२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन शाही अपमानको मुद्दामा निर्दोष



अ+ अ-

थाइल्यान्ड: थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा शुक्रबार शाही मानहानिको आरोपबाट निर्दोष ठहर हुनुभएको छ । यसले दुई दशकदेखि थाई राजनीतिमा प्रभाव जमाइरहेको उहाँको परिवारलाई परेको ठूलो दबाब हटाएको छ ।

थाक्सिनको परिवार लामो समयदेखि सेना समर्थक र राजतन्त्र पक्षधर अभिजात वर्गसँग टकरावमा रहँदै आएको छ । यी अभिजात वर्गले थाक्सिनको लोकप्रियतावादी आन्दोलनलाई थाइल्यान्डको परम्परागत सामाजिक संरचनाका लागि खतरा ठान्दै आएका छन् ।

सधैँ राज्यसत्ता कब्जाको सङ्घर्ष चलेको थाई राजनीतिमा उनीहरूको भूमिका विद्रोह, सडक प्रदर्शन र अदालतका मुद्दाहरूको कथामा प्रस्ट देखिएको छ ।

छयत्तर वर्षीय थाक्सिनलाई राजा महा भाजिरालोङ्गकोर्न र उहाँको परिवारविरुद्ध आलोचना गर्ने कानूनअनुसार १५ वर्षसम्म कैद हुन सक्थ्यो । तर दुई महिनाभन्दा बढी चलेको सुनुवाइपछि उहाँ निर्दोष ठहर हुनुभयो ।

उहाँका वकिल विन्यात च्याटमन्ट्रीले बैङ्ककस्थित फौजदारी अदालतमा पत्रकारलाई भन्नुभयो, “अदालतले प्रमाण पर्याप्त नभएको ठहर गर्दै आरोप खारेज गर्‍यो ।”

तर उहाँको परिवार अझै सङ्कटमा छ । उहाँकी छोरी पेटोङ्टार्न सिनावात्रा हाल प्रधानमन्त्रीको पदबाट निलम्बनमा हुनुहुन्छ । उहाँले अर्को हप्ताको अदालतको फैसला पछि पद गुमाउनु पर्ने सम्भावना छ ।

अदालतबाट मुस्कुराउँदै निस्कनुभएएका थाक्सिनले पत्रकारलाई छोटकरीमा भन्नुभयो, “मामिला खारेज भयो ।”

उहाँको समर्थनमा करिब एक सय ५० मानिस भेला भएका थिए । तीमध्ये ६६ वर्षीय खाना विक्रेता कमल ओराहन्तले भन्नुभयो, “अदालतले राम्रो काम गर्‍यो । तर उहाँलाई अन्य तरिकाले परास्त गर्न खोज्ने केही विरोधीहरू अझै छन् भन्ने मलाई लाग्छ ।”

यो मुद्दा थाक्सिनले दशकौँ अघि दक्षिण कोरियाली मिडियामा दिनुभएको टिप्पणीबाट सुरु भएको हो । ती टिप्पणी उहाँले आफ्नी बहिनी यिङलकलाई सन् २०१४ मा अपदस्थ गर्ने सैन्य कूसँग जोडिएका थिए ।

लेज–माजेस्टे कानून यति कडा भएकाले, एएफपीले थाक्सिनका ती भनाइहरू उद्धृत गरेर रिपोर्ट गर्न सकेको छैन, किनभने त्यसो गर्दा आफैँमा आपराधिक आरोप लाग्न सक्छ ।

– वर्षौंको सङ्घर्ष –

सन् २००० को दशकमा दुई पटक प्रधानमन्त्री बनेका थाक्सिन सैन्य कूपछि अपदस्थ हुनुभयो र करिब १५ वर्ष निर्वासनमा बस्नुभयो । अन्ततः सन् २०२३ अगस्टमा उहाँ थाइल्यान्ड फर्किनुभयो ।

उहाँ फर्किएको दिन नै उहाँको परिवारको फेउ थाई पार्टीले पुराना विरोधीहरूसँग मिलेर गठबन्धन सरकार गठन गरेको थियो । यसलाई धेरैले गुप्त सम्झौतासँग जोडेर हेरेका थिए ।

थाक्सिन फर्किएलगत्तै भ्रष्टाचार र पदको दुरुपयोगका मुद्दामा उहाँलाई आठ वर्षको जेल सजाय सुनाइएको थियो । तर जेलमा राख्नुको सट्टा स्वास्थ्य समस्याका कारण उहाँलाई प्रहरी अस्पतालको निजी कोठामा राखियो ।

छिट्टै राजाले सजाय घटाएर एक वर्षमा पु¥याउनुभयो । त्यसपछि वृद्ध कैदीहरूको प्रारम्भिक रिहाइ कार्यक्रममा सन् २०२४ फेब्रुअरीमा उहाँ स्वतन्त्र हुनुभयो ।

तर यसरी छुटेका कारण अब अर्को कानूनी विवाद चर्किएको छ । आलोचकहरूले उहाँ जेलको कोठरीमा कहिल्यै नबसेको र छिट्टै छुट्न योग्य नभएको दाबी गरेका छन् । यो मुद्दा सेप्टेम्बर ९ मा टुङ्गिनेछ ।

थाइल्यान्डमा लेज–माजेस्टे कानूनलाई आपराधिक संहितामा धारा ११२ भनिन्छ । विशेष गरी सन् २०२० को सरकारविरोधी आन्दोलनपछि यसअन्तर्गत मुद्दा दर्ता तीव्र रूपमा बढेका छन् । केही प्रदर्शनकारीहरूले राजतन्त्रको खुलेर आलोचना गरेका थिए ।

थाई मानव अधिकार वकिलहरूको समूहका अनुसार विगत पाँच वर्षमा मात्रै धारा ११२ अन्तर्गत दुई सय ८० भन्दा बढी व्यक्तिमाथि मुद्दा दायर भएको छ ।

यस कानुनअनुसार राजा, रानी, उत्तराधिकारी वा राजप्रतिनिधिलाई अपमान गर्ने, बदनाम गर्ने वा धम्की दिने जो कोहीलाई १५ वर्षसम्म कैद हुनसक्छ ।

मानव अधिकार समूह र आलोचकहरूका अनुसार यो कानूनलाई अहिले यति व्यापक रूपमा प्रयोग गरिएको छ कि असहमति र वैध बहसलाई दबाउने हतियार बनाइएको छ ।रासस