काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले नयाँ पुस्ताले तीजलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको रुपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा उहाँले हिजोका पुस्ताले तीजलाई विभेदको पर्खाल तोड्ने अस्त्र बनाएको र अहिलेको पुस्ताले यसको मौलिकपनको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।
“हाम्रो पुस्ताले विभेदको पर्खाल तोड्न तीज पर्व मनायो”, पूर्वमन्त्रीसमेत रहनुभएकी नेतृ अर्यालले भन्नुभयो, “नयाँ पुस्ताले एकता, महिला सशक्तीकरण र तीजको मौलिक संस्कृतिको संरक्षण गर्दै मनाउनुपर्छ ।”
सचिव अर्यालले तीज पहिले घरको पीडा र वेदना माइतमा आएर साथीसङ्गीसँग मिलेर गीतमार्फत पोख्ने माध्यमका रुपमा रहेकोमा तीज पर्व आँसु र खुसीको पर्व भएको बताउनुभयो ।
नेकपा (एमाले)का प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तीज दिदीबहिनी, साथीहरुसँग भेटघाट गरी दुःखसुख साट्ने पर्वको रुपमा विकास हुँदै आएको र लैङ्गिक विभेद अन्त्यका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले तीजको अवसरमा आयोजित कार्यक्रममा व्यावसायिक पत्रकारिताको विषयमा छलफल गर्दै र दुःखसुख साट्नु सकारात्मक भएको बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सधैँ काममा व्यस्त रहने महिला पत्रकारहरुले एकदिन भए पनि भेटघाट गरेर आपसमा भलाकुसारी गर्ने माध्यममा रुपमा कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
पत्रकार बबिता बस्नेतले महिला पत्रकारका सवाल र समस्यामा पनि यो पर्वका अवसरमा छलफल गर्न सकिने, भेटघाट, खुसी र उत्साहका रुपमा तीज पर्व मनाउनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । रासस










