२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभित्रैको सिमानासँग कहिलेसम्म लडिरहने ?



अ+ अ-

सिमानामा लड्नुपर्ने वेला ‘देशभित्रको सिमाना’सँग लड्नुपर्‍यो

यतिवेला देशको सिमानाका लागि लड्नुपर्ने थियो । तर, मलाई ‘देशभित्रकै सिमाना’ले कालापानी पुग्न दिएन, लिम्पियाधुरा पुग्न दिएन । सिमानामा लड्नुपर्ने वेला आफ्नै देशभित्रको सिमानासँग लड्नुप-यो । ‘मान्छे हुन’ पहिला लड्नुपर्‍यो । देशभित्रका थुपै्र सिमानाविरुद्ध लड्नुपर्‍यो । 

देशभित्रैको सिमाना भत्काउन मेरा पुर्खाले कैयौँ दशक बिताए । तर, सकेनन् । मेरो पुस्ता पनि त्यही सिमाना भत्काउन आजसम्म पनि लड्नुपरेको छ । आफ्नै लागि मात्रै अझै लड्नु परेपछि देशका लागि कहिले लड्ने ? आफ्नै देशभित्र ‘मान्छे’ ठानिएको छैन, म कुन देशका लागि लड्न जाउँ ? कुन सिमानामा लड्न जाउँ ? मेरो देश खोज्न म कहाँ जाउँ ? भारतीयले बनाएको कुन बाटो भत्काउन जाउँ ? 

मलाई पनि सिमानामा गएर यो देशका लागि लड्ने मन थियो । तर, कथित उपल्लो जातका भन्नेहरूले हामीलाई लखेट्न छाडेको छैन । आज नवराज लखेटिए । तिनीहरूले कहाँ नवराजलाई मात्रै लखेटेका थिए र ! तिनीहरूले दलितलाई लखेटेका थिए । डुमलाई, कामीलाई, दमाईलाई, सार्कीलाई, चमारलाई, मुसहरलाई लखेटेका थिए । 

 

आफ्नै देशभित्र ‘मान्छे’ ठानिएको छैन, म कुन देशका लागि लड्न जाउँ ? कुन सिमानामा लड्न जाउँ ? मेरो देश खोज्न म कहाँ जाउँ ? भारतीयले बनाएको कुन बाटो भत्काउन जाउँ?

महामारीले भन्दा छुवाछुतको घटनाले रुन बाध्य बनायो । सारा संसार महामारीबाट त्रसित भइरहेको यस्तो संकटको समयमा सारा गाउँ मिलेर एउटा जातलाई लखेटे । जातलाई लखेट्न लकडाउन नलाग्दो रहेछ । दलितलाई लखेट्न कोरोनाको डर नहुँदोरहेछ । कोरोना अचानक आइपरेको समस्या हो । यो कुनै दिन निर्र्मूल भएर जानेछ । यसरी नै एकदिन छुवाछुत पनि हटेर जानेछ भन्ने सोचेको थिएँ । तर, तीन हजार वर्षदेखि दलित भएकै कारण लखेटिनुपर्ने विडम्बना अझै अन्त्य भएन । भाग्दाभाग्दै मर्नुपर्ने अवस्थाको अझै अन्त्य भएन । 

कोरोनाका कारण सामाजिक दूरी कायम राख्नुपर्ने भयो । तर, मानिसहरू सामाजिक दूरी कायम गरेर बस्न सकिरहेका छैनन् । शताब्दीऔँअघिदेखि सामाजिक, सांस्कृतिक, आर्थिक दूरी बनाएर बस्न बाध्य दलितको मनोविज्ञान महसुस गर्ने कोही गैरदलित छ ? कोही छैन । सोच्दा पनि कति भयानक र कहालीलाग्दो छ, युगौँदेखिको विभेदको दूरी ।

कोरोनाको सामाजिक दूरीभन्दा डरलाग्दो विभेदको दूरी सयौँवर्षदेखि दलितले खेप्नुपर्‍यो । गैरदलितलाई दुई महिना सामाजिक दूरी बनाएर हिँड्दा कति गाह्रो भयो ? दलितलाई सयौँ वर्षदेखि सामाजिक दूरी कायम राख्न बाध्य पार्दा कति मन दुख्यो होला ? के कुनै गैरदलितले अन्दाज गरेको छ ? तीन हजार वर्षदेखिको सामाजिक दूरीको पीडा के कुनै गैरदलितले सोध्यो ?

आत्मसम्मानमा परेको ठेस सहन नसकेर दलितले आत्महत्या गर्दा हाँसेर भन्नेहरू थिए, ‘कामी दमाईको बुद्धि हुँदैन । खान नपाएर म¥यो ।’ दुई महिना सामाजिक दूरी अपनाउँदा मानसिक समस्या भएर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढ्यो । दलित भएर सामाजिक दूरी अपनाउँदा कति मानसिक समस्या भयो होला ? मनको रोग कति भयानक हुँदोरहेछ अहिले बुझ्दै होलान् गैरदलितले । मानसिक समस्याको असर कस्तो हुँदोरहेछ अहिले थाहा पाउँदै होलान् । कस्तो हुँदो रहेछ, कसैलाई छुन नहुँदाको पीडा ? कस्तो हुँदोरहेछ, टाढिएर बस्दाको पीडा ? कोरोनाले सबै देखाइदियो ।  

(नयाँपत्रिका दैनिकबाट)