२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सामा निषेधाज्ञा र सेना परिचालन



अ+ अ-

 
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभर निषेधाज्ञा जारी गर्दै सेना परिचालन गर्ने भएको छ । मंगलबार साँझ ८ बजेदेखि त्यहाँ निषेधाज्ञाका साथै सेना नै परिचालन गर्ने निर्णय भएको हो । यसअघि मंगलबार अपरान्ह ५ बजेपछि त्यहाँ निषेधाज्ञा गर्ने निर्णय भएको थियो । तर पनि निषेधाज्ञाको अवज्ञा गरेर मानिसहरु बाटोमा निस्किएपछि त्यहाँ सेना नै परिचालन गर्ने निर्णय भएको बताइएको छ ।  

पर्सामा आज एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।