११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको सार्वभौमिकताको रक्षाका लागि पहलकदमी गर्न अध्यक्ष नेपालद्वारा आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको सार्वभौमिकता, भूगोलको रक्षाका लागि आवश्यक सबैखाले पहलकदमी लिन सरकारलाई आग्रह गर्नुभएको छ ।

पार्टीको चौथो स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उहाँले देशको सार्वभौमिकता रक्षाका लागि सम्बन्धित पक्षलाई सबैको सहकार्य र समन्वयबाट दबाब दिनुपर्ने बताउँदै नेपाली भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आह्वान गर्नुभयो ।

मजदुर, किसान तथा उत्पीडित वर्गलाई राजनीतिक तथा सामाजिक अधिकार उपलब्ध गराउने उद्देश्यले कम्युनिष्ट आन्दोलनको मूल उद्देश्यले स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले चार वर्ष पूरा गरेको जनाउँदै अध्यक्ष नेपालले सम्पूर्ण पार्टी पङ्क्ति, समर्थक, शुभचिन्तकलगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्दै जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र जनजीविकाको प्रश्नलाई प्रमुख ‘एजेण्डा’ बनाउँदै आएको एकीकृत समाजवादीले राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई आफ्नो आधार मानेर श्रमिक–किसान, दलित, महिला, उत्पीडित तथा अवसरबाट वञ्चित वर्गको हितमा दृढतापूर्वक अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजवाद उन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने सङ्कल्प गर्नुपर्ने बताउँदै उहाँले कम्युनिष्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गरी आन्दोलनलाई शुद्धीकरण तथा एकीकरण गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानता र शोषणमुक्त समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।