सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ ।
कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबिच सरकार सञ्चालनका विषयमा मतभेदको चर्चाबिच देउवालाई भट्न मुख्यमन्त्री कँडेल निवासमै पुगेका हुन् । बिहिबार कांग्रेस सभापति देउवालाई भटेको जानकारी कँडेलले सामाजिक सञ्जालमार्फत गराएका छन् । ‘नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री श्रद्वेय शेरबहादुर देउवासँग आज उहाँकै निवास बुढानिलकण्ठमा भेटघाट भयो ।
भेटमा समसामयिक राजनीतिसँगै, कर्णाली प्रदेश सरकारको काम कारवाही, विकास, समृद्वि र सुशासनका सम्बन्धमा छलफल भयो । महत्वपूर्ण सुझाव र मार्गदर्शनका लागि पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री ज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।
कांग्रेस–एमाले मिलेर बनेको कर्णाली सरकारले एक वर्ष पुरा गरेपनि यी दुई दलबिचको सम्बन्ध अझै सुध्रन सकेको छैन । केही समयअघि एमाले संसदीय दलको बैठकले काग्रेसलाई गठवन्धनको मर्मअनुरुप नचलेको आरोप लगाएको थियो । एमालेको आरोपछि दुई दलबिचको प्रदेशस्तरीय संयत्रको बैठकबाट सरकारका कामकारवाहीलाई थप व्यवस्थित लैजाने सहमति भएपछि तत्काललाई सत्ता संकट टरेको थियो ।










