२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीको शव स्वदेश फिर्ताको प्रक्रिया र उपचाररत कामदारको स्वास्थ्य अवस्थाबारे सदनमार्फत जानकारी गराउन माग गर्नुभएको छ । बैठकको आकस्मिक समयमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गर्नुभएको हो ।

सांसद रमा कोइराला पौड्यालले कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट १२ जनाको निधन भएको र केही व्यक्ति सघन उपचारकक्षमा उपचाररत रहेका बताउँदै यो घटनाबारे सरकारले सदनलाई विस्तृत जानकारी गराउनुपर्ने माग गर्नुभयो । यो घटनापछि त्यहाँको सरकारले कामदारमाथि धरपकड सुरु गरेको समाचारहरू पनि बाहिरिएकाले नेपालीको अवस्था के छ भनेर सरकारले सोधीखोजी गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पर्याप्त नरहेको सांसद पौड्यालले बताउनुभयो ।

सांसद जनार्दन शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरूको शव नेपाल ल्याउनका लागि भइरहेका प्रक्रिया र उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे संसद्मा जानकारीका लागि आग्रह गर्नुभयो । त्यस्तै, बाढीपहिरोका कारण सडक सञ्जाल बिग्रिएको र दुर्घटनाको जोखिम बढेको विषयमा पनि उहाँले संसद्को ध्यानाकर्षण गर्नुभयो ।

अस्थायी आवासगृहमा बसिरहेका जाजरकोटका भूकम्पपीडितलाई वर्षायामले थप प्रभावित भएको बताउँदै सांसद शर्माले पुनर्निर्माणलाई गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले उपसभामुखलाई हटाउनका लागि सत्तारुढ दलले षड्यन्त्र गरिरहेका आरोपसमेत लगाएका छन् । सांसद सन्तोष परियारले उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्नेगरी सत्तापक्ष दलहरूले गृहकार्य गर्नु दुःखद् रहेको बताउनुभयो । सत्तारुढ दलले ह्वीप जारी गरी हस्ताक्षर सङ्कलन गरेर सांसदहरूको विवेकलाई बन्दी बनाउन नहुने उहाँको धारणा थियो । कार्यपालिकाले व्यवस्थापिकामाथि हस्तक्षेप गरेको भन्दै यस्ता कार्यले लोकतन्त्र नै खतरामा पर्ने परियारले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले उपसभामुखलाई महाअभियोग लगाउनका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले खाली कागजमा हस्ताक्षर गराएको आरोप लगाउनुभयो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन नगर्ने वर्तमान सरकारले उपसभामुखसँग जोडिएको पुरानो विषयलाई बाहिर ल्याएर साना दललाई हतोत्साही गरिरहेको उहाँको भनाइ छ ।

संवैधानिक निकायमा आफू अनुकूलका व्यक्ति नियुक्ति गर्न संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन सरकारले उपसभामुख रानालाई पदमुक्त गर्न षड्यन्त्र गरिरहेको समेत सांसद कार्कीले आरोप लगाउनुभयो ।

आकस्मिक समयमा सांसद महेशकुमार बर्तौलाले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ मा चट्याङ लागेर एक जनाको मृत्यु र आठ जना घाइते भएका विषय सदनमा उठाउनुभयो । चट्याङलगायत विपद्जन्य घटनामा मृत्यु भएका परिवारलाई सरकारबाट उपलब्ध गराइने राहत रकम बढाउनुपर्ने माग उहाँले राख्नुभयो ।

सांसद रुक्मिणी राना बराइलीले पछिल्लो समय महिला हिंसाका घटना बढिरहेको भन्दै महिला हिंसा नियन्त्रण गर्न प्रभावकारी कानुन कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला हिंसाका घटनाबारे सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेन्द्रराय यादवले सर्लाही जिल्ला हरिपुर्वा नगरपालिकामा असुरक्षा बढेको बताउँदै त्यहाँ इलाका प्रहरी कार्यालय स्थापना गर्ने र शान्ति सुरक्षा कायम गर्न सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै, तराईका क्षेत्रमा अहिले पनि खानेपानी र सिँचाइको समस्या कायम रहेको उहाँले उल्लेख गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले हरिपुर्वामा पूर्वशिक्षक रामपुकार रायको गोली हानेर हत्या भएको विषय संसद्मा उठाउँदै नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गर्न माग गर्नुभयो । सत्तारुढ दुई ठूला दलले साना दललाई तर्साइरहेका उहाँले आरोप लगाउनुभयो । न्याय पालिकामा सरकारको हस्तक्षेप बढेको उहाँको आरोप छ ।

सांसद अब्दुल खानले बर्दिया जिल्लामा बाघसहित जङ्गली जनावरको आक्रमणबाट नागरिकले ज्यान गुमाउनेक्रम नरोकिएको बताउनुभयो । बाघको आक्रमण रोक्नका लागि राज्यका निकायबाट गम्भीर पहल गरिनुपर्ने उहाँले माग राख्नुभयो ।

सांसद वासुदेव घिमिरेले हालसम्म दुई सय ५३ पालिकाले मात्रै भूउपयोग नीति बनाएका जनाउँदै तीबाहेकका अन्य पालिकाले भूउपयोग नीति लागू नगर्दा जमिनको कित्ताकाट खुल्न नसकेको बताउनुभयो । भूउपयोग नीति कार्यान्वयनका लागि स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले सहजीकरण गरिनुपर्ने उहाँले धारणा राख्नुभयो ।

आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै मन्त्री सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।