रुपन्देही। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ ।
रङ्गशाला अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेर काम अगाडि बढाएकाले रङ्गशालालाई बजेटको अभाव हुन नदिने बताउनुभयो ।
उपप्रधानमन्त्री पौडेलले सिद्धार्थ रङ्गशालाका लागि यस वर्ष रु तीन करोड बजेट छुट्याएको र आगामी दिनमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरू उत्साहका साथ खेलकुदको विकासमा लाग्नुहोस् । यो रङ्गशाला लुम्बिनी प्रदेशमै महत्वपूर्ण खेल पूर्वाधार हो । यहाँ रहेका अधुरा कामहरू सम्पन्न गर्न लाग्नुस् । आर्थिक रूपमा कुनै समस्या हुँदैन ।”
रङ्गशालाबारे जानकारी दिँदै रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले यसलाई बहुवर्षीय योजनामा राखिदिन आग्रह गर्नुभयो । उहाँले सिद्धार्थ रङ्गशाला काठमाडौँपछि स्तरीय रहे पनि त्यसको अनुपातमा बजेटको अभाव झेलिरहेको बताउनुभयो ।
डेढ दशकमा रङ्गशाला निर्माणको काम करिब १६ प्रतिशत मात्रै छ । यहाँ हालसम्म करिब रु १२ करोड खर्च भइसकेको छ । न्यून बजेटका कारण यसको निर्माण समयमै हुन नसकेको अध्यक्ष थापाले गुनासो गर्नुभयो ।
क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले विसं २०६८ मा भैरहवा र मूलपानीमा अन्तरराष्ट्रियस्तरको मैदान बनाउन सुरु गरिएकामा मूलपानी मैदानले गति लिँदा यहाँ भने कछुवा गतिमा काम भइरहेको बताउनुभयो ।
सात हजार दर्शक अट्नेगरी प्यारापिटसहित अन्तरराष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले यो योजना अगाडि बढाएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) त्यसबेला कम्तीमा रु ३८ करोड लाग्ने जनाइएको थियो । तर, समयमै काम नहुँदा अब कम्तीमा रु ७० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ ।रासस










