तनहुँ। मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ । यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो ।
नेकपा (एमाले) भीमादका अध्यक्षसमेत रहनुभएका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको छ । हाल बजारमा प्रतिकिलोग्राम रु ५०० सम्म थोक मूल्य छ ।
उहाँले भन्नुभयो, “विभिन्न स्थानबाट दुई–तीन क्विन्टल खुर्सानीको माग आइरहेको छ, यस ठाउँमा खुर्सानीखेती सफल बन्दै गएको छ ।” सुरुमा परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित छन् । भीमाद नगरपालिकाले बीउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो ।
नगरपालिकाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए खेतीका लागि अझै सहज हुने व्यावसायिक किसान बताउँछन् । उत्पादित खुर्सानी पोखरा, काठमाडौँ, चितवनजस्ता सहरबाट माग भइरहेको भानुमती नमूना कृषि गाउँका अध्यक्ष रणबहादुर गुरुङले बताउनुभयो ।
पूर्वमन्त्री किरण गुरुङले अकबरे खुर्सानीखेतीबाट किसानमा देखिएको उत्साहले सकारात्मक सङ्केत गरेको बताउनुभयो । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र किसानलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गर्दै लैजाने योजना बनाएका छौँ ।”










