३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य



अ+ अ-

लुम्बिनी। बुटवलको ऐतिहासिक पर्यटकीयस्थल मणिमुकुन्द सेन उद्यान(फूलबारी) बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।

पछिल्लो समय उद्यान भ्रमण तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यहाँ आउनेमा भारतीय पर्यटकको सङ्ख्या बढी छ ।

बुटवल उपमहानगरपालिका–२, फूलबारीस्थित उद्यान अवलोकनका लागि आर्थिक वर्ष २०८१/०८२ मा पाँच लाख ४७ हजार १९९ जना पर्यटक आएका छन् । तीमध्ये ७४ हजार ५९२ जना भारतीय पर्यटक र ७१ हजार ६९५ जना विद्यार्थी रहेका मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले जनाएको छ ।

समितिले आज वार्षिक समीक्षा तथा आगामी योजनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष माधवप्रसाद नेपालले अध्ययन केन्द्रका रुपमा उद्यानलाई विकास गर्ने योजना रहेको बताउनुभयो ।

विगतमा भन्दा पछिल्लो समय भारतीय पर्यटक तथा अध्ययन अवलोकन गर्न आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । “यहाँ आउने विद्यार्थीमध्ये केही आफ्नो उच्च शिक्षा अध्ययनका क्रममा उद्यानसम्बन्धी शोधपत्र तयार गर्नका लागि पनि यहाँ आउने गरेका छन्”, अध्यक्ष नेपालले भन्नुभयो ।

उद्यानमा आवश्यक पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणको काम भए पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ । यहाँ रहेको सेनवंशीय भग्नावशेष दरबार संरक्षणसँगै सङ्ग्रहालय निर्माण गर्न चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट रु तीन करोड बजेट विनियोजन भएको छ । यसैगरी उद्यानलाई सांस्कृतिक केन्द्र, रिसर्च सेन्टर तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्ने स्पष्ट खाका तयार गरिएकाले सो कार्यान्वयन भए थप उत्साह बढ्ने अध्यक्ष नेपालको विश्वास छ ।

उद्यानमा नर्सरी उत्पादनलाई व्यावसायिक बनाउँदै, दरबार क्षेत्रको संरक्षण, बगैँचा सौन्दर्यीकरण, नयाँ सेल्फी जोन, ट्रि रेष्टुराँ, सिसाको पुल, जिपलाइनजस्ता संरचनाहरू निर्माणका लागिसमेत अध्ययन र तयारी भइरहेको समितिले जनाएको छ ।

यस्तै, मुनामदन बगैँचाको सौन्दर्यीकरण, बुटिक गार्डेनको अवधारणा, ‘एक्युरियम’, डिजिटल सूचना केन्द्र, राष्ट्रिय–अन्तरराष्ट्रियस्तरमा मिडिया सहकार्य तथा ‘रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालनजस्ता योजना रहेका अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरेले समितिले स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारसँग सहकार्यमा संरचनागत विकास गरिरहेको बताउनुभयो । बजेट अभाव, सामुदायिक वनसँग कानुनी जटिलता, प्राविधिक जनशक्ति र पानी आपूर्ति यहाँको चुनौती रहेकाले त्यसको सम्बोधन गर्न सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

गत वर्ष उद्यानको आम्दानी रु चार करोड छ लाख तथा खर्च रु तीन करोड ९६ लाख भएको त्यस अवसरमा जानकारी गराइयो । यसैगरी मनोरञ्जन कर, आयकर र अन्य कर शीर्षकमा रु ४७ लाखभन्दा बढी भुक्तानी गरिएको पनि समितिले जनाएको छ । रासस