काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानून बनाउँदा सेवा स्तरलाई सुधार गर्नेगरी बनाइनुपर्ने बताउनुभएको छ ।
मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । उहाँले विमानस्थल सुधारका लागि कानूनहरु बनाइँदा संस्थागत सुधार र सेवा स्तरको सुधारमा विशेष जोड दिनुपर्ने बताउनु भयो । अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर पुरानै भएको खण्डमा छुट्टै संरचनाको महत्व नरहने बताउनु भयो । कानूनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसको संस्थागत सुधारका बारेमा हामी कति स्पष्ट छौँ, हामीले कति जोड दिएर काम गर्ने हो यसमा स्पष्ट हुनुपर्छ । सेवाको स्तर कसरी सुधार गर्ने ? अलग अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर उही भयो भने अहिले हामी जुन ढंगले जान खोजेका छौँ, यसको उपादेयिता रहँदैन । सेवाको स्तरलाई सुधार गर्नेगरी कानूनहरु बढी फलदायी हुनुपर्छ । आइकाओ लगायतको अन्तर्राष्ट्रिय स्तरबाट हामीलाई जुन प्रकारको व्यवधान छ, त्यसलाई हल गर्न यो कानूनले के मद्दत गर्दछ । कालोसूचिमा राखिएको कुरा हट्न योगदान गर्छ की गर्दैन ? यसमा सोच्नुपर्छ । यस कानूनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्छ ।’
सांसद सापकोटाले अन्तर्राष्ट्रिय स्तरलाई विश्वासमा लिनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।










