२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्ता समितिले अनावश्यक बार्गेनिङ नगरोस्ः अनसनरत प्रमुख भट्टराई



अ+ अ-

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्युनिकरण गर्ने आफ्नो मागहरु पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गर्नुभएको छ ।

आईतवारबाट माईतीघर मण्डलामा सत्याग्रह शुरु गर्नुभएका उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै नागरिकको बाँच्न पाउने हकको आवाज उठाइदिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायत संघसंस्थालाई आग्रह पनि गर्नुभयो ।

उहाँले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बँुदे मागसहित सत्याग्रह बसेको बताउनु भयो । उहाँले अनसनरत स्थानको सुरक्षा व्यवस्था चुस्त बनाउन समेत माग गर्नुभयो । उहाँले आफ्नो सत्याग्रहप्रति राज्यलाई विश्वस्त पार्न प्रतिनिधि पठाईदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म आफ्ना मागहरु पुरा नभए देहत्याग गर्न तयार भएको अवस्थामा आँखा छलेर वा घाम अस्ताएको बेला केही खाएको छैन, खानु हुदैन । केही मुलभूत सिद्धान्त हुन्छन् । त्यसकारण मेरो सत्याग्रहको पारदर्शिताका लागि एक जना प्रतिनिधि पठाईदिन आग्रह गरेको छु । वार्ता समितिलाई पनि मेरो मान्यता, भावना र संस्कारविपरित हुने भएकोले किसान बचाउने, हिमाल बचाउने, पर्यावरण बचाउने र धर्म तथा संस्कृति बचाउने मेरो नेतृत्वको स्थानीय सरकारको भावनालाई ठेस पुग्ने गरी वार्तामा बस्ने संघीय समितिका प्रतनिधिहरुले मेरा ठोस माग पूरा गर्नेबाहेक अनावश्यक बार्गेनिङ नगरिदिन हुन अनुरोध गर्न चाहन्छु ।’

भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको बताउनु उहाँको भनाइ छ ।