१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाच



अ+ अ-

काठमाडौँ । चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाचको रौनकता छाएको छ ।

विगत ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएपछि लोप हुन लागेको पशुपति क्षेत्रको एउटा जात्राले पुनर्जीवन पाएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोल स्थानीयवासीको साथ र सहयोगले नै यो जात्रालाई पुनर्जीवन दिन सकिएको बताउनुहुन्छ ।

जयबागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनरुत्थान श्रावण शुक्ल पञ्चमीमा पुनर्जीवन दिइएको हो । कोषका साथै दथु त्वा: बाजं खल: र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको सक्रियताबाट यो पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको स्थानीय श्रीकृष्ण डङ्गोलले बताउनुभयो । श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो जात्रा सञ्चालन हुने जनाइएको छ ।

जात्रा शुभारम्भका दिन जयवागेश्वरीबाट पशुपतिनाथ मूल मन्दिरसम्म लाखे नचाएर जात्रा गरिएको छ । पशुपति क्षेत्रका सबै टोल एवं घरघरमा लैजान चाहनेका लागि प्रदर्शन गर्ने तयारी गरिएको छ । जात्रा चलाउनेमा प्राय: युवा, युवतीको बाहुल्यता देखिन्छ ।

पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दु:ख नदिऊन् र मृतकको आत्माले चिर शान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घरघरमा प्रदर्शन गरिने प्रचलन रहिआएको छ ।

विगतमा ४५ वर्षसम्म रोकिएको यो ऐतिहासिक परम्परालाई अब कहिल्यै लोप हुन नदिने कोष, स्थानीयवासी एवं आयोजक संस्था दथु त्वा: बाजं खल: र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता छ । यो जात्रासँगै पशुपति क्षेत्रमा अन्य जात्रा पनि क्रमश: हुने परम्परा छ ।