काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सत्तापक्षको बैठकमा सहभागी भएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको ४५ दिनपछि नाउपाका अध्यक्ष अध्यक्ष रञ्जिता श्रेष्ठ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेकी हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले बोलाएपछि उनी बैठकमा उपस्थित भएकी हुन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा सत्तापक्षको बैठक बसेको छ । सत्तापक्षको बैठकमा कांग्रेस, एमाले, लोसपा, जनमत पार्टी लगायतका नेता सहभागी छन् ।
प्रतिनिधि सभामा नाउपाको ४ सिट छ । दुई तिहाइ बहुमत पुर्याउने कसरत गरिरहेको कांग्रेस र एमालेले नाउपालाई समेत बैठकमा बोलाएको हो ।
नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ । यदि उपसभामुखलाई हटाउने हो भने तत्काल बहाल रहेको २७४ को दुई तिहाइ अर्थात १८३ जना सांसद आवश्यक पर्छ ।










