काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अहिले नक्कली संघीयता रहेको बताउनुभएको छ ।
उहाँले हजारौँ वर्षदेखि उत्पीडनमा परेका समुदायहरुले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभुति गर्न नपाएकाले यहाँको संघीयताको अर्थ नभएको बताउनुभएको हो । संघीयता भएका मुलुक संसारमा विकसित र शक्तिशाली भएको उहाँको भनाई छ । भारत अमेरिका, क्यानडा, स्वीजरल्याण्ड, युएई जस्ता ठूलाठूला शक्तिशाली मुलुकहरु संघीयताकै कारणले अगाडी बढेको उहाँले बताउनु भयो । उहाँले ‘संघीयता नेपालमा छ र ?’ भन्दै प्रश्न समेत गर्नुभयो ।
संघीयताले देशभित्रको विविधतालाई सम्बोधन गर्ने उल्लेख गर्नुहुँदै उहाँले हाल नेपालमा भएको संघीयताले यहाँको विविधतालाई सम्बोधन गर्न नसकेको बताउनु भयो । उत्पिडनमा परेका समुदायहरुको स्वायत्तता र स्वामित्वलाई संबोधन नगर्ने गरि राज्य पुनःसंरचनाको निम्ति मात्रै संघीयता लागू गरिएको उहाँको भनाई छ । उहाँले साँच्चिकै देशलाई संघीयतामा लैजाउन आवश्यक भएको बताउनु भयो । देखाउने मात्रै संघीयता नभई यसलाई कार्यगत संघीयताको रुपमा रुपान्तरण गर्नु आजको आवश्यकता रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘संघीयता नेपालमा छ र ? यो नक्कली संघीयता हो । संघियता भएका मुलुक त संसारका विकसित र शक्तिशाली छन् त । भारत अमेरिका, क्यानडा, स्वीजरल्याण्ड, युएई जस्ता ठूलाठूला शक्तिशाली मुलुकहरु संघियताकै कारणले अगाडी बढेका हुन् । संघियताले नै त्यहाँको विविधतालाई सम्बोधन गर्छ । अहिलेको नेपालको संघियता नक्कली संघीयता हो । यसले यहाँको विविधतालाई सम्बोधन गर्न सकेको छैन । उत्पीडनमा हजारौँ वर्षदेखि परेका समुदायहरुले स्वायत्त र सुशासन, आफ्नो प्रतिनिधित्व र स्वामित्वको अनुभुति गर्न पाएका छैनन् भने संघीयताको के अर्थ हुन्छ र । त्यो चाहीँ नगर्ने गरी राज्य पुनःसंरचना गरे । त्यसकारण हामी के भन्छौ भने साँच्चिकै संघियतामा लैजाउ यसलाई । यो देखाउने मात्रै संघियता होईन की कार्यगत संघीयताको रुपमा यसलाई कसरी रुपान्तरण गर्ने, त्यो आजको आवश्यककता हो ।’ उहाँले प्रमुख राजनीतिक दलहरुले संघीयतालाई सहज रुपमा नलिएका कारण यसको सही कार्यन्वयनमा समस्या देखिएको बताउनु भयो ।
सात बुँदे सहमति कार्यन्वयन गर्न काँग्रेस एमाले नै तयार देखिएनन्
अध्यक्ष यादवले वर्तमान सरकार गठनको बेला नेपाली काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमति कार्यन्वयनमा दुवै दल तयार नदेखिएको आरोप लगाउनुभएको छ ।
दुई दलबीचमा भएको समझदारीमा सुशासन, अर्थतन्त्रलाई सुधार र संविधान संशोधन जस्ता महत्वपूर्ण पक्ष रहेको उहाँको भनाई छ । तर त्यसलाई कार्यन्वयन गर्न वर्तमान सरकार र सत्तारुढ दल प्रतिवद्ध नरहेको उहाँले बताउनु भयो । देशको अर्थतन्त्र झन संकटग्रस्त हँुदै गएको उहाँको भनाई छ । संविधान संशोधनका मुद्दा पनि छायामा परेको उहाँले बताउनु भयो । दुई दलबीच भएको समझदारी र प्रतिवद्धता पूरा गर्न सहज बनाउनको लागी आफुहरुले सरकारलाई समर्थन दिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सात बुँदे समझदारी हामीसँगको होईन, सरकार निर्माण गर्ने बेलामा नेकपा एमाले र नेपाली काग्रेस बीचको समझदारी हो । त्यही समझदारीको पनि कार्यान्वयन हुनुपथ्र्यो नि । त्यहाँ महत्वपूर्ण कुरा के थियो भने सुशासन दिने भनेको थियो । अहिले सुशासनको के अवस्था छ, त्यो हजुरहरुलाई थाहा छ । अर्को पक्ष थियो देशको अर्थतन्त्रलाई सुधार्ने । देशको अर्थतन्त्र कति सुधारियो, कति सुध्रियो रु अझ झन म त देख्छु, संकटग्रस्त हुँदै गएको छ । अर्को थियो संविधान संशोधन गर्ने कुरा, अब संविधान संशोधन गर्ने कुराको अत्तोपत्तो छैन । यी लगायतका कुराहरु जो प्रतिवद्धता उहाँहरुका थिए, त्यो प्रतिवद्धता पूरा गरोस् भनेर हामीले समर्थन गरेको हो । उहाँहरुले त्यसमा गरेको देखिएन । अब पनि समय छ, गरोस् भन्ने चाहन्छौँ, हामी ।’
उहाँले अझैपनि काँग्रेस र एमालेबीच भएको समझदारी कार्यन्वयन गर्न समय रहेको बताउनु भयो । त्यसलाई कार्यन्वयन गर्न उहाँले आग्रह गर्नुभयो ।
सरकारमा बसिरहनुपर्ने कुनै औचित्य नदेखेपछि समर्थन फिर्ता
सरकारमा बसिरहनपर्ने कुनै औचित्य नभएपछि जनता समाजवादी पार्टी, नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको अध्यक्ष यादवले बताउनु भयो । उहाँले आफूहरुले समर्थन फिर्ता लिँदैमा सरकारलाई कुनै असर नपर्ने पनि बताउनु भयो । जसपा नेपालको समर्थन फिर्ताले सरकार ढल्ने, प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने लगायतका अवस्था नै नभएको उहाँको भनाई छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारले गर्ने राम्रा, देशहितका काममा भने सहयोग गर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले एक वर्षसम्म सर्मथन ग¥र्यौँ । फेरि पनि हामीले के भनिराराखेका थियौँ र छौँ भने सरकारले गर्ने राम्रा काम, देशहितका काममा हामी सहयोगी हुन्छौँ । तर हामी न सरकारमा छौँ न प्रतिपक्षमा थियौँ त्यो बेला । अनि यस्तो स्थितिबाट हामीले सरकारको विपक्षमा नै बसेर राम्रा काममा सहयोग गर्ने, रचनात्मक सहयोग गर्ने र देशहितमा नभएका कुराहरु औँल्याउने हाम्रो कर्तव्य हो । त्यसकारण हामीले भुमिका मात्रै बदलेको हो । हामी सरकारमा त थिएनौँ । हाम्रो सर्मथन फिर्ताले सरकार ढल्ने पनि होइन । हामी सरकारमा नभएको कारणले सरकारले विश्वासको मत लिनुपर्ने जरुरत पनि छैन । फेरि हाम्रो समर्थन उहाँहरुलाई चाहिएको पनि होइन । हामी सरकारमा बसिरहनपर्ने कुनै औचित्य थिएन । हामीलाई जनताले प्रश्न गर्थे नि किन बसेको सरकारमा ? कि त सरकारमा सहभागी हुन्छ, कि त विपक्षमा हुन्छ । बीचमा कति दिन बस्ने हो ? बीचमा त बसियो एक वर्ष बढो गाह्रो गरी । अब एक पक्षमा बस्ने हो ।’
आफूहरु सरकारमा बसिररहेको भए जनताले किन सरकारमा बसेको भनेर प्रश्न गर्ने उहाँको भनाई छ । एक वर्ष पनि बढो गाह्रो गरी सरकारमा बसेको उहाँले बताउनु भयो ।
भूमी विधेयक विचौलिया र जग्गा दलालको पक्षमा
जसपा, नेपालका अध्यक्ष यादवले सरकारले भूमाफियाहरुलाई सहयोग हुनेगरी भुमिसम्बन्धी विधेयक ल्याएको बताउनु भयो । वन फडाँनी गरेर विचौलिया, जग्गा दलाल र माफियाहरुलाई जग्गा दिनेगरी सरकारले विद्येयक ल्याएको उहाँको आरोप छ । नेपाल पर्यावरणीय जोखिममा रहेको उल्लेख गर्नुहुँदै उहाँले वन जोगाउनुपर्नेमा वन फँडानी गर्नेलाई लालपूर्जा दिनेगरी ऐन बनाउन खोजिएको न्युज एजेन्सी नेपालस्ँगको कुराकानीमा उहाँले बताउनु भयो । ‘त्यसले वन संरक्षण हुन्छ रु’, उहाँले प्रश्न गर्नुभयो । वन विनाश भए मुलुक मरुभूमिकरण भएर जाने उहाँको भनाई छ । सरकारले हालै नेपालमा प¥यावरणीय संकट बढ्यो भनेर सगमाथा संवाद गरेको उल्लेख गर्नुहुँदै उहाँले पर्यावरणीय संकटबाट जोगाउने उपाय वन पनि भएको बताउनु भयो । वन विनाश गर्ने ऐन देश र जनताको पक्षमा नरहेकोले आफूहरुले यसको विरोध गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुयो, ‘के वन फँडानी गरेर विचौलियाहरुलाई जग्गा दलालहरुलाई वा माफियालाई जग्गा दिनु उचित हो रु वन फँडानी गर्न उचित हो ? अर्को कुरा के हो भन्दाखेरी नेपाल पर्यावरणीय जोखिममा छ, संकटमा छ । यहाँ वन जोगाउन पर्ने हो । तर जो त्यस्तो ऐन छ, जहाँ वन काटेकालाई त्यसको लालपूर्जा दिने भन्ने छ । त्यसले वन संरक्षण हुन्छ रु वन विनास भयो भने यो मुलुक मरुभुमिकरण भएर जान्छ । मधेस मरुभूमि हुन्छ । अर्को कुरा नेपालमा भर्खरै सरकारले सगमाथा संवाद ग¥यो । नेपालमा पर्यावरणीय संकट बढ्यो भनेर । पर्यावरणीय संकटबाट जोगाउने उपाय त वन पनि हो नी । महत्वपूर्ण क्षेत्र हो वन । अब त्यसको विनाश नहोस् भन्ने हो । वन विनाश भएर देशलाई जोगाउने, जनतालाई जोगाउनका लागि मैले यो ऐन देशहितमा अहिले देखिएन र पर्यावरण अहिले नष्ट हुन्छ । तराई, मधेस, चुरिया नष्ट भएर मरुभूमिकरण हुन्छ । यो त जुनसुकै व्यक्तिले पनि सबैले आफ्नो देशको लागी जसले सोच्दछ, जसले आफ्नो देशको नागरिकको जीवनको लागि सोच्दछ, उसले चाहीँ आँखा चिम्लेर हो मा हो त भन्न सक्दैन ।’
सरकारले हाल ल्याएको भूमीसम्बन्धी विधेयकले पर्यावरण नष्ट गर्ने, तराई, मधेस, चुरे नष्ट भएर मरुभूमिकरण हुने बताउनु भयो । देशको र नागरिकको जीवनको लागि सोच्ने मान्छेले आँखा चिम्लेर सरकारको यो काममा सही थाप्न नसक्ने उहाँको भनाई छ ।
मधेसवादी पार्टी फेरि जुट्ने सम्भावना
विभाजन, र टुटफुटले मधेसवादी पार्टी अहिले दर्जनौँ बनेका छन् । हालै अनिलकुमार झाले नेपाल सद्भावना पार्टीलाई फेरि व्युँताएका छन् । तर जसपा, नेपालका अध्यक्ष यादव भने मधेसवादी दल फेरि जुट्ने सम्भावना बढ्दै गएको बताउनु हुन्छ । नेपालको राजनितिमा एकता, मिलन, विछोड यो सँगसँगै गइहने कुरा भएको उहाँले बताउनु भयो । फुट्ने, जुट्ने र फेरि फुट्ने यो क्रम नेपालको राजनितिक दलहरुको विशेषता नै रहेको उहाँको भनाई छ । उहाँले अब फेरि जुट्ने सम्भावना बढ्दै गएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालको राजनितिमा एकता, मिलन, विछोड यो सँगसँगै गइरहने कुरा हो । फुट पनि भइरहेको छ, जुट पनि भइरहेको छ । जुटेर फेरि फुट्ने पनि भइरहेको छ । यो क्रम त नेपालको राजनितिको विशेषता नै हो । कहिले मिल्ने, कहिले फुट्ने, कहिले फेरि जुट्ने । अब जुट्ने सम्भावना बढ्दै गएको छ ।’
उहाँले अहिलेसम्म वैचारिक, सैद्धान्तिक भन्दापनि कार्यनितिक सवाल, तत्कालिन समस्या र घटनाक्रमहरुबाट प्रभावित भएर पार्टी विभाजन हुने गरेको बताउनु भयो ।











