१६ असार २०८३, मंगलवार
,
Latest
संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन



अ+ अ-

घोराही । पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो ।

गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउनुहुन्छ ।

करिब तीन दशक बढी समयदेखि सारङ्गी बाजा बनाउँदै आउनुभएका डाइवर पछिल्लो समय आफ्नो पेसा सङ्कटमा परेको बताउनुहुन्छ । सारङ्गी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको भन्दै उहाँले भन्नुभयो, “पहिले सारङ्गी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारङ्गी बिक्नै छाडिसकेको छ । बनाउने काममात्र होइन, अब त कोठामा सजाएर राख्ने काम मात्र भएको छ ।”

डाइवर गन्धर्वका अनुसार समय परिवर्तनसँगै गन्धर्वहरूले गीत गाउन र सारङ्गी बजाउन छाड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ । पहिलेजस्तै सबैले गीत गाउने र सारङ्गी बनाउने गरे त राम्रै हुन्थ्यो होला तर अहिले गाउँमा सारङ्गी बजाउन जान्ने सीमित मानिसमात्र छन् । गाउँमा सारङ्गी बजाउने मानिस नहुँदा बिक्री पनि हुन छाडेको उहाँले बताउनुभयो । गाउँमा सारङ्गी बजाउने कोही भए पो बनाएका सारङ्गी बिक्थे । अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन् । बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन । पहिले महिनामा सात–आठवटा सारङ्गी बिक्री हुने गरे पनि अहिले दुई–तीन जतिमात्र बिक्री हुने गरेको बताउनुहुन्छ ।

त्यसैगरी, सारङ्गी बनाउने कलामात्र सङ्कटमा परेको होइन, आवश्यक सामग्रीको अभाव पनि मुख्य समस्या बनेको छ । सारङ्गी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी पाउनै समस्या भएको उहाँ बताउनुहुन्छ । जिल्लामै सारङ्गी बनाउने आफूमात्र भएको भन्दै उहाँले भन्नुभयो, “आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारङ्गी बनाउन काठमात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ ।”

सामुदायिक वनका कारण जङ्गलमा जान नपाइने र चिनेका काष्ठ उद्योगबाट खमारी काठ ल्याएर सारङ्गी बनाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार साना आकारका सारङ्गी रु चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन् भने ठूला र आकर्षक डिजाइनका सारङ्गी रु नौदेखि १० हजारसम्ममा बिक्री हुने गरेको डाइवर बताउनुहुन्छ ।

सारङ्गीको महत्व र संरक्षण घट्दै जाँदा सारङ्गी बजाएरै जीविका चलाउनेलाई चिन्ता लाग्न थालेको छ । सारङ्गी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सृजना हुने गन्धर्व समुदायका मानिस बताउँछन् । रासस