काठमाडौँ। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो, व्यवस्थित तथा सर्वसुलभ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित ‘गृहमन्त्रीसँग विपद्’ संवादमा उहाँले समयमा पूर्वसूचना दिन सकेमा विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
“विपद् प्रतिकार्यका लागि हामीले काम गरिरहेका छौँ । अझै सबैको सहकार्यमा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो, “अब विपद्को समयमा सर्वसाधारणलाई मोबाइलमा एसएमएस मात्र होइन, फोन नै गरेर पूर्वसूचना दिन जरुरी छ ।”
नेपालमा जुनसुकै समयमा पनि बहुप्रकोपीय जोखिम रहने भएकाले सोअनुसार आवश्यक तयारी थाल्नुपर्ने मन्त्री लेखकको जोड रहेको छ । मित्र राष्ट्रमा देखिएको हिमतालको जोखिमका कारण पनि नेपाललाई असर परिरहेकाले सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन जरुरी रहेको मन्त्री लेखकको भनाइ छ ।
“नीतिगत तथा कानुनी सुधार गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउने हाम्रो योजना रहेको छ, अन्य संस्थागत सुधार गर्ने तयारीसमेत गरिरहेका छौँ,” मन्त्री लेखकले भन्नुभयो ।
विपद्को समयमा उद्धारलाई अझ बढी प्रभावकारी बनाउन निजी क्षेत्रसँग पनि सहकार्य भइरहेको उहाँको भनाइ छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने जनशक्ति तथा साधनस्रोतको व्यस्थापनमा आफ्नो पार्टीको समर्थन रहने धारणा राख्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले प्राधिकरणलाई जनहितमा केन्द्रित गराउन तथा प्राधिकरणका काममा सकारात्मक सुधारका लागि आफ्नो पार्टीको समर्थन रहने उल्लेख गर्नुभयो ।
प्राधिकरणका कार्यकारी प्रमुख इञ्जिनियर दिनेशप्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विपद् विज्ञ वंशीकुमार आचार्यले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा नीतिगत तथा संस्थागत सुधारका क्षेत्रहरू’ विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । रासस










