काठमाडौँ । अन्य समयको तुलनामा प्राय: दशैँताका चिउराको महत्व बढी हुन्छ । दशैँमा चिउरा कुटेर खाने नेपालीहरुको परम्परा नै बनिसकेको छ । चिउरा र मासु हरेक नेपालीहरुले दशैँमा खाने गर्दछन् । त्यसैले पनि अन्य समयको तुलनामा दशैँमा चिउराको महत्व बढी हुन्छ । काठमाडौं उपत्यकामा त अझ ताइचिनको चिउराको महत्व बढी छ । भक्तपरले ताइचिन धानको चिउरा दशैँमा धेरै नै माग हुन्थ्यो । तर पछिल्लो समय ताइचिन धानको अभावका कारण बिस्तारै माग कम भएको गुनासो भक्तपुरका व्यवसायीहरुले गरेका छन् ।
भक्तपुरका चिउरा व्यवसायी कृष्णप्रसाद बागजूले आफूले चिउरा मिल २०४६ सालदेखि सञ्चालन गर्दै आएको र स्थापना कालदेखि नै चिउरा उत्पादन गरिरहेको बताउनु भयो । तराईको चिउराले भक्तपुरको ताइचिन चिउरा बिस्थापित हुँदै गएको उहाँको गुनासो छ । बजारमा पनि माग कम भएको गुनासो गर्नुभयो । उहाँले विगतको तुलनामा हुनुपर्ने जति खपत अहिले नभएको बताउनु भयो । दशैँमा ताइचिन चिउराको माग बढी हुने गरेको भएपनि यस वर्ष खासै माग नआएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो मिल स्थापना भएको २०४६ साल चैत्र २६ गते हो । स्थापना कालदेखि हामीले ताइचिन चिउरा उत्पादन गरेका छौँ । चिउरा कुटेर बजारमा दिनु बाहेक हामीले स्थानीयहरुको धान पनि चिउरामा परिणत गरेर दिने गरेका छौँ । २०४६ सालदेखि अहिलेको अवस्थासम्म आइपुग्दा धरै उत्तारचढाव आएको छ । तराईको चिउराले गर्दा हाम्रो स्थानीय चिउरा बिस्थापित भएको जस्तो अनुभव भएको छ । बजारमा पनि अलि माग थोरै भएको जस्तो अनुभव भएको छ । पहिलाको तुलनामा जति चिउरा खपत हुनुपर्ने हो त्यति खपत भइरहेको छैन । दशैँको मुखमा पनि ताइचिन चिउराको माग धेरै खपत हुन्थ्यो । अहिले आएर तराई ताइचिन भन्ने चिउराले गर्दा कम खपत भएको छ ।’
उहाँकाअनुसार ताइचिन चिउराको खपत कम हुनुमा पार्टी प्यालेसहरुमा भोज खुवाउने प्रचलन पनि एउटा कारण रहेको छ । ताइचिन धानको उत्पादनमा कमी र उपलब्धता नहुँदा भक्तपुरको ताइचिन चिउरा बिस्तारै हराउँदै गएको बताउनु भयो । ताइचिन धान काठमाडौं उपत्यकाबाहेक भक्तपुर, नाला, पनौति, धुलिखेलबाट ल्याइने गरेको बताउनु भयो । जग्गा जमिन मासिँदै आएकाले र घरजग्गा पनि धेरै बन्दै गएकाले खेतीयोग्य जमिन कम हुनु ताइचिन चिउराको मागमा कमी आउनुको अर्को कारण रहेको बताउनु भयो । ताइचिन धान भन्दा बढी चाइनिज धान उत्पादन बढी हुने गरेकाले ताइचिन धान रोप्न किसानले छोडेको बताउनु भयो । प्लानिङ र ट्रनेल खेतीले ताइचिन धानको उत्पादन कम भएको उहाँको गुनासो छ । बाहिरी चिउराको कारण ताइचिन धानको चिउरामा कम माग आएको र यसको प्रत्यक्ष असर भक्तपुरका ताइचिन चिउरा व्यवसायीलाई परेको बताउनु यो ।
उहाँले भन्नुभयो, ‘ताइचिन चिउराको खपत कम हुनुमा पार्टी प्यालेसहरुमा भोज खुवाउने प्रचलनले गर्दा कम भएको छ । धान हामीले उपत्यकाबाटै संकलन गर्ने गरेका छौँ । भक्तपुर बाहेक, नाला, पनौति, धुलिखेलबाट ताइचिन धान ल्याएर चिउरा बनाउँछौँ । जग्गा जमिन मासिँदै आएकाले र घरजग्गा पनि धेरै बन्दै गएकाले खेतीयोग्य जमिन कम हुँदै गयो । ताइचिन धानको उत्पादन पनि कम हुँदै गएको छ । ताइचिन धान भन्दा बढी चाइनिज धान उत्पादन हुने भएकाले ताइचिन धान उपलब्ध सहज रुपमा छैन । कम उत्पादन छ । प्लानिङ र ट्रनेल खेतीले ताइचिन धानको उत्पादन कम छ, यसको प्रत्यक्ष असर हामीलाई छ । बाहिरी चिउराको कारण ताइचिन धानको चिउरामा कम माग छ ।’
भक्तपुरको ताइचिन चिउराको उत्पादन, लागत र मूल्यको हिसावमा पनि पहिला र अहिले धेरै भिन्नता आएको उहाँले सुनाउनु भयो । बागजूकाअनुसार पहिला सहज रुपमा धान पाउने भएकाले मूल्य कम पर्ने गरेको भएपनि अहिले धान पाउन मुस्किल बन्दै जाँदा चिउरा पनि बढी महंगो हुने गरेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भक्तपुरको ताइचिन चिउरालाई निरन्तरता दिन र मौलिकता बचाउन ताइचिन धानको उत्पादन बढाउनुपर्ने बताउनु भयो । ताइचिन धानको उत्पादन जति बढ्यो, चिउरा त्यति नै ताइचिन चिउराको उत्पादन बढ्छ ।
उहाँले भन्नुभयो, ‘उत्पादन, लागत र मूल्यको हिसावमा पहिला भन्दा धेरै भिन्नता छ । पहिला सहज रुपमा पाउने हुनाले मूल्य कम पर्दथ्यो चिउराको मूल्य । अहिले धान सहज रुपमा पाउन गाह्रो छ जसले धानको मूल्य पनि आकाशिएको छ । धानको मूल्य जसरी बढ्छ, त्यहीअनुसार चिउराको मूल्य पनि बढ्छ । उत्पादन नै कम भएपछि खपत पनि कम हुन्छ । धान सहज रुपमा पाउन सकिँदैन । यसलाई निरन्तरता दिन र मौलिकता बचाउन ताइचिन धान रोप्ने पहिलादेखिको परम्परालाई निरन्तरता दिनुपर्छ । ताइचिन धानको उत्पादन जति बढ्यो, चिउरा त्यति नै उत्पादन हुन्छ । ग्राहकहरुमा जुन प्रकारले खपत हुनुपर्ने हो त्यहीअनुसार खपत हुन्छ ।’
बागजूकाअनुसार ताइचिन धानको चिउराले विशेष अर्थ पनि राख्छ । पहिला ताइचिन धानलाई तातोपानीमा राखेर ओखलमा कुटेर चिउरा बनाइन्थ्यो । त्यसरी कुटेको चिउराले पेट दुख्दैन भन्ने मान्यता थियो । अहिले त्यस्तो दु:ख गर्नु पर्दैन । ताइचिन धानलाई सिधै पानीमा राखेर चिउरा बनाउन सकिन्छ । जाडोमा ४ दिनसम्म र गर्मीमा बढीमा तीन दिन नत्र दुई दिनसम्म भिजाएर चिउरा बनाउन सकिने बागजू बताउनु हुन्छ । कराईमा भुट्न पनि पहिला मान्छेकै आवश्यक पर्ने भएपनि अहिले मेसिनले भुट्ने गरेको उहाँले बताउनु भयो । प्राविधिक हिसावमा सजिलो भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘ताइचिन धानको चिउराले विशेष अर्थ पनि राख्दो रहेछ । पहिला पहिला ताइचिन धानलाई तातोपानीमा राखेर ओखलमा कुटेर चिउरा बनाइन्थ्यो, त्यसरी कुटेको चिउराले पेट दुख्दैन भन्थ्यो । अहिले त्यस्तो छैन । अहिले ताइचिन धानलाई सिधै पानीमा राख्छौँ । जाडोमा ४ दिनसम्म भिजाउँछौँ । गर्मीमा बढीमा तीन दिन नत्र दुई दिनसम्म भिजाएर त्यो कुट्न योग्य हुन्छ । कराईमा भुटेर बनाउँछौँ । पहिला हातले आगो बाल्नु पर्दथ्यो, अहिले मेसिनले आफैँ भुट्छ । एक जनाले धान भुट्यो, अर्कोले चिउरा बनायो । त्यसरी सजिलो छ अहिले । प्राविधिक हिसावमा सजिलो भएको छ । यसको मौलिकता बचाउन ताइचिन धानकै उत्पादनमा बढी ध्यान दिनुपर्छ ।’
बागजूकाअनुसार आफूले चाडबाडमा बढी चिउरा बेच्ने गरेको तर अन्य बेला प्राय बन्द हुने अवस्था रहेको छ । खपत कम भएकाले सोहीअनुसार माग आएमात्रै मिल चलाएर चिउरा कुट्ने गरेको बताउनु भयो । उहाँले ग्राहकहरुको सुविधा, इच्छा बमोजिम उहाँहरुको मागलाई पुर्याइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो मिलमा वार्षिक कति उत्पादन हुन्छ भने अहिले खपत कम भएकोअनुसारले चाडवाडमा बढी चल्छ । त्यसपछि प्राय: बन्द नै हुन्छ । वर्षभरमा जेनतेन चलिरहेको छ । नाफाको हिसावमा पनि होइन, घाटामा पनि हामी छैनौँ । ग्राहकहरुको सुविधा, इच्छा बमोजिम उहाँहरुको मागलाई पुर्याइरहेका छाँै ।’
ताइचिन चिउराको माग घटेका कारण चाडबाड आउँदा मात्रै चिउरा कुट्ने गरेको बताउनु भयो । बागजूले पहिला चाडबाड आउँदा मात्रै नभइ वर्ष दिन नै चल्ने मिल अहिले चाडवाडमा मात्रै सिमित हुने गरेको बताउनु भयो । उहाँले चिउरा अहिले चाडबाडमा मात्रै सिमित हुनु दु:खद् रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पार्टी प्यालेसहरुको डिनर खुवाउने प्रचलनले पनि ताइचिन चिउराको मागमा असर गरेको बताउनु भयो । ताइचिन चिउराको माग बढाउनका लागि हाम्रो मौलिक भोज भतेर खुवाउने प्रचलनलाई कायम गर्नससक्नुपर्ने उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो, ‘ताइचिन चिउराको माग यति घटेको छ की अहिलेको समयमा । जुन चाडबाड आउँदा मात्रै चिउरा कुट्ने गरेका छौँ । पहिला चाडबाड आउँदाखेरी र अरु बेला पनि वर्षदिन चलिरहन्थ्यो चिउरा कुट्ने मिल । पहिला दशैँको अघि मात्रै लगातार एक महिना भन्दा बढी बन्द नगरी चिउरा कुटेर ग्राहकहरुको चिउरा कुट्न ल्याउनेहरु कुटेर दिन्थ्यौँ । चिउरा अहिले चाडबाडमा मात्रै सिमित भएको छ । यो दु:खको कुरा हो । ताइचिन धानको उत्पादन कम भएकाले यस्तो भएको हो । पार्टी प्यालेसहरुको डिनर खुवाउने सिस्टमले गर्दा पनि हाम्रो यो ताइचिन चिउराको माग कम भएको हो । यो दु:खको कुरा हो । ताइचिन चिउराको माग बढाउनका लागि हाम्रो मौलिक भोज भतेर खुवाउने प्रचलनलाई कायम गर्नसकेको खण्डमा ताइचिन चिउराको माग फेरि बढ्नेछ ।’
भक्तपुरकै अर्का चिउरा व्यवसायी कृष्ण घरुको कुरा पनि बागजूको जस्तै छ । आफूले पितोको पालादेखि चिउरा मिल चलाएको र अहिले व्यवसायमा कमी आएको बताउनु भयो । मागमा कमी आउनुमा पहिलो कारण ताइचिन धानको कमी रहेको बताउनु भयो । उहाँले उत्पादन गर्ने ठाउँहरुमा घरहरु बन्दै जाँदा धान कम उत्पादन हुने र तराईको ताइचिन चिउराले स्थानीय ताइचिन चिउरालाई बिस्थापन गरेको बताउनु भयो । अहिले भक्तपुरे ताइचिन चिउरा १७० मा प्रतिकेजी बेचिरहेको बताउनु भयो । तराईको चिउरा सयमै पाउने भएकाले पनि माग कम भएको बताउनु भयो । चिउरा व्यवसाय निरन्तर गर्नको लागि धानको उत्पादन र उपलब्ध बढी हुन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बाको पालादेखि नै हो चिउरा व्यवसाय । अहिले बाले गर्न सक्नुहुन्न । अहिले धानको समस्या छ, कामदारको समस्या छ । त्यही भएर चिउरा मिल नै बन्द जस्तो छ । यो ताइचिन चिउरा बिस्थापित हुनुको पछाडि तराई ताइचिनको कारण हो । सुगर भएकाले खानु हुँदैन भन्छन्, त्यसैले पनि हो । भोजहरुमा पनि तराई ताइचिन नै हो । खेतहरु पनि कम भएर आएको छ । धान पनि कम छ । ताइचिन चिउरा १७० मा बेच्नुपर्छ । तराई ताइचिन सयमा पाउँछ । किलोको ७० जति फरक पर्छ । हामीले ताइचिन धान स्थानीय किसानको घरमै गएर लिने हो । चिउरा व्यवसाय निरन्तर गर्नको लागि धानको उत्पादन र उपलब्ध हुनुपर्छ । धान उपलब्ध भए काम गर्न सहज हुन्थ्यो । धान नै उपलब्ध छैन ।’
भक्तपुर चानपा ७ का चिउरा व्यवसायी सीताराम काफ्ले भने बजारलाई चिउराको माग नै पूरा गर्न नसकिरहेको बताउनु हुन्छ । २०६९ साउनबाट चिउरा व्यवसाय सञ्चालन गर्नुभएका उहाँले उद्योगबाट दैनिक ५ सय केजीका दरले उत्पादन गरिरहेको बताउनु भयो । आफूले काठमाडौं, भक्तपुर र स्थानीयमै सिमित बजार हुँदा पनि राम्रो विक्री गरिरहेको बताउनु भयो । चिउरा बनाउने धान पनौति, पाँचखाल, स्थानीय, चाँखु लगायतका स्थानबाट ल्याउने गरेको बताउनु भयो । आफूले उत्पादन गरेको चिउरा स्टकमा राख्नु नपरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘२०६९ साउनबाट चिउरा व्यवसाय सञ्चालन गरेको हो । यो उद्योगबाट मैले वार्षिक चिउरा दैनिक ५ सय केजीका दरले उत्पादन गर्दछु । बजार काठमाडौं, भक्तपुर र स्थानीयमै सिमित छ । चिउरा बनाउने धान पनौति, पाँचखाल, स्थानीय, चाँखु आयात हुन्छ । मैले उत्पादन गरेको कुरा स्टक रहेको छैन । बजार मेरो ठिक छ । कुनैपनि साल दशैँमा मैले चिउरा पुर्याउन सक्दिन । पोहोरको तुलनामा १० रुपैयाँ भाउ बढेको छ अहिले । तर पनि दशैँको सिजन मध्यनजर गरेर व्यापारीको नाताले भाउ नबढाइकन गत सालकै भाउमा विक्री गरिरहेका छौँ । ताइचिन चिउरा पोहोर पनि १६० रुपैयाँ केजीमा बेचेको हो, अहिले पनि दशैँलाई त्यसमै बेचेका छौँ । ५/७ दिनभित्रमा एक हजार केजी त मैले झोलामा हालेरै बेचेँ, स्थानीयहरुलाई ।’
उहाँले कुनैपनि साल दशैँमा आफूले मागअनुसार चिउरा पुर्याउन नसकेको बताउनु भयो । गत वर्षको तुलनामा यस वर्ष १० रुपैयाँ मूल्य बढेको भएपनि दशैँको अवसरमा आफूले पोहोरकै मूल्यमा विक्री गरिरहेको बताउनु भयो । उहाँले गत वर्ष ताइचिन चिउराको मूल्य १६० रहेको बताउनु भयो । पछिल्लो एक हप्तामा एक हजार केजी चिउरा त स्थानीयहरुले नै किनेर लगेको बताउनु भयो ।
विकास बखुन्चे/न्युज एजेन्सी नेपाल