२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्ति आफ्नै छ, जनता नतर्साउँ



अ+ अ-

विजय पाैडेल

सन २०१४ मा रिलिज भएको हिन्दी चलचित्र पिकेमा नायक अमिर खानलाई चलचित्रको एउटा पात्रले “भगवानसँग डराउ” भनेपछि अमिर भन्छन् “भगवानको रचनामा मानिस मानिसबीच कुनै भेदभाव छैन, तर भगवानको दुत भनेर आफूलाई चिनाउनेहरुले भेदभावको बिजारोपण गरे अनि के पनि भन्दिए भने जसले यसको विरोध गर्छ उसलाई भगवानले दण्ड दिन्छन् । त्यसपछि डरले सबै बोल्न र विरोध गर्न छाडे अनि उनिहरुको धन्दा चलिरह्यो, त्यसकारण यो खेल डरको हो ।”

नेपालमा पनि विगत लामो समयदेखि यस्तै अदृश्य डरको राजनीति चलिरहेछ । राजनीतिक दलका नेताहरु आ–आÏनो दुनो सोझ्याउने राजनीति गरिरहेका छन् र जनताले बोलेमा कहिले प्रजातन्त्र गुम्छ, कहिले लोकतन्त्र गुम्छ अनि कहिले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता गुम्छ भनेर डर देखाउँछन् । जनताको बोल्ने मुख थुन्न खोज्छन् वा यिनिहरु प्रतिगामी हुन् भनेर आरोप लगाउँछन् । अझ कहिलेकाँही त सफ्ट कु हुन्छ, देश टुक्रन्छ, विलयहुन्छ, सिक्किमिकरण हुन्छ, फिजिकरण, भुटानीकरण हुन्छ भन्ने जस्ता ठुल्ठुला डरपनि नेपाली राजनीतिका शिर्षस्थ नेताहरुले देखाईरहेका छन् ।

प्रधानमन्त्री के पी ओलीले यहि जेठ १२ गते राष्ट्रका नाममा सम्बोधन गर्दा, “अप्ठ्यारो बेलामा केही तत्वहरु जनतामा भ्रम फिँजाएर आफ्ना अलग स्वार्थ र उद्देश्यहरु पुरा गर्न सक्रिय हुन सक्दछन् । यसरी जनतालाई भ्रमित गर्दै समाजमा असन्तोष फैलाउन उद्दत गैरजिम्मेवार तत्वहरुको बहकावबाट सतर्क रहन समेत आब्हान गर्दछु” भने । यस्ता खालका वाक्यांश हरेक नेतृत्वको सम्बोधनमा हुने गर्दछ र प्रधानमन्त्रीले समेत धेरै पटक दोहो¥याएका छन् । तर त्यस्ता तत्व को हुन् कहिल्यै सार्वजनिक जानकारी वा कारवाहीमा आउँदैनन् ।

२०७३ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले भने, “अव देशमा दुर्घट्ना भयो भने ०१७ सालको जत्रो मात्र हुदैन त्यो भन्दा भयानक हुन्छ” । यो जनतालाई देखाएको डर मात्र हो कि साँच्चै हुदैपनि थियो ? तर आज चार वर्ष बितिसक्दा पनि त्यस्तो केही भएको छैन । उनिबाट पनि यस्ता डरलाग्दा अभिव्यक्ति बेलाबेलामा आइरहन्छन् ।

नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला एकताका ग्राण्ड डिजाईनको कुरा गर्थे तर त्यो ग्राण्ड डिजाईन उनले कहिल्यै खोलेनन वा त्यस्तो डिजाईनमा संलग्नलाई कहिल्यै कानुनी कारवाही पनि गरेनन् । जबकी उनी सर्वशक्तिमान राष्ट्रप्रमुखसम्म भए । त्यसैले त्यो पनि कतै जनातालाई डर देखाएर दिग्भ्रमित पार्नमात्र थियो कि भन्ने शंका छ ।

अहिलेको जनता समाजवादी पार्टी तथा तत्कालिन मधेशी मोर्चाका शिर्ष नेता महन्थ ठाकुरले भनेका थिए, “मधेशीलाई तपाँईहरुको विश्वास छैन, तपाँईहरुले मधेशीलाई गुमाईसक्नु भएको छ, यदि अवस्था यस्तै रह्योभने कुनैदिन मधेशपनि गुम्नेछ ।” । छ दशकभन्दा लामोसमय उत्पिडनमा विताएको मधेशी समुदाय आफ्ना समस्याको समाधान, देश टुक्राएर गर्न चाहन्छन् भन्ने कसैलाई पनि लाग्दैन थियो र अहिले पनि लाग्दैन । जबकी उनिहरुका संविधान संशोधन लगायतका धेरै मुद्दा थाती छन् ।

नेताहरुका यस्ता अभिव्यक्ति खोज्दै जाने हो भने धेरै भेटिन्छन् । परिवर्तनका लागि राजनीतिक दलको नेतृत्व सँगसँगै आन्दोलन गरेका, जेलनेल खेपेका, रगत बगाएका, ज्यान उत्सर्ग गरेका जनताले नेतालाई राजनीतिका हरेक मोडमा साथ दिएका छन् । “हाम्रो देश गरिब हुनुको कारण पञ्चायती व्यवस्था हो । यसले हाम्रो राजनीतिक, आर्थिक, सामाजिक सबै अधिकार संकुचित पारेको छ, त्यसकारण यसलाई जरैसहित उखेलेर फाल्नुपर्छ । जनताको शासन कायम गर्न बहुदलिय व्यवस्था ल्याउनुपर्छ । दलिय विचारका आधारमा जनताले निर्वाचन मार्फत आÏना प्रतिनिधी छान्नेछन् । जनप्रतिनिधीले शासन गर्ने व्यवस्था भएपछि बल्ल देशले कोल्टेफेर्नेछ र विकासको फड्को मार्नेछ ।”

राजनीतिक नेतृत्वले २०४६ सालअघि जनताका घर घर पुगेर यस्तै नारा दिएका थिए । जनताले पत्याए, गोली खाए, रगत बगाए, शहीद भए र पञ्चायती व्यवस्था ढालेर बहुदलिय व्यवस्था स्थापना गरे अनि देश तपाँईहरुलाई जिम्मा लगाए । २०४८ सालमा संसदको निर्वाचन भयो र नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्यायो । जनताले उत्साहका साथ मतदान गरेर ५ वर्ष शासन गर्न तपाँईहरुलाई म्यान्डेट दिए र ढुक्क भए, अव आन्दोलनमा भनेजस्तै हाम्रा प्रतिनिधीलाई शासनसत्तामा पुर्यायौं, त्यसकारण हाम्रो अधिकारको रक्षा हुन्छ, देशले विकासमा फड्को मार्छ । तर तपाँईहरुले पार्टीको तत्कालिन आन्तरिक कलहलाई व्यवस्थापन गर्न सक्नुभएन आफ्नै दलको सरकार विरुद्ध आफैले चलखेल गर्नुभयो, संसद बीचैमा भंग भयो । जनताले राजनीतिक अधिकार त पाए तर शासनसत्तामा आÏनो उपस्थिती महसुस गर्न पाएनन्, विकासको त कुरै नगरौं । २०५१ सालमा मध्यावधि निर्वाचन मार्फत जनताले दोश्रो पटक राजनीतिक अधिकारको प्रयोग गरेर फेरी तपाँईहरुलाई साथ दिए ।

२०५१ को निर्वाचनमा अघिल्लो पटक काँग्रेसले गरेको गल्ति स्वरुप जनताले दण्डित गरे र नेकपा एमालेलाई सबैभन्दा ठुलो दल बनाएर पठाए । तर बहुमत दिएनन, यसको अर्थ थियो मिलेर सत्ता चलाउनु । तर तपाँईहरुले त्यो जनभावना लत्याईदिनुभयो अनि एक्लाएक्लै सरकार चलाउन तिर लाग्नुभयो । तत्कालिन ठुलो दल र दोश्रो दल दुबैले पूर्वपञ्चहरुका पार्टिलाई शिरको ताज बनाएर पालैपालो सत्ता चलाउनुभयो । सत्ताको खेलमा सिंहदरबार भित्र रमाईरहनु भएका तपाँईहरुलाई जनताको पिरमर्का बुझ्ने र जनतप्रतिनिधी बन्ने फुर्सद नै मिलेन । बरु त्यसको ठीक विपरित तपाँईहरुले आफैले उत्कृष्ट व्यवस्था भनेर ल्याउनुभएको संसदीय व्यवस्थाको विभिन्न नाममा पटक पटक चिरहरण गर्नुभयो ।

नेपाली काँग्रेसका अहिलेका सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता बचाउन के के गर्नुभयो सबैलाई थाहा छ । तपाँईहरुकै कारण जनतामा एकातिर संसदीय व्यवस्थाप्रति मोहभंग हुदै गएको थियो भने अर्कातिर संसदीय व्यवस्था ठीक होइन भन्दै माओवादीले शुरु गरेको शसस्त्र विद्रोहले फल्नेफुल्ने मौका पाइरहेको थियो र जनतासँगको तपाईहरुको सम्वन्ध तपाईहरुकै कारण विच्छेद हुदै गएको थियो । सिंहदरबार र जिल्ला सदरमुकाममा खुम्चिएको बहुदलिय प्रजातन्त्रको सरकारले, गाँउसम्म पुगेर जनताका घाउमा मल्हमपट्टी लगाउनै सकेन । एकातिर हत्याहिंसाको श्रृंखला, अर्कातिर सिंहदरबारमा तपाँईहरुको सत्ताको छिनाझपटी, यसले जनतामा राजनीतिक दलहरु प्रति नै वितृष्णा पैदा गरायो ।

यहि दलहरुप्रतिको वितृष्णामा खेल्दै प्रतिगमन हावि भयो । दलहरुको व्यवहारका कारण जनता विरक्तिएका थिए । तर राजाको कदमले भने सासफेर्नै गाह्रो भयो र हत्या हिंसाको दुष्चक्रवाट देश कसरी बाहिर निस्किएला भन्ने चिन्ता पनि जनतामा बढ्यो । तत्कालिन राजाको नेतृत्वमा गठन भएको सरकारले तपाँईहरुले गरेका गल्तिभन्दा ठुल्ठुला गल्ति गरेपछि जनता फेरी तपाँईहरु तर्फ नै फर्किए । बाह्रबुँदे समझदारी गर्नुभयो, राजाकै कारण प्रतिगमन भएको हो भनेर आफुले गरेका गल्ति अव नदोहोर्याउने भन्दै गणतन्त्रको नारा उराल्नुभयो । जनताले पनि विश्वास गरे सडकमा ओर्लिए, रगत बगाए, गोली खाए, शहीद भए र तपाँइहरुलाई पुनस्र्थापित गराई छाडे । संसद पुनस्र्थापना भयो, गणतन्त्र घोषणा भयो, माओवादी मुलधारको राजनीतिमा प्रवेश गरे, देशमा शान्ति छायो, राजनीतिक अधिकार पुनर्बहाली भयो जनता खुशी भए । तर तराई केन्द्रीत राजनीति गर्ने तपाइँ नेताहरु सन्तुष्ट हुनुभएन, मधेशलाई धोखा भयो भन्दै त्यहाँका जनता उराल्नुभयो । जनताले पत्याए, मधेश आन्दोलन भयो संघीयता पनि अन्तरिम संविधानमा समावेश भयो ।

अब तपाइँहरुले जनतालाई संविधानसभाबाट जनप्रतिनीधि मार्फत लेखिएको संविधान मात्र दिगो हुन्छ भन्नुभयो, जनताले पत्याए, संविधानसभा निर्वाचनमा मतदान गरे । संविधानसभा गठन भयो, गणतन्त्र नभई देशको हित हुदैन भन्नुभएको थियो, संविधानसभाको पहिलो वैठकवाट त्यो पनि कार्यान्वयन गर्नुभयो, जनताले स्वीकारे ।

पछाडि पारिएका वर्ग, क्षेत्र, समुदायलाई राज्यको मुलप्रवाहवाट बञ्चित गरिएको भन्दै जनताको राजनीतिक चेतना उचो बनाएको तत्कालिन नेकपा माओवादी फेरी जंगल नफर्कियोस, गणतन्त्र र संघीयताको आफ्ना एजेण्डा कार्यान्वयन गरुन भनेर जनताले पहिलो संविधानसभामा माओवादी र मधेशवादी दलकालागि मनखोलेर अपार मतदान गरे । तर संविधान बनाउन आवश्यक पर्ने दुईतिहाँई मत कसैलाई एकलौटी दिएनन । यसको अर्थ थियो, सवैदल मिलेर संविधान बनाउ । तर त्यो तपाँईहरुले बुझ्नुभएन वा बुझ्न चाहनुभएन । पहिलो विजयसभामै टुँडिखेलवाट हरुवाहरुसँग सहकार्य गरिदैन भनेर उल्टो सन्देश दिएका तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले पछाडी पारिएका वर्ग, क्षेत्र समुदायलाई अधिकार दिलाउने एकमात्र आधार जातीय रुपमा प्रदेश विभाजनलाई मान्दा, एकातिर देशमा जातीय राज्य मागगर्दै नारा जुलुश हुनथाल्यो भने अर्कातिर संविधानसभाले काम नै गर्न सकेन । तपाँईहरुले दिएको नारा वमोजिम देशमा विभिन्न जातिय समुदाय, भौगोलिक समुदायले आन्दोलन गरे र ति सबैसँग तपाँईहरुले सम्झौता गर्दै जानुभयो । पहिले सम्झौता गर्ने पनि तपाँईहरुनै पछि ति माग पुरा गर्न सकिदैन भन्ने पनि तपाँईहरुनै । जनमतको व्यवस्थापन गर्न नसक्दा पहिलो संविधानसभा संविधान जारी नगरिकनै भंग भयो । दोश्रो संविधानसभाको निर्वाचनमा जनताले माओवादी र मधेशी दललाई दण्डित गरिहाले । परिणाम स्वरुप जे जे एजेण्डा देखाएर माओवादी शसस्त्र विद्रोहमा गएको थियो त्यो एजेण्डा, मधेशीदलको एजेण्डा, विभिन्न जातिय संगठन वा दलका एजेण्डा कमजोर हुदैगए र संसदीय व्यवस्थावाट उत्पन्न विकृतीलाई कार्पेट मुनि राख्दै संविधानसभाले नवीन राजनीतिक प्रणाली नभई सुधारिएको संसदीय व्यवस्था अंगिकार गरेको संघीय गणतन्त्रको संविधान जारी गर्यो ।

सोही संविधान बमोजिम देशमा नयाँ निर्वाचन भयो निर्वाचनमा तपाइँहरुले स्थायी राजनीति र स्थायी सरकारको नारा दिनुभयो । नेकपालाई जनताले मन खोलेर भोट दिए र झण्डै दुइ तिहाइको शक्तिशाली सरकार छ अहिले । तर यो सरकार अंकगणितमा बलियो भएपनि एजेण्डामा कति अस्थिर छ भन्ने कुरा  पटक पटको मन्त्रिपरिषद पुनर्गठन, पार्टी भित्रै सरकार प्रति असन्तुष्टि र जनमानमा सार्वजनिक भएका काण्डहरु प्रति सरकारको रवैया बाटै थाहा हुन्छ । बोलिमा नयाँ नयाँ भनिएको तर व्यवहारमा कुनै परिवर्तन नआएको देख्दा संविधानसभावाट जनता आफैले संविधान लेखेपछि र गणतन्त्रमा देश गएपछि सबै समस्या समाधान हुन्छ भनि तपाइँहरुले भन्नुभएको कुरा प्रति विश्वास डग्मगाउँदै गएको छ ।

गणतन्त्रको १२ वर्ष पुगिसक्दा पनि तपाइँहरुले भनेजस्तो गणतन्त्र, संघीयता जनताको घरसम्म पुग्न सकेको छैन बरु उल्टै सिंहदरबार तर्फ खुम्चन लागेको छ । तपाइँलाई आवश्यक परेका बेलामा जनताले साथ दिएका छन् तर जनतालाई आवश्यक परेको बेलामा नेतृत्व दिन तपाइँहरु सदैव चुक्नुभएको छ र अहिले त्यहि नियती दोहोरिदैछ । संविधानसभाबाट संविधान लेखेपछि देशको कायापलट हुन्छ भन्नुहुन्थ्यो तर अहिलेसम्म त्यहि संविधान सर्वस्वीकार्य बनाउन सक्नुभएको छैन । संघीयता भएपछि मात्र पछाडी पारिएका वर्ग, क्षेत्र समुदाय, मधेशी, महिला, दलित, आदिवासी÷जनजाती, थारु लगायतका सम्पुर्ण जातजाती, भाषाभाषीका जनताले अधिकार प्राप्त गर्छन भन्नुहुन्थ्यो तर बनेको संघीयता संकटमा पर्नलाग्दा समेत प्राप्त उपलब्धिलाई संस्थागत गर्नसक्नु भएको छैन । समावेशीले राज्यका सम्पुर्ण संयन्त्रमा सबैको पहुँच हुन्छ भन्नुभएको थियो तर घोषित नीति, ऐन, नियम, संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्नसक्नु भएको छैन । संवैधानिक सर्वोच्चता र कानुनी राज्य भन्नुहुन्थ्यो तर संवैधानिक प्रावधान लत्याउदै आउनु भएको छ । दण्डहिनता, संस्थागत तथा नीतिगत भ्रष्टाचार मौलाएको छ । यी सबैले जनतामा फेरि एकपटक तपाँईहरु प्रति वितृष्णा जगाएको छ ।

नेपालको आजसम्मको इतिहासमा हेर्दा, प्राप्त उपलब्धि गुमेको छ भने तपाइँहरुकै व्यवहारका कारणले गुमेको छ । पटक पटक आन्दोलन गर्नु परेको छ भने तपाइँहरुले आन्दोलन पछिका उपलब्धि संस्थागत गर्न अक्षम भएकै कारणले गर्नुपरेको छ । जनता, मात्र के बुझ्दछन् भने आफुले आन्दोलनको बलमा स्थापित गरेका, जनमत दिएर राज्य संयन्त्रमा पुर्याएका नेताहरुले दायाँवायाँ गरेनन्, देशी विदेशी शक्तिको गोटी बनेनन् भने यहाँ केहि अनिष्ट हुनेवाला छैन, देश टुक्रने, सिक्किमीकरण र भुटानीकरणका त के कुरा प्राप्त उपलब्धि कसैले खोस्न पनि सक्नेछैन । यसकारण जनतालाई अनेक खालका डर देखाएर आÏनो गल्ति ढाकछोप गर्दै नतर्साउनुहोस ।

गणतन्त्रमा देशमा नियमित आवधिक निर्वाचनमा हुन्छ र त्यो निर्वाचनमा जनमतले चुनिएर शासन गर्न आउनुपर्छ । एकपटक सिंहदरबार प्रवेश गरेपछि सधैंलाई हुने कुनै वंशवादी व्यवस्था अहिले छैन । गल्ति गर्नेलाई जनताले दण्डित वा पुरस्कृत गरिहाल्छन । त्यसकारण हरेक नेतृत्वले के सोच्नुपर्छ भने हामीलाई प्राप्त कुर्सी केहि समयका लागि जनताले दिएको नासो हो । त्यसलाई सही प्रयोग गर्नुभयो भने युगयुगसम्म वाहवाही हुनेछ नभए ७० वर्षदेखि राजनीतिक नेतृत्वलाई जनताले गर्दै आएको गालीको निरन्तरता तपाँइहरुमा पनि हुनेछ । तपाँईको गलत रवैयाले अथवा अर्को कुनै गलत शक्तिको गलत नियतले गणतन्त्र माथि संकट आएछ भने चिन्ता नलिनुस त्यसलाई फाल्न त फेरी जनता सचेत भएर बसेकै छन् । जनतालाई प्रष्टसँग के थाहा छ भने गणतन्त्रको विकल्प गणतन्त्र नै हुन्छ यसको अर्को कुने विकल्प छैन, तर नेतृत्वको विकल्प धेरै हुनसक्छन् ।

२०७७।२।१६