१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पानीको अभाव र सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक’



अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको सङ्कटलाई समाधान गर्न जलस्रोत विधेयक आवश्यक रहेको बताउनुभएको छ ।

आज राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफलका क्रममा मन्त्री खड्काले पानीको सङ्कट समाधानका लागि जलस्रोत विधेयकलाई शीघ्र पास गर्नुपर्नेमा जोड दिनुभयो ।

“यो मुलुकको हितका लागि बनाइएको कानुन हो, सांसदहरूले दिनुभएको राय सुझावलाई ग्रहण गरेर सरकारले जलस्रोत विधेयकलाई शीघ्र टुङ्ग्याउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले विधेयकमार्फत स्थानीय तह र प्रदेश सरकारलाई सबल र सक्षम बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

समितिका सभापति तुलसाकुमारी दाहालले सबै सांसदहरूले दिनुभएको राय सुझावलाई ग्रहण गरेर विधेयकलाई टुङ्गो लगाइने बताउनुभयो । उहाँले विधेयकमा सच्याउनुपर्ने विषयलाई सच्याएर शीघ्र टुङ्गोमा पुर्‍याउने उल्लेख गर्नुभयो ।

सांसद कृष्णप्रसाद सिटौला, डा वेदुराम भुसाल, डा अन्जान शाक्यलगायतले छुटेका विषयलाई समेटेर विधेयकलाई समृद्ध र समयानुकूल बनाइनुपर्ने बताउनुभएको थियो ।

नेपालको संविधानमा उल्लिखित विकाससम्बन्धी नीति र प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वर्द्धन र उपयोगसम्बन्धी नीतिको कार्यान्वयनका लागि कानुनी तथा संस्थागत व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको हो ।

जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ‘जलस्रोत विधेयक-२०८१’ गत जेठ ५ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । हाल उक्त विधेयक राष्ट्रियसभाको विधान व्यवस्थापन समितिमा दफाबार छलफलका क्रममा रहेको छ । रासस