२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध



अ+ अ-

जुम्ला । जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध लगाइएको छ । कृषि विकास कार्यालयले सार्वजनिक सूचनामार्फत भदौ १५ पछि मात्र स्याउ टिप्न आग्रह गरेको हो ।

कोही कसैले सूचना विपरीत काँचो स्याउ टिपेको पाएमा वा बजारमा खरिद गर्ने व्यापारी र किसान दुवैलाई कानुनी कारबाही गरिने कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो ।

काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र पौष्टिकता सबैमा असर पर्न जान्छ । यसको दीर्घकालीन ‘ब्रान्ड’ र बजार मूल्यमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले जिल्लाका आठवटै स्थानीय तहका कृषि शाखा र यहाँका स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गरिएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।

कृषि विज्ञका अनुसार भदौ दोस्रो सातापछि मात्रै स्याउ टिप्नु उपयुक्त मानिन्छ । नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौती हुने गरेको छ । परिपक्व र स्याउको रङ्ग ७० प्रतिशतभन्दा माथि भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्लामा करिब १८ हजार घरपरिवारमध्ये १६ हजार घरपरिवारले स्याउखेती गरेको तथ्याङ्क छ । पछिल्लो समय स्याउ खेतीको क्षेत्रसमेत विस्तार हुँदै गएको छ । जिल्लामा चार हजार बढी हेक्टर जमिनमा स्याउखेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

त्यसैगरी तातोपानी गाउँपालिकाले पनि स्याउ बगैँचा धनी र स्याउ व्यापारीलाई आगामी भदौ १५ गतेपछि मात्र स्याउ सङ्कलन तथा निकासी गर्न आग्रह गरेको छ । गाउँपालिकाले भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न र निर्यात नगर्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो । रासस