महालेखा परीक्षक तोयम रायाले संवैधानिक निकायहरुमा पनि धेरै समस्याहरु रहेको बताउनुभएको छ ।
बुधवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले समस्याहरुको चाङ भएपनि आफूहरुका गुनासाहरु सम्बोधन गर्ने अहिलेसम्म कोही नभएको बताउनुभएको हो । अहिले संवैधानिक निकायको प्रशासनिक स्वायततामै धेरै समस्या रहेको रायाले बताउनु भयो । महालेखा परीक्षक कार्यालय संवैधानिक निकाय भएपनि लेखापरीक्षकको मूल्यांकन मुख्यसचिवले गर्ने गरेकोमा रायाले प्रश्न उठाउनु भयो । उहाँकाअनुसार संवैधानिक निकायका प्रमुखले आफ्ना कर्मचारीको मूल्यांकन गर्न नपाउनु ठिक होइन । यसरी स्वायतत्ता मिच्दा लेखापरीक्षकले राम्रो नगर्दा उसलाई सजग बनाउन समेत आफूले नपाएको गुनासो गर्नुभयो ।
रायाले त्यस्तो ऐनहरु संसदले बनाइदिएको भन्दै सांसद्हरुप्रति आक्रोश पोख्नुभयो । पार्टीको ह्विपमा सांसद्हरुले कानून नपढी पास गर्दा संवैधानिक निकायको स्वायत्ततामाथि नै प्रश्न उठ्ने स्थीति आएको उहाँको भनाइ छ । रायाले संवैधानिक निकायभित्रका समस्याका बारेमा संसदीय समितिहरुले छलफल चलाउन पर्ने बताउनुभयो । उहाँले एकएक समस्याहरु आफूले बताइदिने बताउनु भयो । अहिलेसम्म संवैधानिक निकायभित्र रहेका समस्याहरु सुल्झाउने कोही नभएको बताउँदै महालेखा परीक्षक रायाले कानून बनाउने निर्माताहरुले गम्भीर रुपमा सोच्ने बेला आएको बताउनु भयो ।
महालेखा परिक्षक रायाले भन्नुभयो–‘संवैधानिक निकायहरुका आआफ्नै समस्याहरु छन् । प्रशासनिक स्वायत्तता खोसिएको छ । कर्मचारीको सेवा सञ्चालन, लेखापरीक्षण सेवा भन्ने छ हामीसँग । त्यो लेखापरीक्षण सेवाको कर्मचारी महालेखा परीक्षकको कार्यालय भन्दा अन्त कतैपनि सरुवा हुन्न । त्यसको सेवा सञ्चालन अर्थमन्त्रालयले गर्छ । त्यो महालेखा परीक्षकलाई दिएको भए हुन्थ्यो । अर्को कुरा लेखापरीक्षकको कार्यसम्पादन मुल्यांकन मैले (महालेखा परीक्षक) ले गर्दिन । लेखापरीक्षकको कार्यसम्पादन मूल्य सचिवले गर्नुहुन्छ । सरकारले त्यो छोडेकै छैन् । कर्मचारीले राम्रो गर्दा त ठिक छ तर कहिँलेकाही नराम्रो गर्दा म कहाँ गएर कराउने हो ?’
उहाँले सार्वजनिक लेखा समितिमा समेत समस्याबारे जानकारी गराउँदा समेत अहिलेसम्म केही नभएको बताउनु भयो । रायाका अनुसार संवैधानिक निकायका प्रमुखहरुले नै यसरी गुनासो गर्दै हिड्नुपर्ने अवस्था आउनु बिडम्बनापूर्ण रहेको बताउँदै आम नागरिकले गुनासो गर्नुलाई समेत अस्वभाविक रुपमा लिन नहुने बताउनु भयो । आम नागरिकले सोसल मिडियामार्फत गाली गरेर भनेर के भन्ने भन्दै रायाले हरेक विषयमा गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको उहाँको भनाई रहेको छ ।










