काठमाडौं। बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको आज काठमाडौंमा बैठक बस्ने भएको छ।
राजीनामा दिनुअघि नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
बैठकमा लामा पक्षका १४ जना सांसद सहभागी हुनेछन्। दिउँसो २ बजे बैठकपछि पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको एक सांसदले जानकारी दिए।
पूर्व सहमति कार्यान्वयन नहुने संकेत पाएपछि बैठक बोलाइएको र सहमति कार्यान्वयन नपुगेसम्म बानियाँलाई विश्वासको मत नदिने अडान लामा पक्षले लिएको छ।
एक सांसदले भने, “कांग्रेसको इतिहासमा पहिलोपटक संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो। आफ्नै सरकारलाई विश्वासको मत नदिने घटना पनि सम्भवतः पहिलो पटक हुनसक्छ।”










