काठमाडौँ। गाईजात्रा पर्वको अवसरमा आज काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मदन स्मृति उद्यानमा वृक्षारोपण गरिएको छ ।
क्याम्ब्रिज इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल तथा कलेजको पहलमा सो उद्यानमा करिब पाँच सय बिरुवा रोपिएको हो । जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई ध्यानमा राख्दै सामाजिक र वातावरणीय उत्तरदायित्व निर्वाह गरी वृक्षारोपण गरिएको विद्यालयका संस्थापक प्राचार्य तथा क्याम्पस प्रमुख केशवबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँले उक्त कार्यलाई सामुदायिक सहयोगको उत्तम नमूना भएको बताउनुभयो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँका अध्यक्ष केशव लोचन शर्मा, रोटरी क्लब अफ काठमाडौँ कलङ्कीका डा सुलोचना सिग्देल र काठमाडौँ युरेका लियो क्लबका अध्यक्ष निर्मलराज शाहीलगायतको सहभागिता रहेको थियो । वन विभागअन्तर्गतको बीउबिजन प्रयोगशाला, चालनाखेलले बिरुवा उपलब्ध गराउनुभएको हो ।
बिरुवा ढुवानी, औजार तथा अन्य व्यवस्थापन क्याम्ब्रिज स्कुलले गरेको हो । सो कार्यमा चन्द्रागिरी–१३ तथा स्थानीय प्रहरी बीटले समेत सहयोग गरेको थियो । रासस









