२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

कालीगण्डकी सभ्यताको एक गन्तव्य ‘केलादीधाम’

कालीगण्डकी सभ्यताको एक गन्तव्य ‘केलादीधाम’
अ अ+ अ-

–वासुदेव पौडेल र सुशीला रेग्मी

गण्डकीररामपुर । स्याङ्जा पाल्पा, तनहुँ र नवलपरासीको सङ्गमस्थल केलादीधाम कालीगण्डकी सभ्यताको केन्द्रका रुपमा परिचित छ । कालीगण्डकी तटीय क्षेत्रअन्तर्गत स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ६ मा पर्ने सो स्थान हुँदै पुस्तौंँदेखि कास्की, स्याङ्जा, तनहुँलगायत आसपासका जिल्लाबाट सर्वसाधारण नुन लिन जाने प्रचलनका कारण पनि तत्कालीन समयदेखि नै यहाँको चर्चा चुलिएको पाइन्छ ।

कालीगण्डकीमा वारपार गर्नका लागि प्राचीन समयदेखि नै यहाँस्थित डुङ्गाघाट आसपासको क्षेत्रको नै केन्द्र बनेको थियो । ठाउँठाउँबाट आवतजावतका लागि सर्वसाधारण आउने तथा भेट हुने भएकाले केलादीघाट तत्कालीन सूचनाको केन्द्र जस्तै बनेको थियो । वैशाख सङ्क्रान्ति, माघे सङ्क्रान्ति या अन्य विभिन्न चाडपर्व र तिथिमा सो घाटमा आएर स्नान गरे पुण्य सञ्चय हुने विश्वास रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताउनुभयो ।

प्रकृति र संस्कृतिको अनुपम सङ्गम सो स्थलमा मुक्तिनाथदेखि बगेको कालीगण्डकीले शीतलता प्रदान गरेको छ नै, वरपर डाँडाले घेरिएको यस सुन्दर क्षेत्रमा आउने जोकोही लोभिने गरेका छन् । विभिन्न धर्मग्रन्थमा यहाँको महिमा र गरिमा चर्चा गरिनाले पनि यस धार्मिक –पर्यटकीय तीर्थस्थलको विशिष्टता झल्काएको सचिव खनालले बताउनुभयो ।

शालिग्राम पाइने विश्वको एक मात्र नदी कालीगण्डकीका किनारमा रहेको सो  स्थानको आध्यात्मिक रुपमा पनि विशेष महत्व रहेको छ । उहाँले सो धामको दर्शन गर्न नसक्नेले नाम उच्चारण गर्दा पनि पुण्य मिल्ने जनविश्वास रहेको बताउनुभयो । प्राचीन धर्मग्रन्थ ‘बराह पुराण’मा ‘स्नात्वा समीपतीर्थे तु कृष्णगङ्गोद्भवे सदा । एवं नित्यप्रसक्तो हि कुरुते द्रव्यगर्वितः’ उल्लेख गरी कालीगण्डकी र त्यसका नजिकका तीर्थमा गरिने स्नानको महत्व सम्बन्धमा प्रकाश पारिएको छ । अहिंसालाई सर्वोपरि राख्ने निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठका रुपमा यहाँस्थित राधादामोदर निम्बार्क पीठ रहनाले पनि यहाँको महत्व बढाएको समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले बताउनुभयो । “वैष्णव सम्प्रदायसँगै विभिन्न स्थानबाट धार्मिक पर्यटकहरू केलादीधाम आउने गरेका छन्”, उहाँले भन्नुभयो, “धार्मिक तथा ऐतिहासिक धरोहर यस धाममा भौतिक पूर्वाधार र विकास भने अपेक्षित हुन सकेको छैन ।”

यस क्षेत्रलाई महत्वपूर्ण तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ एक दशकअघि गरिएको महायज्ञबाट सङ्कलित रु ६८ लाखबाट पूर्वाधार विकासका कामलाई प्राथमिकताअनुसार बढाउन थालिएको हो । सचिव खनालका अनुसार यहाँस्थित पुरानो मन्दिर पुनःनिर्माण गरिएको छ । प्राचीनकालदेखि नै पूजाआजा गर्दै आइएको यहाँस्थित राधादामोदर मन्दिर २०१३ सालमा पुनःनिर्माण गरिएको थियो । झण्डै ६ दशकपछि मन्दिर जीर्ण बनेपछि स्थानीयवासीको सक्रियतामा २०७० मा निर्माण थालेर २०७४ सालमा पुरानै शैलीमा निर्माण गरिएको हो । छाने र गुम्बज शैली सम्मिश्रण गरी बनाइएको नयाँ मन्दिरमा २०७५ साल वैशाख पूर्णिमादेखि पूजाआजा गर्ने गरिएको छ । मन्दिर पुरानै स्वरुपमा निर्माण गर्नका लागि काठमाडौँदेखि कालिगढ मगाइएको समितिले जनाएको छ । मन्दिर निर्माणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विसं २०६६ देखि २०७४ सम्म पटकपटक गरी रु ६५ लाख सहयोग प्राप्त भएको थियो । 

केलादीधामको ऐतिहासिक एवम् धार्मिक महत्वलाई दृष्टिगत गरी शहरी विकास विभागद्वारा पूर्वाधार विकासका लागि रु १४ करोडको लागत अनुमानसहित गुरुयोजना तयार गरिएको सचिव खनालले जानकारी दिनुभयो । मन्दिर परिसरमा हाल महन्त निवास, भान्छाघर, हवनकुण्ड, प्रवेशद्वार आदि पूर्वाधार निर्माण भइसकेको तथा  निम्बार्क समुदायको पहिचानस्वरुप निम्बार्क स्तम्भ निर्माण गर्ने काम भइरहेको छ । गुरुयोजनाअन्तर्गत केलादीधाममा वाचनालय, विभिन्न कुण्ड, अतिथि निवास, गुरुकुल पाठशाला, ज्येष्ठ नागरिक ग्रामअन्तर्गत २० आवास भवन निर्माण गरिने छ । यहाँ नै नेपाल संस्कृत विश्वविद्यालय, राधादामोदर संस्कृत विद्यापीठ मातहत योग तथा प्राकृतिक चिकित्साको स्नातक तहको अध्यापन गराउने विषय पनि  चर्चामा रहेको सचिव खनालले जानकारी दिनुभयो ।

पौराणिक महत्वका हिसाबले यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको चापाकोट नगरपालिकाका नगर प्रमुख शिवकुमार गिरीले बताउनुभयो । “केलादीधामको विकास हाम्रो प्राथमिकतामा छ, सीमित बजेटका कारण अपेक्षित काम गर्न सकेका छैनौंँ”, उहाँले भन्नुभयो, “सम्बद्ध सबैको साथ र सहयोगमा यस क्षेत्रलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्नेतर्फ लाग्नु जरुरी छ ।”

यहाँ निर्मित राधादामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ विशेषगरी महत्वपूर्ण तिथिमितिका साथै बिदाका दिन यहाँ अवलोकन गर्ने र तस्बिर खिंचाउन आउनेको लर्को लाग्छ । शीतल हावासँगै मन्दिर दर्शन र  अवलोकन गर्न जानेक्रम विस्तारै बढ्दो छ । कालीगण्डकी तटमा रहेकाले पनि पुण्यप्राप्ति गर्ने विश्वासका साथ यहाँ वैशाखे सङ्क्रान्ति, माघे सङ्क्रान्ति, एकादशी जस्ता पर्वमा स्नान गर्न आउनेको भीड लाग्छ । दिवङ्गत व्यक्तिलाई केलादीघाटमा अन्तिम संस्कार गरेमा उनीहरूको आत्माले शान्ति मिल्ने र वैकुण्ठबास हुने विश्वासका कारण टाढाटाढाबाट शव ल्याइने गरेको स्थानीयवासी बताउँछन् ।

राधादामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा गरी करीब १८५ रोपनी जग्गा छ । यस क्षेत्र स्याङ्जाको चापाकोट नगरपालिकाअन्तर्गत वडा नं ६ मा रहे पनि संरक्षण, रेखदेख, भौतिक संरचना निर्माणलगायत क्षेत्रमा पाल्पा, रामपुर नगरपालिका र तनहुँ घिरिङ गाउँपालिकावासीले सहयोग गरिरहेका छन् । केलादीधामको आन्तरिक व्यवस्थापनका लागि नगर र वडास्तरबाट समयसमयमा बजेट उपलब्ध गराउँदै आइएको चापाकोट – ६ का वडाध्यक्ष एकदेव भट्टराईले  बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी सभ्यताको महत्वपूर्ण गन्तव्यका रुपमा यहाँको विकास हुने सम्भावना छ । आवश्यक पूर्वाधार विकाससँगै राम्रो प्रवद्र्धन भएमा यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।  केलादीधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न स्थानीय तहका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

पुरानो सत्तल

यहाँस्थित पुरानो राधादामोदर मन्दिर जीर्ण बनेपछि सोही शैलीमा नयाँ मन्दिर निर्माण गरिए पनि परिसरमा रहेको प्राचीन सत्तल यतिखेर जीर्णोद्धारको पर्खाइमा छ । विसं २००८ मा प्राचीन शैलीमा निर्मित नौ कोठासहितको चारतले सत्तल २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बनेको छ  । दर्शनार्थी तथा बटुवा बस्ने सत्तलको पुरानै स्वरुपमा निर्माण गर्न गण्डकी प्रदेश सरकारसँग तीन वर्षअघि नै निवेदन प्रस्तुत गरिए पनि कार्यान्वयन बढ्न नसकेको सचिव खनालले जानकारी दिनुभयो ।

२० कुटी निर्माण गरिने

ज्येष्ठ नागरिकका लागि मन्दिर आसपासमा विगतमा १२० सङ्ख्यामा कुटी रहेकामा हाल २० मात्रै छन् । विगतमा यहाँका कुटीमा झण्डै १५० ज्येष्ठ नागरिक बस्थे । पछिल्ला वर्ष कुटी भत्कने, ज्येष्ठ नागरिक  क्रमशः दिवङ्गत हुँदै जाने र पूर्वाधार विकास पनि अपेक्षित रुपमा नभएका कारण  तिनको सङ्ख्या घट्दै गएको स्थानीयवासीले बताए । शहरी विकास विभागको गुरुयोजनाअन्तर्गत भान्छाघर, शौचालय तथा आवास कोठासहितका अर्को २० कुटी निर्माण गर्ने योजना अघि सारिएको  छ ।

अखण्ड कीर्तन चलाउन मुश्किल

केलादीधाममा २०३७ साल वैशाख १ गतेदेखि २०७६ चैतसम्म चौबिसै घण्टा अखण्ड कीर्तन गरिन्थ्यो । कीर्तन सञ्चालनका लागि प्रत्येक दुईदुई घण्टाका लागि चारचार व्यक्ति खटाइन्थ्यो । अखण्ड कीर्तन सुरु गरिएको पहिलो वर्ष स्थानीयवासीले सहयोग गरेकामा २०३८ देखि २०४५ सालसम्म त्यहाँ सहभागी बन्नेलाई मासिक जनही रु १५ प्रोत्साहनस्वरुप प्रदान गरिन्थ्यो । त्यसपछि भने रु २५० बनाइएको थियो । जनशक्ति अभावका कारण हाल कीर्तन दैनिक १२ घण्टा मात्र हुन्छ । 

संस्कृत शिक्षाको केन्द्र 

राधादामोदर मन्दिरकै नामबाट २०३८ सालमा स्थापित राधादामोदर संस्कृत माविले यस क्षेत्रको शैक्षिक विकासमा ठूलो योगदान पु¥याएको छ । मन्दिरकै नामबाट उच्च शिक्षा समेतलाई लक्ष्य गरी विसं २०५१ मा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत स्थापित राधादामोदर संस्कृत विद्यापीठमा शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ । नेपाल संस्कृत विश्वविद्यालयको ६५ औंँ र ७० औंँ विश्वविद्यालयसभाले  विद्यापीठलाई आङ्गिक बनाउने निर्णय गरे पनि कार्यान्वयन नहुँदा  सञ्चालनमा हम्मेहम्मे परेको छ । विश्वविद्यालयबाट एक  शिक्षक काजमा दिनेबाहेक अन्य कुनै व्यवस्था नगरिएका कारण स्थानीय स्रोतबाटै सञ्चालन गर्न समस्या परेको र विश्वविद्यालयले दिने गरेको छात्रवृत्ति पनि उपलब्ध गराउन नसकिएको जनाइएको छ । विद्यापीठमा हाल ७१ विद्यार्थी अध्ययनरत छन् ।

केलादीधाममा गाई संरक्षणका लागि २०१३ सालदेखि नै गौशाला थियो । विगतमा सयौंँ गाई रहे पनि चरन अभाव आदिका कारण हाल ३० मात्र छन् ।  मन्दिरले गाईको हेरचाहका लागि स्थानीयवासी दुई कर्मचारी व्यवस्था गरेको छ ।

प्रवद्र्धनको खाँचो

कालीगण्डकी सभ्यताको महत्वपूर्ण गन्तव्य केलादीघाटलाई धार्मिक– पर्यटकीय तीर्थस्थलका रुपमा विकास गर्ने प्रचुर सम्भावना रहेको पर्यटन व्यवसायी एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउनुहुन्छ । “पौराणिक रुपमा उल्लिखित कालीगण्डकीको महिमाका साथै जोडिएका तीर्थस्थल सम्बन्धमा रहेका कथा सुनाएर यी स्थलको महत्व प्रचार गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी  बस्ने, खाने जस्ता पूर्वाधार विकास गर्नु आवश्यक छ ।” नदी किनारमा बालुवाले भरिएका स्थानमा समयसमयमा बीच भलिबल जस्ता प्रतियोगिता तथा अन्य साहसिक पर्यटनका अन्य गतिविधि पनि विस्तार गर्न सकेमा यसको प्रवद्र्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरका सचिव घनश्याम खनाल नेपालका निम्बार्क सम्प्रदायका व्यक्तिको प्रमुख तीर्थ केलादीधामको प्रचारप्रसारसँगै आसपासका पहुँचमार्गलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुहुन्छ । “केलादीधामको महिमा सुनेर आउने धार्मिक पर्यटकलाई लक्ष्य गरी धाम परिसरमा भौतिक पूर्वाधार विकासलाई जोड दिनुपर्छ, यसलाई कालीगण्डकी सभ्यताको एउटा महत्वपूर्ण धरोहरका रुपमा प्रवद्र्धन गर्न सकिन्छ ”, उहाँले भन्नुभयो । रासस