२० श्रावण २०८३, बुधबार
,
Latest
कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह



अ+ अ-

काठमाडौँ।  दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको धारा ४० (दलितको हक) को व्यवस्था कार्यान्वयनका लागि यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह गरेका छन् ।

दलित महिला सङ्घ (फेडो) ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरूले संविधान जारी भएको तीन वर्षभित्रमा मौलिक हकअन्तर्गतका व्यवस्था कार्यान्वयनका लागि कानुन बनाउनुपर्ने भनिए पनि दश वर्षसम्म पनि दलितसम्बन्धी कानुन बन्न नसकेको भन्दै आपत्ति जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले दलितसम्बन्धी एकीकृत कानुनको मस्यौदा तयारीका निम्ति विभिन्न राजनीतिक दलमा आबद्ध दलित नेता, सांसद, दलित नागरिक समाज र विज्ञहरूबीच पर्याप्त छलफल हुनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वराज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले एकीकृत कानुन निर्माणका लागि सबै राजनीतिक दलको सहयोग आवश्यक रहेको भन्दै त्यसरी बन्ने कानुनमा दलित महिलाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का उपाध्यक्ष दुर्गा सोबले संविधानको धारा ४० मा भएका सबै व्यवस्था कार्यान्वयनका लागि एकीकृत कानुन बन्नुपर्नेमा दश वर्षसम्म पनि त्यसमा ध्यान नदिनु आपत्तिजनक विषय भएको बताउनुभयो । उहाँले सदियौँदेखि हरेक दृष्टिले उत्पीडनमा रहेका दलितको उत्थानका लागि राजनीतिक दलहरू गम्भीर हुन नसकेको भन्दै अब दलितसम्बन्धी एकीकृत कानुन निर्माणमा विलम्ब गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गणेन्द्र बराइली र हर्कमाया विश्वकर्मा, राष्ट्रियसभा सदस्य पदम परियार र फेडोका महासचिव रेणु सिजापतिलगायतले दलितसम्बन्धी कानुन निर्माण गर्दा दलित समुदायभित्रका महिला र मधेसी दलितलगायतका सवाल सम्बोधन गरिनुपर्ने धारणा राख्नुभयो ।  रासस