काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोईरालाले गर्नुभएको बताउनुभएको छ ।
विपी संग्रहालय सुन्दरीजलमा मंगलवार विपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले राजा महेन्द्रले राजमार्गको निर्माण गर्नुभएपनि कल्पना विपीको रहेको बताउनु भयो । उहाँले अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति विपी भएको दाबी गर्दै देशको लागि विपीले गर्नुभएको काम जति अरु कसैले पनि गर्न नसकेको बताउनु भयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महशुस भयो । विपी सम्झिँदा आँशु आउँछ । उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन । १२—१४ वर्ष त जेल बस्नुभयो । भारतमा आन्दोलनमा जेल बस्नुभयो । पूर्व—पश्चिम राजमार्गको कल्पना सायद विपीले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले गर्नुभयो । तर कल्पना विपी कोईरालाको थियो ।’
सांसद कोईरालाले विकासका लागि विपी कोईरालाले धेरै काम गर्नुभएको बताउनु भयो ।—न्युज एजेन्सी नेपाल










