काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री दुई दिने औपचारिक भ्रमणका लागि आज बिहान ९ बजे काठमाडौं आइपुगेका हुन् ।
उनी विमानस्थलबाट अहिले सोल्टी होटलमा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिश्री नेपाल आएका हुन् । उनको भ्रमणको कार्यतालिकाबारे मन्त्रालयले औपचारिक जानकारी दिएको छैन ।
विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
विदेशसचिव मिश्रीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन् ।
मिश्रीको भ्रमणका क्रममा नेपाल–भारतबीच सचिवस्तरीय द्विपक्षीय वार्ता समेत हुनेछ ।
ओली प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । परराष्ट्रका एक अधिकारीका अनुसार मिस्रीको नेपाल भ्रमण प्रधानमन्त्री ओलीको भारत भ्रमणको आधार तथा माहौल तयार पार्नमा केन्द्रित हुनेछ ।
विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्ताले प्रधानमन्त्री तहमा कुन–कुन एजेन्डालाई प्रवेश गराउने र हस्ताक्षर हुन सक्ने विषयहरूको प्रारूप तयार पार्ने बताइएको छ ।
भारत भ्रमणका क्रममा मोदी र ओलीबीच यस पटक दिल्लीबाहिर द्विपक्षीय वार्ताको तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बोधगयामा दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ताको तयारी छ । बिहार राज्यको बोधगया सहर बौद्ध धर्मका अनुयायीहरूका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ । बुद्धले ज्ञान प्राप्त गरेको स्थलका रूपमा बोधगया चिनिन्छ ।
मिस्री भोलि नै दिल्ली फर्किनेछन् ।










