१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारलाई राहत, उत्पादन र निर्यात बढेपछि उद्योगी आशावादी



अ+ अ-

काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । गत आर्थिक वर्षको सुरुआती दिनमा देशका प्राय: सबै आर्थिक सूचक नकारात्मक थिए । तर आर्थिक वर्षको अन्त्यमा आइपुग्दा अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । नयाँ आर्थिक वर्षमा अझै सुधार हुने आशा पलाएको छ ।

गत वर्षको साउनमा शिथिल देखिएको अर्थतन्त्रमा बिस्तारै सुधारका संकेत देखिन थालेको हो । वस्तुको मागमा आएको सामान्य वृद्धिले उद्योगका उत्पादनको बिक्री बढ्न थालेको छ भने निर्यातमा पनि वृद्धि भएको छ । तर अपेक्षित सुधार नभएकाले लगानी बिस्तारका लागि बजेटमा गरिएका व्यवस्था कार्यान्वयनमा जोड दिन विज्ञ तथा लगानीकर्ताले सुझाव दिएका छन् ।

गत वर्षको असारमा उद्योगहरू ३५ प्रतिशत क्षमतामा चलेका थिए । तर यो वर्षको असारमा उद्योगको क्षमता ५० प्रतिशत पुगेको छ ।

गत दुई वर्षदेखि ऋणात्मक रहेको उद्योग, निर्माण तथा थोक तथा खुद्रा ब्यापार क्षेत्र यो वर्षदेखि धनात्मक बृद्धिमा गएको छ । आर्थिक वर्ष २०८० /८१ मा २ दशलमव शून्य–दुई प्रतिशत ऋणात्मक रहेको उद्योग आर्थिक वर्ष २०८१/८२ को अन्तिममा तीन दशमलव सात–आठ प्रतिशतले वृद्धि हुने तथ्यांक कार्यालयको अनुमान छ ।

गत आर्थिक वर्षमा २ दशमलव दुई प्रतिशतले ऋणात्मक रहेको निर्माण क्षेत्र यो वर्ष निर्माण सामग्रीको आयातसँगै निर्माणजन्य बस्तुको उत्पादनमा भएको वृद्धिले २ दशमलव दुई–एक प्रतिशतले वृद्धि हुने भएको छ ।

त्यसैगरी गत वर्ष शून्य दशमलब तीन–छ प्रतिशत ऋणात्मक रहेको थोक तथा खुद्रा ब्यापार क्षेत्र यो वर्ष ३ दशमलब तीन–शून्यले वृद्धि हुने अनुमान गरिएको छ ।

अर्थतन्त्र बिस्तारै चलायमान हुन लागेको वैदेशिक ब्यापारको तथ्यांकले पनि देखाएको छ । तर यो पनि पर्याप्त होइन । २०८२ जेठसम्म १६ खर्ब ४४ अर्ब आयात भएको छ, जुन गत वर्षको जेठकै तुलनामा १३ दशमलब १ प्रतिशत वृद्धि हो ।

त्यसैगरी जेठसम्मको निर्यात २ खर्ब ४७ अर्ब भएको छ । जुन गत वर्षको तुलनामा ७७ दशमलब ८ प्रतिशतले वृद्धि हो ।

२०८१ असारमा २० खर्ब ४१ अर्ब रहेको विदेशी बिनिमय सञ्चिति गत जेठमा २५ खर्ब ६९ अर्ब पुगेको छ । सरकारको आम्दानी बढ्दा गत असारमा सरकारको ढुकुटीमा ९३ अर्ब ९६ करोड रहेको मौज्दात जेठ मसान्तमा ३ खर्ब ३९ अर्ब पुगेको छ ।

सरकारले १४ खर्ब १९ अर्ब राजस्व प्राप्ति गर्ने लक्ष्य राखेकामा असार ३० सम्म ११ खर्ब २१ अर्ब अर्थात् लक्ष्यको ७९ प्रतिशत राजस्व उठाएको छ । बिकास खर्च पनि आर्थिक वर्षको अन्तिम महिना असारमा आएर बढेको देखिन्छ ।

३ खर्ब ५२ अर्ब बिकास खर्च गर्ने भनेकामा असार ३१ सम्म २ खर्ब २२ अर्ब अर्थात् ६३ दशमलब २ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१ अर्ब बढी हो ।

गत असारमा ४ खर्ब हाराहारीमा बैंकमा लगानी नभई रकम थुप्रिएकोमा अहिले त्यो बढेर ७ खर्ब ४४ अर्ब पुगेको छ । उद्योग तथा अन्य उत्पादनमूलक क्षेत्रमा कर्जा बढ्ने गरी वातावरण तयार गरे लगानी बढ्ने छ । अधिकांश आर्थिक सुचक सुध्रिँदा र महंगी घट्दा पनि बजारमा ऋणको माग भने भएको छैन ।

अर्थतन्त्रमा देखिएका सामान्य सुधारले मात्र पुग्दैन । विकास र समृतिमा सरकार र नागरिकको हुटहुटी सम्बोधन गर्न पनि अर्थतन्त्रका सबै सुचक सकारात्मक राख्दै लगानी मैत्री नीति बनाउन आवश्यक छ । सकेसम्म धेरै वैदेशिक लगानी भित्र्याएर रोजगारीका अवसर सिर्जना गर्न सकेमा सरकारमाथि नागरिकको भरोसा जगाउन सकिन्छ ।