२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ वर्षपछि गाउँपालिकाको भवन बन्दै



अ+ अ-

मुस्ताङ। यहाँको थासाङ गाउँपालिकाको प्रशासकीय भवन बनाउन आठ वर्षपछि बाटो खुलेको छ । लामो समयदेखि प्रशासकीय भवनका लागि केन्द्रको विषयमा विवाद हुँदा काम अगाडि बढ्न सकेको थिएन ।

केन्द्रको विवाद समाधानसँगै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी बुधबार भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष प्रदीप गौचन र उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा प्रशासकीय भवनको शिलान्यास गर्नुभएको हो ।

आफ्नै भवन नभएपछि यहाँ २०७३ फागुन १६ गतेदेखि गाउँपालिका–२ कोबाङबाट भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो । अब भने आगामी विसं २०८३ फागुन मसान्तसम्म भवन निर्माण गर्ने गरी काम अगाडि बढेको वडा नं २ का अध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत महिनामै शर्मा अनिष एन्ड आशिष जेभीसँग रु आठ करोड ४९ लाख दुई हजार ६१ को लागतमा भवन निर्माण सम्झौता गएको थियो ।

भवन नेपाल सरकार सहरी विभाग स्थानीय पूर्वाधार आयोजनाको ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत लगानीमा निर्माण हुनेछ । गाउँपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जसमा तीनतले सुविधा सम्पन्न भवन बन्नामा सभाहलसहित ३० वटा कोठा र परिसरमा आवश्यक पूर्वाधार निर्माण गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भवन निर्माणका लागि स्थानीय समाजसेवी, बुद्धिजीवी र अगुवा व्यक्तित्व विष्णु शेरचनले डेढ रोपनी, प्रदीप गौचन र प्रवीण गौचनले तीन रोपनी, दुरेन्द्र शेरचनले एक रोपनी र रत्न शेरचनले आधा रोपनी जग्गा निःशुल्क दान गर्नुभएको थियो ।”

गाउँपालिका अध्यक्ष गौचनले पालिकाको भवन समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्नुभएको थियो । रासस