काठमाडौं । अघिल्लो कार्यकाल जब नेपाली कांग्रेसले माओवादीसँग मिलेर सरकार बनाएको थियो त्यसको कटु आलोचक थिए शेखर कोइराला । उनले संसदको तेस्रो पार्टीलाई सबैभन्दा ठूलो पार्टीले किन प्रधानमन्त्री बनाएको भनेर बारम्बार प्रश्न गर्ने गर्दथे । सार्वजनिक कार्यक्रममा भाषण गर्न पुग्यो कि उनले यही प्रसंग निकाल्थे र पार्टी नेतृत्वको विरोध गर्ने गर्दथे ।
विशेषगरी पार्टी सभापति शेरबहादुर देउवा र सरकारको विरोधसँगै उनको एउटा तर्क पनि आउने गर्दथ्यो कि मुलुकमा राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ । उनले केही समय त्यसका लागि लबिङ पनि गरे । पटक पटक एमाले अध्यक्ष केपी ओलीलाई भेटे र सन्देश दिन खोजे ।
उनले सन्देश मात्र दिएनन्, कोशी प्रदेशको सरकार निर्माणमा पार्टीको निर्णय विपरीत गएर एमालेसँग सहकार्य नै गरे । सहकार्य अनुसारको परिणाम पनि निस्कियो । त्यसपछि त्यस समय उनको प्रवक्ताजस्तो बनेका सांसद डा सुनिल शर्माले अब केन्द्र सरकारमा पनि कोशी प्रदेशकै मोडल भित्रिन्छ भन्न थाले ।
उनको पछिपछि सार्वजनिक कार्यक्रमहरुमा शेखरले नै त्यही भन्न थाले । उनले मुलुकमा राजनीतिक अस्थिरता मात्र छायो, धेरै पार्टी जोडेर नाङ्लो पसलेजस्ता राजनीतिक दलहरु मिलेर सरकार बनाउनु भन्दा कांग्रेस र एमालेले सरकार बनाउँदा स्थायित्व हुन्छ भन्न थाले ।
गत असारमा उनले भने जस्तै गरेर कांग्रेस र एमाले मिलेर सरकार पनि बनाए । एमाले अध्यक्ष ओलि अहिलेलाई प्रधानमन्त्री भए त्यो सरकारलाई कांग्रेसले समर्थन पनि गर्यो र कांग्रेस सरकारमा पनि गयो । तर त्यसपछि भने शेखरले कुनै प्रतिक्रिया दिएनन् यो सरकार र यसको निर्माण प्रक्रियाका बारेमा । उनले आफैले विगतमा सार्वजनिक रुपमा वकालत गर्दै आएको एजेण्डाको अपनत्व नै लिन मानेनन् । आफूले भने बमोजिम नै देशमा सरकार बन्यो भनेर उनले न पार्टी सभापति देउवालाई धन्यवाद दिए नत पार्टीका केन्द्रीय समिति या पदाधिकारीका बैठकहरुमा नै यसबारेमा चर्चा गरे या आफ्नो धारणा बमोजिम सरकार निर्माण गरेकोमा पार्टीमा सकारात्मक विचार नै राखे ।
आफ्नो एजेण्डाको अपनत्व लिनु त परै जाओस अहिले भने उनले त्यही सरकारको विरोध गर्न थालेका छन् । उनले कांग्रेसले किन सरकारले नेतृत्व नगरेको भन्ने जस्ता तर्क अघि सारेर अहिले यो सरकारको र पार्टीकै विरोध गर्दै हिँड्ने गरेका छन् । उनी अहिले नै कांग्रेसले सरकारको नेतृत्व गरोस् भन्छन् र त्यसका लागि सरकारबाट निस्किएर माओवादीसँग मिलेर सरकार बनाउनुपर्ने र कांग्रेसले नेतृत्व गर्नुपर्ने जस्ता तर्क अघि सार्न थालेका छन् । हिजो प्रचण्डको कडा विरोध गर्ने गरेका उनी आज फेरि प्रचण्ड निवास धाउन थालेका छन् । वर्तमान सरकार बाहेकको विकल्पका लागी आफूलाई साथ दिन उनले प्रचण्डलाई नै भनिरहेका छन् ।
उनी हिजो प्रचण्ड निवास पुगे र यही तर्क अघि सारे । वर्तमान सरकारको विकल्प खोज्नुपर्ने अवस्था भएकाले आफू प्रधानमन्त्री बन्ने र त्यसमा सघाउन प्रचण्डलाई उनले सहयोग मागे । समाचार बाहिर आए अनुसार प्रचण्डले शेखरको प्रस्तावमा समर्थन मात्र गरेनन् कि आफू पनि त्यसका लागि लाग्ने बताए ।
त्यसअघि डा शेखर हाल एमालेको राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुगे र यही प्रस्ताव राखेका थिए । उनले भण्डारीसँग पनि आफूले अबको सरकारको नेतृत्व गर्ने जानकारी दिँदै त्यसमा सघाउन आग्रह गर्दा भण्डारीले समर्थन जनाएकि थिइन् ।
त्यसो भए शेखरसँग सरकार निर्माण गर्न पुग्ने बहुमत देखिन्छ त ? संसदीय दलमा उनी अल्पमतमा छन् भन्ने कुरा सबैमा जगजाहेरै छ । पार्टीको चौधौँ महाधिवेशनमा उनको साथमा रहेका गगन थापा अहिले आफैँ ग्रुप बनाएर हिँडेका छन् । यसबाट थप कमजोर बनेका छन् शेखर संख्याका हिसाबले । प्रधानमन्त्री बन्नका लागि पार्टी संसदीय दलको नेता निर्वाचित हुनुपर्छ र त्यसका लागि पार्टीको संसदीय दलमा बहुमत आवश्यक हुन्छ ।
अहिले उनी यसै पनि अल्पमतमा छन् जसका कारण संसदीय दलमा नेता चयन हुन गाह्रो छ । यो तथ्य उनलाई थाहा छैन भन्न पनि मिल्दैन । थाहा हुँदाहुँदै किन अबको सरकार शेखरको नेतृत्वमा पक्का भनेर सांसद अमरेश कुमार झालाई बोल्न लगाउँदैछन् ? पहिले सुनिल शर्मा जस्तै अहिले उनले अघि सारेका छन् सांसद अमरेश कुमारलाई । नेताहरुकोमा जाँदा पनि सँगैसँगै लिएर हिँड्ने गरेका अमरेशले अबको प्रधानमन्त्री शेखर पक्का भनेर अन्तर्वार्ता दिँदै हिँड्न थालेका छन् । तर उनीसँग तर्क भने केही छैन ।
अहिले नै विद्या भण्डारी पनि पार्टीमा सरकार निर्माण गर्ने विषयको निर्णायक शक्तिका रुपमा स्थापित भैसकेको अवस्था छैन । उनी भर्खरै एमाले पार्टीको राजनीतिमा सक्रिय हुँदै गरेकाले भण्डारीबाट शेखरलाई प्रधानमन्त्री बनाउने सम्मको बाटो तय गर्न सक्ने अवस्था तत्कालै छैन । त्यस्तै अवस्था उता प्रचण्डको पनि छैन । किनभने संसदमा विपक्षी दलको मोर्चाबाट पनि राप्रपा र रास्वपा निस्किसकेको अवस्था छ, यसकारण प्रचण्ड अहिले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा एक्लै छन् । उनको मात्र समर्थनले शेखरलाई प्रधानमन्त्री बनाउन सम्भव छैन ।
यस्तो अवस्थामा डा शेखरको दौडधुप अर्थहिन बाहेक अरु केही नभएको कांग्रेसीजनहरु बताउँछन् । उता शेखरकै समूहका एक केन्द्रीय नेता भन्छन्‐ अहिले शेखर समूहमा गगन छैनन् । विश्वप्रकाशले शेखर भन्दा पनि गगनकै समर्थन गर्छन् । त्यसपछि न सशांक खुलिसकेका छन् र नत शेखर समूह विगतको जस्तो बलियो छ । यस्तो बेलामा सरकारको विरोध गर्ने र आफूलाई सरकारका नेतृत्वमा सघाउनका लागि आग्रह गर्दै विपक्षी दलहरुसँग किन शेखरजी दौडधुप गरिरहनुभएको छ, हामीले पत्तो पाउन सकेका छैनौँ ।










