काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठकमा विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू हुने छ ।
सचिवालय बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
एमालेको साउन २ र ५ गते बस्ने पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बोलाइएको हो ।
एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत् गर्ने एमालेले जनाएको छ ।
आजको सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले तयार पारेको विधान संशोधनको खाकामाथि छलफल गर्ने तयारी छ । यो विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र एउटै पदमा (पालिका भन्दा माथिको पदाधिकारीमा) लगातार दुईपटक बढी उम्मेदवार बन्न नपाउने एजेण्डा प्रमुख बन्ने देखिएको छ ।










