• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

बरभञ्ज्याङ आगलागी नियन्त्रणमा, एक करोड ९० लाख बराबरको क्षति



पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०ः४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा उहाँको दुई तले घर, दुग्ध डेरी, किराना पसल र नगद रु सात लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा रु ५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै उक्त आगलागी छिमेकी रामजीत राई र मनबहादुर राईको घरमासमेत सल्केको थियो । आगलागीमा रामजीत राईको दुई तले घर र घरमा रहेका करिब रु ३५ लाख मूल्यका सम्पूर्ण सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करिब रु पाँच लाख मूल्यको क्षति भएको छ ।

यस्तै मनबहादुर राईको दुई तले घर, उक्त घरमा स्थानीयवासी मेहेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमइई मनि ट्रान्सफर शाखा कार्यालय, मेहेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन् । सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैँची गोदाम तथा रञ्जना राईको टेलर्समा आगलागी हुँदा रु ९३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नाङगीन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नं हेडक्वाटर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउदको कमाण्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो । 

फिदिमबाट गएका दुई वटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । आगलागीमा घरबार गुमाएका छिमेकीको शरणमा बसेका छन् । रासस