१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता
अ अ+ अ-

दाङ । दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पु¥याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए । जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौँ सन्तान हुन् । कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अतिसघन कक्ष (एनआइसियु) मा राखेर उपचार भइरहेको छ ।

अहिले अनिता पनि दाङको तुलसीबाल अस्पतालको आइसोलेशन वार्डमा हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिकाकी ३५ वर्षीया अनिता यादवका ६ दिनअघि जन्मिएका जुम्ल्याहा छोरीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । यसअघि उहाँका दुई छोरी र दुई छोरा छन् । जुम्ल्याहा छोरीको स्वास्थ्यमा सुधार आएको खबरले अनिताले सुत्केरीपूर्वको लामो तथा कष्टपूर्ण हिँडाइ र त्यो अवस्थाको क्वारेन्टाइन बसाइँका सबै पीडा बिर्सन थाल्नुभएको छ । 

अनिता भारतको बलरामपुर जिल्लाको विलौनीस्थित माइतीघरबाट पैदलै हिँडेर गत बिहीबार घर आइपुग्नुभएको थियो । उहाँ तीनदिनसम्म १५ किलोमिटर दूरीको जङ्गल हुँदै स–साना पहाड र कच्ची तथा जोखिमपूर्ण बाटो लगातार करिब १२० किलोमिटरको दूरी पैदलै हिँडेर तुलसीपुर उपमहानगरपालिका–१३ स्थित आफ्नो घर पुग्नुभएको हो । माइतीबाट यो बाटो एक्लो यात्री बनेर उहाँ घर पुग्नुभएको थियो । 
 
कोरोना महामारीका कारण भारत र नेपालमा पनि लकडाउनका कारण उहाँलाई यस्तो सास्ती भएको थियो । गर्भवती अनिता यस्तो जोखिममा हिँडेरै घर त पुग्नुभयो तर घरमा खानपिन गर्न र केही समय आराम गरी बस्न भने पाउनुभएन । घरभित्र पस्न नपाउँदै गाउँलेले थाहा पाए र भारतबाट आएको भन्दै  उपमहानगरपालिकालाई खबर गरिदिए । एकैछिनमा उपमहानगरपालिकाको टोली आयो र उहाँलाई तुलसीपुरस्थित क्वारेन्टाइनमा लगेर राखियो । 

“पेटमा जम्ल्याहा रहेछन्, त्यत्रो लामो बाटो हिँडेर आएँ तर घरमा बस्न पाइनँ, भोक लागेको बेला केही खाएर आराम गर्न पनि पाइनँ । त्यति दुःख कष्ट गरी धेरै समयपछि घरमा आइपुगेकी थिएँ, श्रीमान् र छोराछोरीको मुख देख्न पनि पाइन । म निकै रोएँ तर उहाँहरुले सम्झाउनुभयो । पछि यही क्वारेन्टाइनमा ल्याएपछि खाना र बास पाएँ, एकरात आराम पाएँ । त्यो रात कसरी बित्यो मलाई थाहा भएन तीन दिनदेखि हिँडेको र यो अवस्थाको शरीर निकै गलेको रहेछ”, उहाँले भन्नुभयो ।  

शुक्रबार उहाँलाई सुत्केरी व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल पु¥याइयो । जुम्ल्याहा छोरी जन्मिए । तर निकै कम तौलका जन्मिए । यादव र उहाँका नवजात शिशुलाई गत शनिबार बिहानै प्रादेशिक अस्पतालले सिफारिस गरी तुलसीबाल अस्पताल पठायो । अहिले दुई सन्तान सोही अस्पतालको एनआइसियुमा छन् भने आफू त्यहीको आइसोलेशन कक्षमा ।

राप्ती प्रादेशिक अस्पतालका प्रसूति रोग विशेषज्ञ डा विनोद सिंहले भन्नुभयो, “उहाँ आफ्नो माइतीघर भारतको बलरामपुरबाट धेरै कष्टपूर्ण पैदल यात्रा गरी आउनुभएको रहेछ । व्यथा लागेपछि अस्पताल ल्याइयो जाँच भयो तर शरीरमा तागत पटक्कै थिएन । रगतको मात्रा निकै कम देखिएपछि शल्यक्रियाको तयारी भयो । रगतको व्यवस्था पनि भयो । तर पछि साधारणरुपमा (नर्मल डेलिभरी) बाट नै जुम्ल्याहा शिशु जन्मिए ।” 
   
गत माघ महिनाको पहिलो हप्ता श्रीमान्सँगको सामान्य विवादपछि अनिता माइतीमै बस्नुभएको थियो । मसुरो र गहुँ काट्ने समय भएकाले त्यहाँ काम पाएको बताउने अनिताले सुत्केरी हुने समय आएपछि माइतीमा बच्चा जन्माउन हुँदैन भन्ने भयो र चार सन्तानको यादले पनि सतायो । त्यसैले उहाँ घर फर्किनुभयो । तर यो बेला पहिलेजस्तो सजिलो थिएन । “यस्तो अवस्थामा छु, मानिससँग हारगुहार गरेर पनि जान्छु भन्ने लाग्यो र बाटो लागेँ । घरपरिवारको यादले पनि सताउन थालेपछि हिँडेर भए पनि घरमै जान्छु भनेर निधो गरेर हिँडेको हुँ”, उहाँले भन्नुभयो ।  

उहाँले भन्नुभयो, “जङ्गलको यात्रा गर्दा वन्यजन्तु, सर्पको डरको कुनै प्रवाह गरिनँ, सुत्केरी हुने समय नजिक आएको छ कतै जङ्गलमा  व्यथा लागेपछि के गरुँला भन्ने त्रास त थियो तर छिटोछिटो गरी  हिँडे । भोक लाग्यो, तिर्खा लाग्यो, खुट्टा भत्भती पोल्न थाले तर पनि कतै नरोकिई सकीनसकी हिँडेरै यहाँ पुगेँ”, तुलसीबाल अस्पालमा उहाँले भन्नुभयो । पहिलो दिन नौसरा गाउँका एक व्यक्तिको घरमा बास मागेको र त्यसको भोलिपल्ट राप्ती नदी तरेर नजिकै रहेको घरमा बास मागेको बताउनुभयो । त्यस घरको एक कोठामा एकरात बिताएर तेस्रो दिन आफ्नो घर पुगेको उहाँले बताउनुभयो । 

“क्वारेन्टाइनमा ल्याइएको भोलिपल्ट बिहान १० बजे पेट दुख्न थालेपछि जानकारी गराएँ, एकैछिनमा त्यहाँबाट गाडीले प्रादेशिक अस्पतालको प्रसूति कक्षमा लग्यो, त्यहीँ शिशु जन्मिए त्यसपछि यहाँ आएको हो”, उहाँले बताउनुभयो ।

तुलसीबाल अस्पताल तुलसीपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा किशोर खत्रीले विगत चार दिनदेखि सुत्केरी आमालाई आइसोलेशन र नवजात शिशुलाई एनआइसियुमा राखेर उपचार गरिएको बताउनुभयो । उहाँले आमा र जुम्ल्याहा दिदीबहिनीको उपचार शुल्क आफूले नलिने यसअघि नै घोषणा गरिसक्नुभएको छ । अनितालाई क्वारेन्टाइमा नल्याएको भए आमा र शिशुको ज्यानसमेत जोखिममा रहेको डा खत्रीले बताउनुभयो ।

सुत्केरी र उहाँका श्रीमान्को अस्पताल बसाइँको खानाको व्यवस्था उपमहानगरपालिकाले  गरेको छ । डा खत्रीका अनुसार दुवै बच्चाको तौल सामान्यभन्दा धेरै कम भएकाले एनआइसियुमा राखेर उपचार गरिएको हो । आज ६ दिनभयो उनीहरु जन्मिएको । अहिलेसम्म दुवै शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको डा खत्रीले बताउनुभयो । त्यस्तै सुत्केरीको पनि आज धैरै सुधार भएको उहाँको भनाइ छ । 

सुत्केरी अनिताको आइतबार कोरोना भाइरसको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आइसकेको छ भने नबजात शिशुको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

एनआइसियुको दैनिक खर्च १४ हजार लाग्ने भए पनि शिशुले सहजै आमाको दूध चुस्न सक्ने नभएसम्म  त्यही राखेर उपचार गरिने डा खत्रीले बताउनुभयो । शिशु जन्मेको ६ दिन भयो तर अनिताले अझै ती शिशुलाई आफ्नो काखमा राख्न पाउनुभएको छैन । अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी यादवलाई मङ्गलबार पनि रगत दिइएको थियो । अनिता भन्नुहुन्छ, “पहिला त म घर बस्न नपाएकामा निकै रोएँ तर त्यो क्वारेन्टाइनमा मलाई नल्याएको भए यति खर्च गरेर कसले सुत्केरी गराउँथ्यो होला र भन्ने लागेको छ । मेरो र जुम्ल्याहा छोरीको ज्यान खतरामा रहेछ । मलाई अहिले डाक्टर नै भगवानजस्तै लागेको छ । उहाँहरुको यो ऋण म कसरी तिरौँ भन्ने लागेको छ ।”

“यहाँ म अब बोल्नसक्ने हिँडेर शौचालय जान सक्ने भएकी छु । अस्पतालमा  स्वास्थ्यकर्मीले पटक पटक आएर हेरविचार, खाना नास्ता दिनुभएकाले राम्रो भएको छ । अहिले यहाँ मत सबै ठीक भएकी छु तर मेरो मनले घरमा रहेका छोराछोरीलाई सम्झिरहेको छ । छिटो सन्चो भएर जानपाए हुनेथियो भन्ने लागेको छ”, उहाँले भन्नुभयो । 

तुलसीबाल अस्पताल यस जिल्लाको बालबालिका तथा प्रसूति सेवाका लागि सुविधासम्पन्न अस्पताल हो । यसका सञ्चालक तुलसीपुर निवासी बालरोग विशेषज्ञ डा खत्रीले देशमा आइपरेको यस्तो असहज परिस्थितिमा पनि यी सुत्केरी र शिशुको ज्यान बचाउन सकेकामा खुशी लागेको बताउनुहुन्छ । उहाँले यसअघि पनि यस्ता गरिब तथा निमुखाको उपचार खर्च अस्पतालले मिनाहा गर्ने गरेको सुनाउनुभयो । यस अस्पतालले यसअघि पनि विपन्न वर्गका नागरिकका बालबालिकालाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा दिँदै आएको छ । सो अस्पतालमा अन्य चारजना विशेषज्ञ चिकित्सक पनि कार्यरत हुनुहुन्छ । 

अस्पतालका प्रमुख व्यवस्थापक कमला बस्नेतले यस्तो महामारीको बेलामा विपद्मा परेकालाई सहयोग गर्न पाउँदा अस्पताल परिवार नै खुशी रहेको बताउनुभयो । उहाँले सुत्केरी हुने दिन नै नजिकिएको एकजना महिला तीन दिनको हिँडाइपछि यसरी जुम्ल्याहा बच्चा जन्माएको समाचार सुन्दा नै आफूलाई निकै पीडाबोध भएको भन्दै यो सबै अवस्था थाहा पाएपछि मानवताको नाताले पनि सहयोग गर्न मन लागेको बताउनुभयो । अस्पतालले आमा र शिशु पूर्णरुपमा स्वस्थ नहुँदासम्म डिस्चार्ज नगर्ने जनाएको छ । 
  
अनिताका ४५ वर्षीय श्रीमान् तिलकराम यादवले अब जुम्ल्याहा छोरीलाई कसरी पालन पोषण गर्ने भन्ने चिन्ता रहेको बताउनुभयो । उहाँले श्रीमती र छोरीहरुको राम्रो स्याहार गर्ने बताउनुभयो । अनिता मुस्लिम समुदायकी छोरी हुन् । उनका श्रीमान् तिलकराम पनि भारतको बलरामपुरका स्थायी बासिन्दा हुन् । उहाँहरुको विसं २०५८ मा बिहे भएको थियो । हाल उहाँहरुले तुलसीपुर उपमहानगरपालिकाको–१३ स्थित सास्स खुट्टीको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बस्दै आउनुभएको छ ।