७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कैलालीका किसानलाई चैते धान भित्राउन चटारो

कैलालीका किसानलाई चैते धान भित्राउन चटारो
अ+ अ-

भजनी (कैलाली): कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त हुनुहुन्छ । चैतमा रोपेको धान दोस्रोपटक काट्न उहाँ व्यस्त हुनुभएको हो । पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता दोस्रोपटक धान भित्र्याउन पाउँदा खुसी हुनुहुन्छ ।

“यस वर्ष वर्षा नभएपछि डुबान नहुँदा दोस्रोपटक धान फलेको हो”, उहाँ भन्नुहुन्छ, “चैते धान लगाएका अधिकांश किसानलाई आजभोलि धान भित्र्याउन भ्याइनभ्याइ छ ।” किसानले पहिलोपटक काटेको धानको बोटमा नयाँ टुसा हालेर पुनः धानका बाला लाग्ने गर्छन् । अधिकांश किसान यतिबेला धान भित्र्याउन खेतमा व्यस्त देखिएका छन् ।

यस वर्ष वर्षा कम भएपछि बाढी र डुबानमा पर्ने भजनीका फाँटमा पानी भरिएको छैन । तिनै खेतीयोग्य फाँटमा किसानले चैते धानखेती गर्दै आउनुभएको छ । डुबान नभएपछि चैते धान लगाएका अधिकांश क्षेत्र धानका लटरम्म बाला देख्न सकिन्छ । खेतमा बढी पानी भएको ठाउँमा किसानले आफैँ धान काटेर भित्र्याउन लागेका छन् । पानी नभएको क्षेत्रका कतिपय किसानले मेसिन लगाएर धान काट्ने काम गर्दै आएका छन् । “कतिपयलाई पानी नपरेर तनाव भए पनि हामी खुुसी छौँ ।” सुनिता डगौरा भन्नुहुन्छ, “पानी नपरेकै कारण दोस्रोपटक धान भित्र्याउन पाएका छौँ । आजसम्म बाढी र डुबानका कारण विस्थापित भएर सडकमा आउनपरेको छैन ।”

दोस्रोपटक भित्र्याउने धानमा किसानको लगानी शून्य हुन्छ । त्यसमा किसानले मलखाद, सिँचाइ, गोडमेलजस्ता कुनै काम गर्दैनन् । उत्पादनको माया मारेको ठाउँबाट उत्पादन हुन थालेपछि किसान उत्साहित देखिन्छन् । खासगरी डुबान भएन र हेरचाह राम्रो पाएको खण्डमा किसानले एकै बालीबाट दुईपटक लाभ लिने उनीहरूको भनाइ छ । अझै पहिलोपटकको जस्तो हेरचाह भए पहिलोपटकको आधा उत्पादन दोस्रोपटक गर्न सकिने भजनी–८ का किसान जयप्रसाद ढुङ्गाना बताउनुहुन्छ । “केही लगानी नगरेर किसानले अहिले प्रतिबिघा पाँचदेखि १० क्विन्टलसम्म धान उत्पादन गरिरहनुभएको छ ।” उहाँले भन्नुभयो, “ढाइ बिघामा मेरो पनि करिब १२ क्विन्टलभन्दा बढी धान उत्पादन भएको छ । जहाँ मेरो कुनै लगनी थिएन ।”

उत्पादनका हिसाबले बर्खे धानभन्दा चैते धान निकै उपयोगी छ । किसानले एक बिघामा ४० क्विन्टलसम्म चैते धान उत्पादन गर्न सक्छन् । दोस्रोपटक त्यसैअनुरूपको हेरचाह गर्न सक्यो र डुबान भएन भने २० क्विन्टलसम्म उत्पादन गर्न सकिने किसान बताउँछन् । “बर्खे धानभन्दा लागत चैते धानमा बढी छ । त्यसैअनुसारको उत्पादनले पनि किसान सन्तुष्ट छन् ।” सोही ठाउँका किसान बुद्धिराम थारू भन्नुहुन्छ, “किसानले ढुक्कका साथ चैते धानखेती गर्ने भएका कारण पनि भजनी क्षेत्रमा यसको महत्त्व बढ्दै गएको छ ।”

त्यतिमात्र नभई बाढी र डुबानको जोखिन नहुने भएपछि किसानले चैते धानमा लगानी गर्न कुनै कन्जुस्याइँ नगरेको पाइन्छ । बर्खे धान भित्र्याउने कुनै प्रत्याभूति नभएका किसानलाई चैते धान नै प्रमुख स्रोत हो भन्ने बुझाइ छ । “बर्खे बालीमा लगानी गर्न हामी डराउँछौँ । किनभने लागत नै उठ्ने कुनै ग्यारेन्टी हुँदैन”, किसान कमला चौधरीले भन्नुभयो, “चैते धानमा लगानी गरेर पछुतो मान्नुपरेको छैन । बरु बिनालगानी उत्पादन दिइरहेको छ ।”

भजनीमा चैते धान विस्तार कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले सहयोग गर्दै आएको छ । चैते धान विस्तार जोन नै सञ्चालन गर्दै आएको कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीले एकपटक काटेको धान अर्कोपटक फल्नु धेरै राम्रो कुरा भएको बताउनुहुन्छ । “हामीले यसको विषयमा खोजबिन गरेका छैनौँ । यसको अध्ययन गरेर वास्तविकता बुझ्न सकिने कुरा हो ।” उहाँले भन्नुभयो, “दोस्रोपटक सोचेजस्तो उत्पादन दिएको खण्डमा भविष्यका दिनमा किसानलाई थप प्रोत्साहन हुनेगरी कार्यक्रम सञ्चालन गर्न सकिन्छ ।”रासस