१८ असार २०८३, बिहीबार
,
Latest
नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानाथारु समुदायमा ‘सावनको डोला’



अ+ अ-

कञ्चनपुर। यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक छ । अन्य समुदायकोभन्दा पृथक परम्परा रहेको यस समुदायमा तीज आउनुअगावै सावनको डोला राख्ने परम्परा छ ।

जानकारहरुका अनुसार रानाथारु बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्छन् ।

“अन्य समुदायमा महिलाले श्रीमान्को दीर्घायुका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायुका लागि तीजको व्रत बस्ने चलन छ”, कञ्चनपुरको बेदकोट नगरपालिका–६ का प्रेमवती रानाले भन्नुभयो, “हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन् ।”

तीज रानाथारु समुदायको महान् पर्व हो । रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उहाँको भनाइ छ ।

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन् । भीमदत्त नगरपालिका–१६ का चेतराम रानाले तीज आउनुपूर्व नै मनोरञ्जनका रुपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन रहेको बताउनुभयो ।

“तीजअघि नै हाम्रो समुदायमा सावनको डोला (पिङ)राख्ने चलन छ”, उहाँले भन्नुभयो, “विशेषगरी दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गर्छन् ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्पराअनुसार तीज मनाउन समस्या हुने गरेको रानाथारु समुदायका अग्रज बताउँछन् ।

“पहिला जङ्गलबाट काठ ल्याएर पिङ राख्थ्यौँ अहिले जङ्गलबाट काठ ल्याउन पाइदैन पिङका लागि ठूला काठ चाहिन्छन्”, वेदकोट नगरपालिका–९ का सागर रानाले भन्नुभयो, “अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको छ ।” उहाँका अनुसार कुनै अशुभ नहोस् भनेर पिङको सुरुआतमा कमिलालाई सावनको डोला(पिङ)मा राखेर पूजा गर्ने चलन छ । त्यसपछि महिलाले पालैपालो परम्परागत गीत गाएर सावनको डोला (पिङ) खेल्ने गर्दछन् ।

उहाँका अनुसार तीजमा महिला दिनभरि पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्छन् । साँझपख उनीहरू कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काट्छन् । त्यसरी काटिएको कुसलाई नदीमा गएर सेलाउने चलन छ । नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाइभाइको आयु त्यति नै लामो हुने गरेको जन विश्वास छ । रासस