३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको धम्कीपछि पनि रुसी तेल किन्न जारी राख्ने भारतको सङ्केत



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बावजुद भारतले रुसबाट तेल किन्न जारी राख्ने सङ्केत गरेको छ ।

भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको र यसलाई तेस्रो देशको चश्माबाट हेर्नु नहुने बताएको छ ।

शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बजारमा तेलको उपलब्धता र विद्यमान विश्वव्यापी परिस्थितिबाट आफ्नो ऊर्जा आवश्यकता सुरक्षित गर्न भारतको व्यापक दृष्टिकोण निर्देशित भएको बताउनुभयो ।

नयाँदिल्लीले रुसी तेल खरिद गरेको कारण भारतबाट आउने सामानमा २५ प्रतिशत भन्सार शुल्क र अतिरिक्त आयात कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि यो टिप्पणी आएको हो ।

यो धम्की अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा युद्धविराम सहमति गर्न असफल भएकोमा रुसप्रति बढ्दो असन्तुष्टता देखाउनुभएको र प्रगति नभएमा नयाँ आर्थिक प्रतिबन्धहरूको धम्की दिनुभएको समयमा आएको हो ।

भारतले सन् २०२२ जनवरीमा रूसबाट प्रतिदिन ६८ हजार ब्यारेल कच्चा तेल खरिद गरेको थियो, तर सोही वर्षको जुनमा तेल आयात प्रतिदिन ११ लाख २० हजार ब्यारेल पुगेको थियो । दैनिक आयात सन् २०२३ मे महिनामा २१ लाख ५० हजार ब्यारेल पुगेको थियो र त्यसबेलादेखि फरक–फरक रहेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाले डाटा एनालिटिक्स कम्पनी केप्लरको तथ्याङ्क उद्धृत गर्दै रिपोर्ट गरेअनुसार आपूर्ति एक समयमा भारतको आयातको झण्डै ४० प्रतिशतसम्म पुगेको थियो, जसले मस्कोलाई नयाँदिल्लीको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बनाएको थियो ।

भारतको दैनिक तेल खपत लगभग ५५ लाख ब्यारेल रहेको छ र त्यसमध्ये झण्डै ८८ प्रतिशत आयातबाट पूरा हुन्छ ।

देशले ऐतिहासिक रूपमा आफ्नो अधिकांश कच्चा तेल मध्यपूर्वबाट किनेको छ, तर सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि यो परिवर्तन भएको छ ।

चीन र अमेरिकापछि विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले पश्चिमी देशहरूले मस्कोलाई सजाय दिन त्यसलाई बहिष्कार गरेपछि छुटमा उपलब्ध रुसी तेल किन्न थालेको हो ।