१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

बन्दाबन्दीमा आशाको केन्द्र बन्यो राप्ती प्रादेशिक अस्पताल

बन्दाबन्दीमा आशाको केन्द्र बन्यो राप्ती प्रादेशिक अस्पताल
अ अ+ अ-

–नारायणी रजौरे

दाङ । तुलसीपुर उपमहानगरपालिका—१७ की १८ वर्षीया सीता चौधरीलाई कोरोना भाइसर (कोभिड —१९) को जोखिम रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) मा अस्पतालबाट प्रसुती सेवा कसरी प्राप्त होला भन्ने चिन्ता लागेको थियो ।

गत आइतबार गर्भवती सीताको पेट दुख्न थालेपछि घरमा एम्बुलेन्स बोलाइयो र उहाँलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पुर्याइयो । एम्बुलेन्सले प्रसुती कक्षमा पुर्याएपछि उहाँले बल्ल आफू अस्पताल पुगेको थाहा पाउनुभयो । सीताले धेरै सञ्चारमाध्यममा यतिखेर अस्पतालहरुमा विरामीले उपचार नपाउने गरेको गुनासो सुन्नुभएको थियो । देशमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढेपछि त्यस बाहेकका अरु विरामीको उपचार हुदैन भन्ने उहाँलाई लागेको थियो ।

अर्कातर्फ सुत्केरी हुने आफ्नो यस्तो बेला आइसकेकोले यो बन्दाबन्दीका समयमा अस्पतालसम्म कसरी पुग्ने भन्ने त्रास पनि थियो । अस्पताल पुगेपछि पनि कोरोनाको त्रास बढिरहेको अहिलेको अवस्थामा चिकित्सक तथा नर्सले आफूलाई राम्रोसँग हेरचाह गर्लान् भन्ने अझै लागेको थिएन । भन्नुहुन्छ, “दुविधा थियो, तर पछि जसरी मैले यस अस्पतालबाट सेवा पाएँ, यसले निकै खुशी भएँ ।”

अस्पतालको प्रसुती विभागमा पुग्ने वित्तिकै स्वास्थ्यकर्मी र प्रसुती विशेषज्ञ चिकित्सकले गरेको व्यवहार तथा निगरानीले उहाँको मनको दुबिधा सबै हट्यो । मनोबल उच्च भयो, प्रसव पीडाले च्याप्दै जाँदा पनि स्वास्थ्यकर्मीले गरेको व्यवहार तथा रेखदेखले सबै डर भाग्यो । यस्तै अनुभव सुनाउनुभयो उहाँले ।

“झण्डै १० घण्टासम्म सुत्केरी ब्यथा लाग्यो । सामान्य रुपमा प्रसुती गराउने धेरै प्रयास गर्यौँ तर सानै उमेरमा गर्भवती भएकाले शल्यक्रिया नै गर्नुपर्ला भनेर तयारी पनि गर्यौँ । तर पछि भने सामान्य रुपमा भ्याकुम अर्थात औजारको सहायताले सुत्केरी गराउन सफल भयौँ । अहिले आमा र शिशुको स्वास्थ्य राम्रो छ” राप्ती प्रादेशिक अस्पतालको प्रसुती विभागका नर्सीङ अधिकृत रमा पराजुलले भन्नुभयो । सीताले दुई वर्षअघि कक्षा ८ मा पढ्दा पढ्दै गाउँमा आफ्नै समुदायका एक युवासँग प्रेम विवाह गर्नुभएको थियो ।

उहाँका श्रीमान् अहिले सार्वजनिक सवारीमा मजदुरको काम गरिरहनुभएको छ । “घरको आर्थिक अवस्था कमजोर छ, हामीले त धेरै चाहेर पनि कहाँ पढ्न पाइने हो र ? अबत बच्चा भइहाल्यो यसको लालन पालनका लागि पनि झन् धेरै दुःख गरेर काम गर्नुपर्छ” अस्पतालको शैयाबाट उहाँले भन्नुभयो ।

सानै उमेरमा गर्भवती हुँदा सुत्केरी हुन निकै गाह्रो हुने अनुभव उहाँले सुनाउनुभयो । “ तर पनि यस्तो बन्दाबन्दीको समयमा पनि अस्पतालसम्म आएँ, अस्पतालले सुरक्षित तवरले प्रसुती गरायो, ढुक्क भएकि छु, अब त जहिले डिस्चार्ज गरे पनि केही छैन” उहाँले खुशी हँुदै भन्नुभयो ।

त्यसैगरी सोही अस्पतालमा गत शनिबार तुलसीपुर नगरपालिका—१४ की २३ वर्षीया आशा चौधरीले पनि शल्यक्रिया गरेर छोरी जन्माइन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रसुती कक्षमा आइतबार भर्ना भएकी उहाँलाई पनि लकडाउनको यस्तो अप्ठेरो बेलामा अस्पातल कसरी जाने होला भन्ने चिन्ता नै थियो । घरमा बस्दा मनमा अनेक सोचाइ आएको र कोरोना भाइरसको सङ्क्रमण बढेको समाचार आएसँगै आफूलाई पनि डर लाग्ने गरेको उहाँले सुनाउनुभयो ।

सीताको जस्तै यस्तो बन्दको बेलामा अस्पताल कसरी पुग्ने र अस्पताल पुगेपछि पनि अहिले कोरोनाको त्रास छ यहाँ बच्चा जन्माउन सकिँदैन अन्यत्रै लैजानु भन्ने जवाफ अस्पतालले दियो भने के गर्ने भन्ने नै थियो आशाको डर पनि ।

तर अहिले भने आफ्नै ठाउँको अस्पतालमा बच्चा जन्माउन पाएकोले उहाँ खुशी हुनुहुन्छ । अस्पतालको शैयाबाटै मलिन स्वरमा उहाँले भन्नुभयो– “हुनत शरीर चिरेको घाउ छँदैछ, तर पनि मलाई त्यसको कुनै दुखाइ छैन, देशको यस्तो अवस्थामा पनि अस्पतालसम्म आएर बच्च जन्माउन पाएँ मलाई खुशी लागेको छ ।”

“बुहारीले मलाई अलि विसञ्चो भयो भनेपछि वडा कार्यालयमा जानकारी गराएँ, वडाबाट एम्बुलेन्स बोलाइदिनुभयो, सजिलैसँग अस्पताल आयौँ” आशाकी सासु मैनी चौधरीले भन्नुभयो । “अस्पातलमा नर्सहरुले औषधी खुवाउनुहुन्छ र डक्टरले पनि पटक पटक आएर स्वास्थ्य जाँज गर्ने गर्नुभएको छ, अब घर जाँदा सुत्केरी खर्च भत्ता पनि दिन्छ रे आशाले भन्नुभयो ।”

त्यस्तै तुलसीपुर उपमहानगरपालिका– १ की २० वर्षीया शान्ति विकले पनि गत आइतबार नै राप्ती प्रादेशिक अस्पतालमा शिशु जन्माउनुभएको छ । “प्रसव ब्यथा लागेपछि वडाले एम्बुलेन्स पठायो र अस्पताल आयौँ, सामान्य रुपमा सुत्केरी भएँ, खुशी लागेको छ” उहाँको भनाई छ । उहाँलाई पनि गाउँघरका दिदीबहिनीले अहिले कोरोनाको त्रास छ, अस्पतालमा स्वास्थ्यकर्मीले राम्रोसँग हेर्दैनन् भन्ने सुनाएका थिए ।

अस्पतालमा कोरोनाको उच्च सतर्कता अपानाएर विरामी अर्थात प्रसुती सेवाका लागि आउने गर्भवती, सुत्केरी र बच्चाहरुको राम्रो सेवा दिने गरेको आफूले पाएको उहाँले बताउनुभयो । यसरी अहिलेको लकडाउनको असहज परिस्थितिमा पनि सुत्केरी तथा महिलाहरुको आशाको केन्द्र बन्न सफल यस राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरबाट यस अवधिमा मात्र ३७१ जनाले प्रसुती सेवा लिएको अस्पालतका प्रसुती विभाग प्रमुख नर्सिङ अधिकृत रमा पराजुलीले जानकारी दिनुभयो । यसमा ७२ जनाको शल्यक्रिया गरिएको र पाँच जनाको औजारको सहायताले तथा अन्यको समान्य रुपमा नै सुत्केरी गराइएको पराजुलीले जानकारी दिनुभयो ।

अस्पतालको तथ्याङ्कअनुसार सुत्केरी हुन आउनेमध्ये केही १८ वर्षदेखि २० वर्षमुनीका छन् भने अन्य २० वर्ष माथिका रहेका छन् । यो समेत गरी यस आर्थिक वर्षको हालसम्म अस्पतालमा प्रसुती सेवा लिन आउनेको सङ्ख्या दुई हजार ७४५ रहेको छ । सेवा लिन आउनेमा दाङसहित पुर्वी रुकुम, रोल्पाको पश्चिम भेग र कर्णाली प्रदेशको सल्यान जिल्लाका रहेका छन् । त्यस्तै बन्दाबन्दी शुरु भएदेखि हालसम्म सो अस्पतालबाट २७ जनाले सुरक्षित गर्भपतन गराएको पनि पराजुलीले जानकारी दिनुभयो ।

यस अस्पतालमा प्रसुती सेवा लिन दैनिक ५ देखि ७ जना आउने गरेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.विनोद सिंहले जानकारी दिनुभयो । उहाँले प्रसुती सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको कमी भएपनि व्यवस्थापन गरी सेवा प्रवाह गरिरहेको बताउनु भयो । उहाँले कोरोनाको त्रास बढिरहेको अवस्था भए पनि अस्पतालमा प्रसुती सेवा लिन आउने या जो कोही विरामीलाई पनि उच्च सतर्कताका साथ सुरक्षित तवरले सेवा दिइरहेको बताउनुभयो ।

प्रसुती सेवा लिन आउनेमध्ये केहि १८ वर्षका पनि रहेको र यसरी सानै उमेरमा आमा बन्ने महिलालाई बच्चा जन्माउँदा पनि समस्या हुने र शल्यक्रिया गर्नुपर्ने भएकोले पनि अस्पतालको ध्यान सुरक्षित सेवामा हुने गरेको उहाँ बताउनुहुन्छ । पाठेघर खस्नेलगायतका धेरै प्रसुतीजन्य जटिलता हुने भएकोले उमेर पुगेपछि मात्र बच्चा जन्माउन उहाँले सुझाउनुभयो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विसं २०६५ मा जनस्तरबाट स्थापना गरिएको अस्पताल हो । सो अस्पताल स्थापनाका लागि यहाँका नागरिहरुले निकै लामो सङ्घर्ष गर्नुका साथै महायज्ञको आयोजना पनि गरिएको थियो ।

उक्त यज्ञबाट तीन करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन गरिएको थियो । यसबाट अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले तत्कालीन तुलसीपुर हेल्थपोष्टलाई स्तरबृद्धि गरी राप्ती अञ्चल अस्पतालका रुपमा विकास गरेको थियो । तुलसीपुर क्षेत्रमा रहेको यो नै एक मात्र सरकारी अस्पताल हो । यसलाई गतवर्ष प्रदेश नम्बर ५ सरकारले स्तरबृद्धि गरी प्रदेशको मातहतमा ल्याएर राप्ती प्रादेशिक अस्पतालका रुपमा विकास गरेको हो ।

हाल यस अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सक, ११ जना मेडिकल अधिकृत गरी कुल एक सय ४५ जनाका स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । सो अस्पतालबाट प्रसुतीबाहेक चैतदेखि हालसम्म एक हजार २७५ जनाले इमरजेन्सी सेवा लिएको र १५ हजार एक ७१ जनाको ल्याव टेष्ट गरिएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो । अस्पतालका मेसु सर्वेश शर्माले लकडाउनको अवधिमा अस्पतालले अत्यावश्क सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

उहाँले प्रसुती सेवा, सुरक्षित गर्भपतन, मृगौलाको डायलासिस लगायतका सेवा दिइरहेको बताउनुभयो । त्यस्तै अहिले खोप सेवा, गर्भवतीको नियमित स्वास्थ्य जाँच पनि सुरु गरिएको बताउनुभयो । उहाँले राप्ती प्रादेशिक अस्पतालको जनशक्तिलाई बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा परिचालन गरी सेवा दिइरहेको पनि बताउनुभयो । लकडाउनको अवधिमा अस्पतालले आपतकालीन सेवा पनि प्रवाह गरिरहेको छ ।