काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने उहाँको भनाइ छ । उहाँले डिजिटल नेपाल नीति अन्तर्गत पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापन लगायत आठ क्षेत्रमा प्रविधिको प्रयोगलाई विस्तार सरकारको तयारी रहेको बताउनु भयो । उहाँले कृत्रिम बुद्धिमत्ता (एआई)को विकास र प्रयोगलाई तीव्रता दिन पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभजी) आवश्यक रहेको उल्लेख गर्दै काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट माघ महिनाभित्र फाइभजी परीक्षण सुरु हुने समेत बताउनु भयो । उहाँले एआईको प्रभावकारी प्रयोगका लागि फाइभजी नेटवर्क अनिवार्यजस्तै भएको कारण सरकार प्राथमिकताका साथ काम गरिरहेको दाबी गर्नुभयो । आगामी वर्षभित्र फाइभजी विस्तार सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । सातवटै प्रदेशमा आईटी डाटा सेन्टर तथा एआई केन्द्र स्थापना गर्न लागि समेत सरकार लागि परेको मन्त्री गुरुङको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी डिजिटल नेपालको फ्रेमवर्क बनाउँदैछौं । त्यो नीति अब क्याबिनेटबाट पास भएर कार्यान्वयनमा आउँछ । हामी त्यसको अन्तिम ठाउँमा छौं । अब टुरिज्म, एजुकेसन, गभर्नेन्स तथा डिजास्टर म्यानेजमेन्ट लगायत आठ वटा क्षेत्रमा त्यसले काम गर्छ । आइटीको अहिलेको विकसित रुप चाहीँ आर्टिफिसियल इन्टेलिेन्ट (एआई) हो । एआईको प्रयोजको लागि अब फाइभ जीको नेटवर्क चाहियो अब हामीलाई । त्यसकारणले यही वर्षको माघभित्र काठमाडौं भ्याली र पोखरा भ्यालीबाट सुरु परीक्षण शुरु गर्छौं । त्यसले इन्टरनेटको प्रयोगलाई समेत सहयोग गर्ने र एआईको प्रयोगमा पनि सहयोग गर्ने विश्वास लिएका छौं । यो वर्ष शुरु गरेर फाइभजीको काम गरेर अर्को वर्षसम्म सक्ने तयारीमा छौं । हामी सातवटै प्रदेशमा आईटी डाटा सेन्टर र एआई केन्द्र विकास गर्ने तयारी गर्दैछौं ।’
बैंकिङ ठगीका मुद्दाहरु बढिरहेको उल्लेख गर्दै उहाmँले यसको नियन्त्रणका लागि आवश्यक कानून निर्माण प्रक्रिया अघि बढिरहेको समेत बताउनु भयो ।










