७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’
अ+ अ-

भोजपुर । भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् ।

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो ।

विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई जीवनोपयोगी सीप दिने उद्देश्यले अभ्यासमार्फत शिक्षण गराइँदै आएको छ ।

“हामीले विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा जोड दिएका छौँ”, प्रधानाध्यापक रेग्मीले भन्नुभयो, “अहिलेको आवश्यकता प्राविधिक शिक्षाको हो । अध्ययन सकेपछि कुनै न कुनै कृषि उद्यममा संलग्न होस् भन्ने उद्देश्यले यो पद्धति अपनाएका हौँ ।” शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको उहाँको भनाइ छ ।

विगतमा राज्यबाट सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम निकै उपयोगी भए पनि हाल त्यो कार्यक्रम हटाइएकाले विद्यार्थी मारमा परेको उहाँको टिप्पणी छ । यस्ता उपयुक्त कार्यक्रमलाई पुन: निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

कृषि विषयका विद्यार्थीले कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी १६ वटा विषय अध्ययन गरिरहेका छन् । कृषिअन्तर्गत प्राविधिक शिक्षा पढ्न चाहनेले कक्षा ९ बाटै प्रवेश गर्नुपर्ने विद्यालयका बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले जानकारी दिनुभयो । व्यावहारिक अभ्यास कार्यस्थलमा विद्यार्थीलाई आधुनिक तरिकाले धान, मकै, विभिन्न जातका तरकारी, च्याउखेती, मौरीपालन, माछापालनलगायतका बारेमा ज्ञान दिइन्छ । साथै जैविक विषादी निर्माण, कृषि बालीमा लाग्ने रोग, कीरा र उपचार पद्धतिबारे पनि अभ्यास गराइन्छ । “हामीले विद्यार्थीलाई सबै खालका खेती प्रणालीको अभ्यासमूलक ज्ञान दिँदै आएका छौँ”, प्रशिक्षक गिरीले भन्नुभयो, “विद्यार्थीले यहाँ सिकेको सीपले भविष्यमा आत्मनिर्भर जीवनयापन गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।”

आफ्नै विद्यालयमा प्राविधिक शिक्षा पाउँदा सहजता भएको कक्षा १२ की छात्रा विविहाङमा राईले बताउनुभयो । अभ्यासका माध्यमबाट शिक्षण हुने भएकाले सीप आर्जन गर्न सजिलो भएको उहाँको भनाइ छ । विसं २०७४ देखि बाली विज्ञान व्यावहारिक शिक्षा सुरु भएको विद्यालयले जनाएको छ । हाल यहाँ ३२ जना विद्यार्थी बाली विज्ञान प्राविधिक शिक्षा लिइरहेका छन् । रासस