडालाई विशेष उपचारको आवश्यकता कम पर्ने डा सडौलाको भनाइ छ ।

यहाँ हुर्काइएका केही गैँडाहरू अन्य देशमा उपहारस्वरूप पठाइएको र केही गैँडाहरू प्राकृतिक जङ्गलमा पुन:स्थापन गरिएका छन् । पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा, बाङ्गे, बिरु, पूजा र माइला नामक गैँडालाई काठमाडौँस्थित सेन्टर चिडियाखाना पठाइएको छ । यस्तै, ब्युटी र जङ्गेलाई अष्ट्रियाको भियना चिडियाखाना तथा सोल्टीलाई चीनको शाङ्घाई चिडियाखाना पठाइएको छो ।

वरिष्ठ संरक्षण अधिकृत प्रसाईंका अनुसार, पछिल्लो चार दशकदेखि कोषले बाघ, गैँडालगायत घाइते वन्यजन्तुहरूको उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ । हालसम्म २० वटा गैँडाका बच्चा उद्धार गरिएकामध्ये १३ वटा जीवित रहन सफल भएका छन् । गैँडा चार वर्षपछि वयस्क हुने हुँदा वयस्क भएपछि व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

हाल केन्द्रमा रहेका राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदैछ । उनीहरू प्राय: निकुञ्ज तथा सौराह आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँछ । छवटा गैँडाका बच्चालाई दैनिक रूपमा पालनपोषण गरी हुर्काइ सक्नुभएका केन्द्रका वन्यजन्तु प्राविधिक लालबहादुर महतरा यी गैँडाको स्याहारमा संलग्न हुनुहुन्छ । उहाँले आफ्नै सन्तानजस्तै माया गरेर गैँडाका बच्चाहरूलाई दूध एवं आहार खुवाउने गर्नुहुन्छ । “बच्चा अवस्थामा दुई–दुई घण्टाको अन्तरालमा दूध खुवाउनुपर्ने हुन्छ भने अलि ठूला भएपछि मकैको कुँडो र अन्य आहार दिन सुरु गरिन्छ”, महतराले भन्नुभयो,“मैले हासम्म देव, राम, पूजा, माइला, पुष्पा र अञ्जली नामक गैँडाहरू हुर्काइसकेको छु । यहाँ ल्याउँदा हिँड्नसमेत नसक्ने अवस्थाका देव र राम पनि विस्तारै तङ्ग्रिँदै छन् ।”

यहाँ संरक्षण गरिने गैँडाका बच्चालाई सुरुमा दैनिक करिब दुई केजीसम्म ल्याक्टोजिन दूध दिइन्छ र बच्चा ठूलो हुँदै गएपछि दूधको मात्रा क्रमश: बढाउँदै मकैलगायत अन्य आहार पनि खुवाइने कोषका चिकित्सक डा  सडौलाले बताउनुभयो । उहाँका अनुसार, सामान्य गाई–भैँसीको दूध गैँडाका बच्चाले पचाउन सक्दैन किनभने त्यसको फ्याट र प्रोटिन संरचना गैँडाको पेटसँग मेल खाँदैन । त्यसैले बच्चा अवस्थामा खानपानमा विशेष ख्याल राख्न आवश्यक हुने उहाँको भनाइ छ ।

बच्चाहरूका बचपनमै बढी कुरा सिक्ने भएकाले माउको माया र साथबाट वञ्चित हुँदा उनीहरू प्राकृतिक वातावरणसँग सहजै घुलमिल हुन नसक्ने भएकाले सोहीअनुसार आफूहरूले व्यवस्थापन गर्ने गरेको वरिष्ठ संरक्षण अधिकृत प्रसाईंको भनाइ छ । उहाँले भन्नुभयो, “कोशीमा लगिएका गैँडालाई पनि त्यही उद्देश्यका लागि नयाँ बासस्थानमा लगिएको हो । माउ गैँडासँग हुँदा बच्चाले खान, हिँड्न र शत्रुबाट जोगिने सीप सिक्छ, तर मानव संरक्षणमा हुर्काइएका यिनीहरूले आमा गैँडाको मार्गदर्शन नपाउने भएकाले, अन्य गैँडाको हूलसँग घुलमिल हुन केही कठिनाइ हुन्छ ।”

सनद अधिकारी / रासस