काठमाडौँ। प्रतिनिधिसभाले संघीय निजामती सेवासम्बन्धी विधेयक, २०८० लाई यही भदौ १९ गते पारित गर्ने कार्यतालिका तय गरेको छ।
सभामुख देवराज घिमिरेले बिहीबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलपछि राष्ट्रियसभाबाट विधेयक आएमा सोही दिन प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय भएको हो। प्रशासनिक संघीयता कार्यान्वयनको दृष्टिले यो विधेयकलाई विशेष महत्व दिइएको छ।
सभामुखका सञ्चार सल्लाहकार शेखर अधिकारीका अनुसार संसद्को आगामी १५ दिनको कार्यक्रम तालिका सार्वजनिक गरिएको छ। भदौ १८, १९, २५, ২৬ र २७ गते प्रतिनिधिसभाको बैठक बस्नेछ।
यस्तै, भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको छ भने शुक्रबारको बैठकमा भूमिसम्बन्धी विधेयक पारित गरी राष्ट्रियसभामा पठाइनेछ। भदौ १८ गते नागरिकता विधेयकमाथि निर्णय गर्ने कार्यतालिका पनि तय भएको छ।
त्यसैगरी, राष्ट्रपति कार्यालयले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यक्रम समेत प्रतिनिधिसभाले तोकेको छ।










